कथा : पुस्तकालयको रातो भित्तो

~देव पाठक~

“गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिए । आवाज आएको दिशातिर हेरे अनी कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्के,कोठामा बिस्तारै गाँइगुइ बढ्यो । म प्राचार्यको कोठातिर हानिए । के भएछ र पढाउदा पढाउदै बोलाउन पर्ने भन्ने कुराले मनमा ढ्वाङ्रो ठटाइरहेको थियो । प्राचार्यको कोठामा देख्छु त सबै शिक्षकहरु लगभग प्राय: उपस्थित रहेछन् पछि त आफैलाई लाज लागेर आयो बिनासित्ती पढाउने चक्करमा पियनलाई बोल्न नदिएर अड्काएर राखेछु मुर्तिझै,उ पनि मुर्तिवत त्यँहा खडा भएर आज्ञाको तामिल गरेझै प्रतित भएको थियो । मैले सबैतिर प्रश्नवाचक नजर फालिरहेको थिए ।

“अब त राम्रा र जेहेन्दार भन्ने बिद्यार्थीले पनि गति छाड्न थाले,यो त अती भो गुरु”-बस्न नपाउदै प्राचार्यले एउटा झटारो म तिर फालिहाले । मैले मनमनै लख काँढे सायद यहाँ जम्मा हुनुको तात्पर्य असल विद्यार्थीले गति छाडेको बिषयमा रहेछ , तर को ? एकैचोटी असल र राम्रा विद्यार्थीको प्रतिबिम्बले दिमागमा परिक्रमा गर्न थाल्यो मनमनै सोचे-”कसले गति छाडेछ ?”

“थाहा पाउनुभो गुरु आज पूस्तकालयमा के भयो ?”-प्राचार्यले मतिर फेरि अर्को प्रश्न तेर्स्याए ।

अब म अदनालाई के थाहा ? मेरो दिमागमा यी सबै कुराहरु त सुन्य थिए । मलाइ कसरी थाहा होस् ? आउदा-आउदै त धर्म निभाउन हुर्रीसकेको थिए । मैले नकरात्मक उत्तर दिए ।

“खोई कसरी भनु अब गुरुलाई,एकपल्ट आफै पुस्तकालयमा गएर हेर्नुभयो भने आफै बुझ्नुहुन्छ,म भन्न सक्ने अवस्थामा पनि छैन,मलाई आज निकै नै दिक्क लागिरहेको छ । एउटा राम्रो विद्यार्थीले यस्तो व्यवहार गर्ला भनेर मैले सपनामा पनि सोचेको थिएन ।” प्राचार्य भुन्भुनिदै थिए म भने जुरुक्क उठेर पुस्तकालयतिर हनिए ।

“गुरु दाँयापट्टीको भित्तामा छ ।” म बाहिर निस्कनासाथ पियनले मलाई सूचना दियो ।

उसको कुराले यस्तो लाग्थ्यो उ बाहिर बसेर हाम्रो कुरा सुनिरहेको थियो ।

“‘अक्षर बा’भन्नुहुन्छ यो काम सुबोधको हो रे । ” उसले फेरि मलाइ अर्धसूचना प्रेषित गर्यो ।

‘सुबोध’

मेरो मनमा २४० भोल्टको करेन्ट दौडिएझै भयो उ त मेरो सबैभन्दा मन पर्ने र राम्रो विद्यार्थी , हे भगवान ! यस्तो नराम्रो उसले केही नगरेको होस् ।

“सुबोधले के गर्यो ह ?”-मैले उसलाई प्रश्न गरे ।

“गुरु आफै गएर हेर्नुस् न,अब प्रिन्सिपल सरले भन्न नसकेको कुरा अब मैले कसरी भन्न सक्छु ?”

अब भने मेरो कौतुहलताले सीमा नाघिसकेको थियो म छिटो-छिटो पाइला चाल्न थाले,पियन मेरो पछि-पछि पाइला चाल्दै थियो कुनै छाँया झै । म हतारहतार पुस्तकालयभित्र छिरिहाले र पूर्व सूचना अनुसार सुबोधको सुन्दर अक्षर दाँया भित्तामा खोज्न थाले ।

“मा…….. लेख्ने,बोल्नेलाई कारबाही गर ।”

