अन्तिम भेटको दुःख अवश्य हुँदो हो, उसका आँखाहरू ‘फेवाताल–रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले ।
यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ । रुँदा अरूणा, यो केटीको सौन्दर्य अझै खुलेझैँ लाग्थ्यो । ठ्याक्कै सल्मा हायकजस्ती । त्यस्ती फेसुनेबल त के हुन्थी, तर त्यतिकै उन्नत । सल्मा हायकको नाम यसले सुनेकी थिई थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ । अर्को कुरा, अरूणा रुँदा ऊसँग अझ बढी आत्मीय हुने र नजिकिने मौका मिल्थ्यो ।
उसका आँखामा आँसुका दागहरू देखिन थाले । यसले गर्दा ऊ अझै सुन्दर देखिएकी थिई । चन्द्रमाको दागलाई कसले नराम्रो भन्छ ?
अन्तिम पटक, सान्त्वना दिने हिसाबले म उसलाई अँगाल्न थालेँ । अन्तिम पटक नै ठानेर होला, ऊ पनि कुनै प्रतिरोध नगरी शान्ति प्राप्त गर्ने उद्देश्यले एकोहोरो आँसु बहाउन थाली । अरू बेला हुँदो हो त, केही नितान्त निजी उत्तेजना र भावुकताका क्षणबाहेक हातमात्र स्पर्श गर्दा पनि यो केटी उपियाँजस्तै उम्कने तर्खर गर्थी । कुमारी रहुन्जेल मन–प्राणैले कुमारी रहन दत्तचित्त थिई सायद ।
त्यो, कविता लेख्ने एक जमाना थियो जब हाम्रो हिमचिम भयो । अरूणाकै प्रेरणामा मैले कति कविता लेखिदिएँ, त्यसको अब के अर्थ ! जब हाम्रो सम्बन्ध गाढा हुँदै गएको थियो, त्यसै बेला अमेरिकाले तेस्रो विश्वमा भर्खरै डिभी छिराएको थियो । अरूणाको प्रेम बिस्तारै डिभीसँग गाढा हुन थाल्यो । बिस्तारै ऊ मेरो कवितालाई भन्दा अमेरिकालाई सुन्दर कविता मान्नथाली । मलाई पति बनाएर वा मेरी पत्नी बनेर डिभी भराउन, भर्न सुरु गरी ।
अरूणा कति अर्थमा महत्वाकांक्षी थिई जसप्रति मलाई घृणा थियो । उसका थुप्रै दौँतरी डिभीको काँध चढेर वा बिहे गरेर अमेरिका उडेका थिए । आफ्नो छिमलमा झण्डै अब ऊ एक्ली थिई । अतः उसमा पनि रहरका पखेटाहरू बेस्सरी फडफडाउन थालेका थिए । देशमा सबै चिज ऊ अर्थहीन देख्न थालेकी थिई । अरू द्वार खुला थिएनन्, र भाग्यले पनि साथ दिइरहेको थिएन ।
हो, डिभी यसलाई कहिल्यै परेन । नियमित भर्न थालेको छैठौँ वर्षमा, ब्रह्मचारीलाई कामुक केटी आइलागेझैँ, मलाई परिदियो । खबर पाएर ