कुहिरोमा रुमल्लिएको
त्यो चीसो पलको मीठो संझना
अझै ताजै छ मनमा÷
आकाशवाट चमचम गर्दै
वर्षिरहेका थिए हिंउका डल्लाहरु,
–कति सौम्य
–कति सालिन
देखिएका थिए सेताम्य वृक्ष
र त्यो गीत
जुन मौसमलाई हाँक दिंदै
तिमीले गुनगुनाएका थियौ
अझै जीउँदै छ मानसमा ÷
दिल खोली मुस्कुराउँदै गरेका सेता हिमाल माझ
फैलिंदै थियो प्यारो आभास प्रितको,
मेरो आँखामा ज्योति बनेर
अझै चम्किरहेका छन् ती दृश्यहरु
र मनमा प्रेम बनेर
गम्केका छन् ती यादहरु ÷
तर अहिले,
मौसम बद्लिएको छ
निथ्रुक्क भिजेका वृक्षहरु
लादिएका छन् हरिया भद्दा पोशाकहरुवाट,
कुहिरो हटे पनि–
कृत्रिम तुवाँलोमा जेलिएकै छ परिवेश,
ठूला–ठूला विस्फोटहरु
निरन्तर भैरहेछन् मनभित्र,
सायद अघिल्लो मौसम जोड्ने थियो
अहिले त तोड्ने मौसम आएको छ÷
सुन्दैछु, तिमी पनि अहिले व्यस्त छौ रे,
आगो सल्काउन–
काकाकुल छातीमा डढेलो लगाउन,
हो,
म मान्छु म पनि क्रुद्ध थिए
त्यो मुटु कमाउने जाडोसंग
तर म मुटु जलाउने आगोको हितैसी
कहिल्यै थिइंन र छुइंन पनि,
मैले त केवल
अलिकति न्यानो पनाको आशा गरेको थिएं
–पिरतीको न्यानोपना
–एकताको न्यानोपना
लास डढाइ पाइने गर्मी कदापि होइन÷
तिमी आजकल भन्ने गर्छौ रे,
“आगो जीतको प्रतीक हो”
तर म त टाढा टाढासम्म
हार मात्र भेटिरहेछु
विनास मात्र देखिरहेछु ।
Bibhor Baral ,
Kathmandu, Nepal
Volume III, Issue : Jun, 2003
(स्रोत : Pardesh.com)