म झल्यास्स भए,ओठ थर्रर काँपे,पयँर मुनीको जमिन भाँसिदै गए झै लाग्यो,रिङटा लागे झै भयो । भित्तामा आँड लागेर आश्रय लिए । सेतो भित्तामा रातो र सुन्दर अक्षरले आमा र छोराको घिनलाग्दो,कहालिलाग्दो सम्बन्ध चिच्याइ-चिच्याइ उदांगो पल्टिरहेको थियो । म भित्तामा हेरेको हेर्यै भए । यति घिन लाग्दो सम्बन्धलाई उसले कसरी भित्तामा कुनै सुन्दर तस्विर झै ल्याएर टाँग्न सक्छ ? मलाइ लाग्थ्यो उसको जिह्वामा त सरस्वतीको बास हुने गर्दथ्यो तर आज अचानक यो के भयो हँ ? आज एकाएक उसको कलमको टुप्पोमा कसरी दानवको आत्माले प्रवेश गर्यो ? मेरो मनमा हुन्डरी चल्न थाल्यो ।

“यो अक्षर सुबोधको नहुन पनि त सक्छ” एउटा मनले तर्कना गर्यो ।

“तर हैन जब अक्षर बाले नै यो अक्षर सुबोधको हो भनेका छन् त कसरी नहुन सक्छ ?” फेरि अक्षर बा पनि त त्यसै अक्षर बा भएका होइनन् नी ? उनीसँग सबै विद्यार्थीको अक्षर चिन्न सक्ने अनौठो खुँबी छ । बिगत डेँढ दशकदेखी उनले यो बिषयमा महारथ नै प्राप्त गरेका छन् सबैका अक्षर चिन्ने भएरै उनलाई जिस्काएर अक्षर बा भनि जिस्काउदा-जिस्काउदै नामै अक्षर बा रहन गएको थियो ।

मेरो पाइला आफैलाई बोझ लागिरहेको थियो , गर्हुगो पाइला बिस्तारै प्राचार्यको कोठातिर घिसारियो – चेतना सुन्य भएर ।

सुबोध बिद्यालयकै सबैभन्दा जेहेन्दार र उत्कृष्ट बिद्यार्थीमा गनिन्थ्यो । उसको नेपाली बिषयको ज्ञान त झन लोभलाग्दो र हाम्रो नै सातो खाने खालको थियो । हामीलाई नै लडाउलाझै पो हुन्थ्यो,अक्षर बा र म दुबै नेपाली पढाउथ्यौ तर उ त हामीलाई नै बल्ड्याङ ख्वाउला झै गरि प्रश्न गर्थ्यो । हामीले सोचेको भन्दा बढी सोचको दायरा बढाउन सक्ने खुबी छ उसमा । गत साल पुरा उच्च शिक्षा परिषदमा नेपाली बिषयमा उसले प्राप्त गरेको अंकको काँध-काँधसम्म अंक ल्याउने विद्यार्थी पनि छैनन् भनेर बिभिन्न पत्र-पत्रिकामा छापिएको थियो । उच्च शिक्षा परिषदले र कलेजले पनि उसलाइ बिशेष सम्मान गरेको थियो । अक्षर बाले र मैले पनि उसलाई ब्याक्तिगत तरिकाले पुरस्कृत गरेका थियौ । त्यतिबेला को क्षण मेरो खुशीको सीमा थिएन,फुलेर छाती सगरमाथा सानो लागिरहेको थियो ।

“ओहो यस्तो विद्यार्थीले यस्तो निच कार्य कसरी गर्न सक्छ ?” भारी मनस्थिती र भारी पयँर प्राचार्यको कोठाभित्र छिरिसकेछ , प्राचार्य बोलेपछी पो झँल्यास्स भए ।

“देख्नु भो गुरु,यो कलेजको कत्रो इज्जत छ देशमा,देशकै उत्कृष्ट कलेज हो यो । अब यही छानोमुनी यस्ता दुस्कर्म हुन थालेको म देख्न सक्दिन,सुबोधले मर्यादा उल्लङ्घन गरेको छ,उसलाई सँजाय हुनैपर्छ । अरु कुनै विद्यार्थीले यही अपराध गरेको भए मैले आँखा चिम्लेर निलम्बनको उर्दी जारी गर्ने थिए तर उ सुबोध हो । पूरा देश र मिडियाको आँखामा छ उ । त्यसैले उसलाई स्पष्टिकरणको मौका दिनुपर्दछ र त्यहि अनुरुप सजाय पनि तोकिनु पर्दछ भन्ने लाग्छ,के भन्नुहुन्छ गुरु ?”

