छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो
माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो
बोली सुन्दा कति दिन बिते काम कैलै भएन
तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।।
मिथ्या आशा मनभरि दियौँ पर्खिएँ अन्ध बन्दै
जेजे भन्थ्यौ मन वचनले सुम्पिएँ मुग्ध बन्दै
होला साँचो जतिजति कुरा ढुक्कले ती भनेका
मान्दै आएँ तर नियतमै खोट देखेँ लुकेका ।।
रो़यौ साँच्चै विरह क्षणमा, पग्लिएको रहेछु
साथै डुल्थ्यौ विकट पथमा, ठोक्किएझैँ भएछु
दानीजस्तै कतिपय कुरा जे दियौ त्यो लिएँ नै
तिम्रो भित्री कुटिल मनका भावमै झुक्किएँ नै ।।
खायौ धेरै कसमहरू ती बन्द बन्दै हुने छन्
हत्याहिंसा कहर दिनका मूल बन्दै हुने छन्
तिम्रा यस्ता मधुर रसिला वाक्य सुन्दै बढेँ म
आशा राख्दै दिनहुँ सहजै काम गर्दै बसेँ म ।।
पैले भन्थ्यौ मन हृदयले काममै लाग मित्र !
आफै तिम्रा सुदिन अब छन् साथ विश्वासभित्र
भन्थ्यौ चाँडै मुलुकहितको बन्छ त्यो संविधान
यौटै राम्रो मुलुक दुनियाँ हुन्छ साँचो रटान ।।
आफ्नो सानो भवन सबकाे हुन्छ; मैले भनेँ नि
बाटोघाटो अनि दिनदिनै बन्छ; मैले भनेँ नि
यस्ता बोली भ्रमहरू सबै छाड है ढोँग मित्र
छोडेँ मैले अब त म पनि बुझ्न सक्नेछु भित्र ।।
मेरा सारा गतिविधिसँगै नाम तिम्रो बढेछ
निक्कै अग्लो शिखर पथमा वास तिम्रो बनेछ
ऐले बुझ्दा भ्रमहरू सबै मुक्त बन्दै म देख्छु
तिम्रा सारा नियत नजिकैबाट बुझ्दै म छेक्छु ।।
तिम्रो शैली निज सुखबिना व्यक्ति बन्नै नसक्ने
मेरो शैली सुमन कणझैँ भाव छोड्नै नसक्ने
बाटो फेरौँ अब त सहजै भन्न सक्नेछु राम्रो
यद्वा जाऔँ फरक फरकै छैन विश्वास तिम्रो ।।
(मन्दाक्रान्ता- मभनततगुगु)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

