~रुद्र प्रसाद दनै~
आज साँझ विद्यालयबाट घर आईपुग्ने बित्तीकै कक्षा ३ मा पढने मेरी सानी छोरी लघुनाले मलाई बाबा बाबा, महामानव भनेको के हो ? यो कस्तो हुन्छ ? कहाँ बस्छ ? आदि आदि पुच्छर झुण्ड्याईएको प्रश्न सोधीहालीन । जहाँसुकैबाट जुनसुकै तनाव लिएर घर आईपुगेको भएतापनि यस्तै यस्तै अनेक थरी प्रश्न सोध्ने र नजिकै आएर झोला खोतली हाल्ने उसको बानी आमा चाँहिले जति मुड्क्याए पनि कहिल्यै गएन । बिहान सवेरै देखि साँझ अबेरसम्म उभिईरहने, कराईरहने र शरिरलाई अश्वरत राखिरहनु पर्ने मेरो जागिर, निम्न रक्तचाप, र गलेरोगको बिरामी आदि जस्ता मेरो हालत थाहा पाएकी मेरी लघुनाकी आमा आफ्नो प्यारो रोगीमानले कमसेकम एक गिलास तातो पानी त आरामले सेवन गर्न पाउन भन्ने चाहन्थिन् । तर अफसोच, उनको यो अभिलाषा लघुनाले भत्काईहाल्थिन् । अनि किन नतातोस लघुनाकी आमाको कन्पारो ? ईश्वरदेखि आफ्नै बच्चासम्म जो सँग जे पुकार्यो, त्यही अधुरो । आशा र पुकार को उत्तर निराशा र दुरुत्कार पाएर थकित लघुनाकी आमाको मनमा छ भने भरोसा अब ममा मात्र बाँकी छ । मेरो सुबिस्तामा मेरो भन्दा जहिल्यै उनको चिन्ता बढि । मेरो पनि प्रधानमन्त्रीको स्वकीय चिकित्सक भने जस्तो स्वकीय बैद्य उनै ।
रोयो, हास्यो । फेरि हास्यो, रोयो । रुन र हास्न बेरै नलाग्ने । निमेषमै दुई फरक फरक चलचित्र देखाईदिन्छन बालबालीकाहरु । यीनका हठको अगाडी जैलै मैले आत्म समर्पण गर्नुपर्छ । आज पनि त मैले त्यसै नगरी धरै पाईन । लघुनाकी आमाको तातो पानीसँगै म पनि लघुनाको चित्त बुझाउन तयार भएँ । लघुना सानो स्वरमा बोलीन, बाबा, महामानव भनेको के हो ? यो कस्तो हुन्छ ? कहाँ बस्छ ? मन त थियो, लघुनाको गालामा चुप्प म्वाई खाउँ र उनको प्रश्नको उत्तर दिऊ, तर सकिन डाक्टरले दिएको “बिरामीहरुको सङ्क्रमण बच्चाहरुमा छिटो सर्न सक्छ” भन्ने सुझावको सम्झनाले । मैले भनेँ, छोरी आदिम महामानव पहिले समाजको नेतृत्व गर्थे, दर्शनको ब्याख्या गर्थे, नितिमार्ग सिकाउथे र पालना गर्थे पनि, उपासना गर्थे र गराउथे पनि । कडा अनुशाषनमा रहन्थे र राख्थे पनि । रामराज्यको कल्पना र अभ्यास गर्थे । यो पालना गर्न र गराउन कडा मार्ग हो । आधुनिक पनि महामानवहरु छन, यिनिहरु समाजमा अरु भन्दा अलग, हेर्दा शालीन र कुलीन देखिन्छन्, आफ्नो र अरुको भिन्नता र बर्गियताको पहिचान राख्छन्, अरुलाई नितिमार्ग सिकाउछन्, औल्याउछन्, पहिल्याउछन् र उल्याउछन्, यो खाना खान्छ होईन, भुजा ज्युनार गर्छ, घरमा बस्छ होईन, निवासमा राज गर्छ, यो कज्याई गर्छ, काजी हो, रज्याई गर्छ, राजी हो र यो गर्न र गराउन अलि सहज मार्ग हो । लघुनाले भनिन् , बाबा म पनि अरु भन्दा अलग, शालीन र कुलीन देखिन्छु नि, म पनि त्यस्तै आधुनिक महामानव बन्छु नि । उनले सहज मार्ग रोजीन । कसरी बन्ने बाबा, महामानव ? मैले भनेँ, त्यस्तो महामानव बन्न त उनिहरुले भने जस्तो, त्यो पनि छानेर छुट्याएर गर्नुपर्छ, नानु । लघुनाको जीज्ञासाको घैँटो म कहिल्यै भर्न सक्दिन । फेरि सोधिन, किन बाबा, ऊनिहरुले भने जस्तो मात्र गर्ने ? गरे जस्तो चाँही नगर्ने ? किन ? मैले उनको अतृप्तिलाई तृप्त बनाउने ध्येयले भनेँ, उनीहरुले गरे जस्तो गरेमा त फेरी उहि, लघुमानव पनि होईन, अल्पमानव भईन्छ नि, छोरी । शायद आजलाई होमवर्कको उत्तर पुगेछ क्यारे, उनी शान्त रहिन । म आराम कक्षमा लागेँ ।
रुद्र प्रसाद दनै
आदर्श उच्च माध्यमिक बिद्यालय
गजुरी, धादिङ