मैले मौन स्विकारोक्ती दिए ।

कानुन सबैलाई बराबरी हुदैन भन्ने कुराको प्रमाण थियो यो । सुबोध राम्रो विद्यार्थी भएकोले उसलाई स्पष्टिकरणको मौका दिइदै थियो ।

“रमेश सर सुबोधको अभिभाभकलाई बोलाउनु होला यथासक्य छिटो,अनी कलेज आजलाई बिदा भएको कुरा सुनाइदिनुस् तर सुबोधलाई भने रोक्नुहोला ।” प्राचार्यले आदेश जारी गरे । पुस्तकालय त पहिलेनै बन्द भैसकेको थियो अब कलेज पनि बन्द हुनेभयो ।

एकाध घन्टापछी उसको बुवा र उ एकैपल्ट प्राचार्यको कार्यालय भित्र देखा परे हामी सबै उनिहरुकै प्रतिक्षामा थियौ । उसको बुवाको अनुहार निन्याउरो थियो भिजेको गम्छाझै,अपराध बोध गरेझै आँखापनी तल झुकेका थिए । मलाइ टिठ लागेर आयो । उनी एउटा कुर्सिमा फालिए मानौ रिंगटा लाएर भाउन्न भएको छ । मैले सम्झिए आफ्नो छोरोको सम्मान गर्ने बेलाको उनको अनुहार आजभन्दा ठ्याक्कै बिपरित,हँसिलो अनी बिजयी नजर सबैलाई सापट दिइरहेका थिए तर आज ,,,,,उसको बुवाको लाचार अनुहार देखेर मलाइ पनि त्यहि छाँयाले छोप्लाझै भयो । मेरो आँखाले बिश्वास गर्न सकेन । सुबोध त शिर ठाँडो पारेर पूरा दम्भ र स्वभिमानका साथ उही आफ्नो पुरानै शैलिमा मुस्कुराइरहेको छ । उसलाई देखेर यस्तो लाग्दै थियो की उसमा कुनै डर छैन,पश्चाताप छैन,बर्तमानमा मख्ख छ अनी भविश्यको कल्पनामा मुस्कुराइरहेको छ । ओहो उ त भर्खर लँडाइ जितेर आएको सिपाही झै प्रफुल्ल छ र मानौ कुनै अर्को लडाईंको ब्यग्र भएर प्रतिक्षा गरेको छ ।

“सुबोध,के तिमीले पुस्तकालयमा…………………?

“हो सर,त्यो काम मैले नै गरेको हुँ ।”-प्राचार्यको कुरा बिचैमा काट्दै सुबोध बोलिहाल्यो । कोठामा ज्वालामुखी पड्किएझै भयो ।

सबैले उसको दम्भपुर्ण बोलीलाई सुन्नासाथ यसरी उतिर हेरे मानौ आँठौ आश्चार्य ठिङग अगाडी उभिएको छ ।

“थाहा छ,यसको सजाय के हुन सक्छ ?”-प्राचार्य धम्किपुर्ण लवजमा बोले ।

“थाहा छ सर,निलम्बन । तर मलाई यो स्विकार्य छ ।”-उ शान्त भएर उत्तर दियो ।

कोठामा फेरि अर्को ज्वालामुखी पड्किएझै भयो । प्राचार्यले थकित टाउकोलाई पछाडी मेचमा थचारे ।

उसको पितातिर बिस्तारै नजर लगाए,एउट चोर नजर,शिर नत् थियो,उनको मनोदशा कुँजिएको थियो कुनै हारेको राजाले झै शिर लत्र्याएर बसेका थिए । घोप्टिएका लाचार अनी बिबश नजरले गलैचामा हराएको आत्मबिश्वास खोजी गरेझै लागिरहेको थियो । तर सुबोध भने ठ्याक्कै बिपरित अवस्थामा थियो उही पुरानै अन्दाजमा,बिजयी मुद्रामा । भरपुर आत्मबिश्वास , दम्भमा ठडिएको शिर ।

“सुबोध यो तिमीले के गरेको हँ ?”मेरो मुखबाट नचाहदा-नचाहदै पनि अनायासै फुस्कियो ।

उसले मतिर हेर्यो,मुसुक्क मुस्कुरायो अनी शान्त भएर बोल्यो-”माफ गर्नुस् गुरुहरु मैले तपाइहरुको चित्त दुखाएको छु अनी मेरो पुज्यनिय बुवाले पनि मलाई माफ गरिदिनुहुनेछ भन्ने आश् राखेको छु । तर मैले यो गल्ती तपाँइहरुले सोचेझै मेरो बिग्रेको मगजले भने कदापी गरेको होईन । हो मैले लेखे,अनी लेख्नलाई पनि पुस्तकालयनै रोजे किनकी यो नै आवश्यकता थियो,मैले धेरै सोचे अनी पुस्तकालयलाई नै रोजे किनकी मलाई लाग्यो पुस्तकालयको कुनै बिकल्प छैन,पुस्तकालयबाट गुन्जिएर निक्लेको आवाज प्रतिध्वनित भई त्यहिको भित्तामा गएर ठोक्कियो । मैले जे गरे त्यो केबल आवश्यकताको उपज मात्र थियो ।”

