~सुधीर छेत्री~
पूर्वेली आकाशको कुनाबाट
घामले रातो रुमाल हल्लाएर
एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो।
फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए।
हावाले घाँटी फुलाएर
सुसेली बजायो।
आँखाको ओडारमा ओत लागेका दृश्यहरू
ओभानो क्यान्भस झैं फैलिए।
कता कताबाट उडिआएको आँधीबेहरीले
अस्मिताको धिपधिप धिब्रीमा ज्वालाहरू मर्कायो,
तर जायजेथा सम्हालेर उठे शिखाहरू फेरि।
ओस्सिएका नाराहरूमा
नयाँ खरीको ताल बज्नलाग्यो।
हार्मोनियमका हड्डीहरूबाट
नयाँ राग जन्मिए।
सिरानी र सिरकहरूमा
विपना र यथार्थका खोलहरू लगाइए,
औँलाहरू मुट्ठी कसिनलाई जुर्मुरिए,
हरितन्नम हस्तरेखाहरूमा
टिस्टाको वेगजस्तो जाँगर सल्बलायो।
अनुहारमा भुकभके रङ्ग छायो।
नयाँ बैशाखको पञ्चवटीमा
मेरो स्वतन्त्रताको आश्रम दीव्य बलिउठ्यो।
अनि हेर्दाहेर्दै मेटिए
कविताको ढाडबाट
प्लेटोको कोर्राका दागहरू…।
(स्रोत : अन्तर्जाल )