“तिमी अझै आवश्यकताको स्वाङग रचिरहेका छौ,आएर माफी मागौला भनेको त झन आवश्यकताको नारा फुकिरहेका छौ । कही अश्लिलता पनी आवश्यकता हुन्छ ? मुर्ख जस्तो कुरा नगर । तिम्रो यही व्यबहार रह्यो भने तिमीलाई हामी निलम्बन गर्न वाध्य हुनेछौ ।”-प्राचार्य कड्किए । उसले सम्मानमा हात जोड्यो तर अनुहारमा भने किन्चित डर र त्रास थिएन न त कुनै पश्चातापको रेखा ।

उसले हात जोडेरै बोल्यो कुनै भक्तले झै-”गर्नुस् सर,मलाई निलम्बित नै गर्नुस् तर त्यो भन्दा पहिले मेरा कुरा पनि सुन्नुहुनेछ भन्ने आश् राखेको छु । यदि मैले त्यहि शब्द लेखेकै कारणले मलाइ निलम्बित गरिन्छ भने गर्नुस् सर गर्नुस्,मेरो चाहना पनि त्यहि नै हो ।

हैन के भएछ आज सुबोधलाई धँतुरो खाएछ क्या हो ? मेरो मनमा कुरा चल्दै थियो तर सुबोधको बोलीलाई कानले अन्याय गर्न भने सकेको थिएन-”मलाई निलम्बन गर्नु भन्दा पहिले यो पनि जान्न जरुरी छ की मलाई यो सबै कुरा लेख्न कसले सिकायो ? कुन त्यस्तो तत्वले मलाई उत्प्रेरणा दियो भन्ने कुरा मैले भन्नैपर्छ अनी हजुरहरुले सुन्नै पर्छ । हैन भने भोली फेरि अर्को सुबोध जन्मिनेछ र निलम्बनको अर्को टिका लगाएर हिड्नेछ । मैले जहाँबाट सबै कुरा सिके मैले त्यहि लगेर पोतिदिए । हो मैले पुस्तकालयबाटै सबै कुरा सिकेको हुँ अनी त्यहिको सुन्दर भित्तामा गएर फोहोरी होली खेले ।”

मैले सुबोधको कुराको तारतम्य केही बुझेको थिएन त्यतिनै बेला जङिगने पालो अक्षर बा को आइसकेको थियो-”वाहियात कुरा नगर सुबोध्,कही पुस्तकालयले पनि यस्तो नचाहिदो कुरा सिकाउछ ?”

“हो अक्षर बा मलाई पुस्तकालयले नै सबै कुरा सिकायो । निलम्बित हुने कुरामा मलाई कुनै गुनासो छैन न त कुनै पश्चाताप । तर एउटै आग्रह छ यदि मलाई निलम्बित गरिन्छ भने म सँगसंगै पुस्तकालयमा भएका ती कैयन् पुस्तकहरुलाई पनि निलम्बित गरियोस् जहाँ अश्लिल शब्दहरु निर्लज्ज भएर हाँसीरहेका छन् ।” उ प्राचार्यलाई सम्बोधन गर्दा सर भनिरहेको थियो तर अक्षर बा र मलाई भने गुरु भन्दै सम्बोधन गरिरहेको थियो हामी

सबै चुप भएर कुरा सुन्दै थियौ उ फेरी क्रान्तिकारीझै बोल्न थाल्यो-”गुरुहरु आज साहित्यमा लेखिने उपन्याँस,कथाहरुमा आधुनिकता र वास्तबिकताको चित्रण भन्दै फोहोरी र अश्लिल शब्द साहित्यमा अपाच्य हुने गरि भित्रिरहेको छ । मैले लेखेको शब्द त त्यसैबाट झिकिएको केबल एउटा सामान्य नमुना मात्र हो तर यहाँ साहित्यमा आजभोलि समाजमा प्रतिष्ठित र नाम चलेका सहित्यकारहरुले शालिन र सुन्दर साहित्यलाई अश्लिलताको प्रत्यन्चा चढाएर कूशब्दको बाणले सालिनताको भेदन गरिरहेका छन् । ती पुस्तकहरु पुस्तकालयमा सजिन पाउने तर मेरा शब्द सजिन किन नपाउने गुरु , मेरा शब्दमा पनि त वास्तबिकता प्रतिध्वनित भइरहेको छ नी होईन र गुरु ?”

उत्तरमा हामी सबै मौन थियौ । मेरो त ओठ,मुख सुके झै पो भयो । एक गिलास पनि स्वाट्ट पिए । उ भने अझै बोल्दै थियो अहिले उसको आँखा प्रचार्यतिर थियो-”सर यदि मेरो शब्द पुस्तकालयमा अटाउन सक्दैनन् भने ती पुस्तक पनि नअटोस् जहाँ अश्लिलता मिसिएको छ,किनकी मलाई सबै सिकाउने त्यहि पुस्तक हो । मैले त्यो शब्द लेख्नुको अभिप्राय: यति मात्र हो सर अरु केही पनि छैन । अब मलाई जे सजाय तोकेपनी म भोग्न तयार छु ।” सबै मौन थियौ । उसको बुवाको मुहारमा केही चमक आएझै लाग्यो , आँखाले भित्रभित्रै स्याबास छोरा भनेझै लाग्यो तर म भने लत्र्याक्लुत्रुक भइसकेको थिए । म त्यो कोठा छाडेर बाहिर निस्के । पृथ्वीभरी भुँइचालो आएझै लाग्यो । लड्छु की झै भइरहेको थियो,आफुलाई बल्ल बल्ल सम्हाले । म पुरै चेतनाशुन्य भए । मनमा अर्कै हुन्डरी चल्न थाल्यो म हतारहतार कलेजको प्राङगण बाहिर निस्के । मलाई अब बैठकले सुबोधको बिषयमा के निर्णय गर्छ भन्ने कुराको कुनै ख्यालै भएन म अचानक निस्के चुपचाप,कसैलाई थाहै नदिइ । म सिधै कोटेश्वर आफ्नो निवासतिर हानिए ।

हिंडेको दस मिनटपछी पो बल्ल होश आयो-’म त हिड्दै पो आएछु त बाइक त थियो त,कस्तो हुस्सु भएछु’ । म घरतिर फटाफट पाइला चाल्दै थिए । दुई सडक बालक सडकमा एउटा-एउटा कालो प्लास्टिक काँधमा भिरिरहेका थिए एउटाले दुधको पोको फुलाउदै-तान्दै गरिरहेको थियो । यत्तिकैमा अर्को बालक बोलिहाल्यो -”ए मा…… मलाई पनि दे न ।” ओहो यहाँपनी घिनलाग्दो सम्बन्ध सडकमा खुट्टा फालेर पछारियो । म झन् आत्तिए,अब हिँडाइको गति दोब्बर भइरहेको थियो ।

“बुढी ए बुढी”-मा घरबाहिरैबाट चिच्याउदै आफ्नो कोठातिर हानिए ।

“हैन के भयो ? किन आत्तिएको ?”एउटा मधुरो आवाज आएर कानमा ठोक्कियो ।

“सलाई लिएर बाहिर आउ त ।” म फेरि चिच्याए ।

म घरबाहिर निस्के श्रीमती म भन्दा पहिले नै बाहिर आइसकेकी रैछ । मैले देखे उ सलाईसंगै आँखामा प्रश्नचिन्ह पनि लिएर बसेकी थिई । मैले उसको प्रश्नचिन्हलाई बेवास्ता गर्दै सलाइ हातमा लिएर हतारहतार आँगो सल्काए । पुस्तकालयको सेतो भित्ता रातो भएको सम्झिए । आफ्नो हाततिर हेरे , मैले लेख्दै गरेको उपन्याँसको पान्डुलिपी मलाइ ङिच्च दाँत देखाएर जिस्काएझै लाग्यो । म मुसुक्क हाँसे । यो मेरो आजको दिनको पहिलो मुस्कान थियो भन्दा फरक नपर्ला । मेरो अगाडी आँगो बलिरहेको थियो भने हातमा थियो उपन्याँसको पान्डुलिपी । मलाई लाग्यो मेरो अगाडी बलिरहेको आँगो कुनै हवनकुण्ड हो अनी मेरो हातको पान्डुलिपी अन्तिम चरु र समिधा ।

(स्रोत : Srijana Sangraha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.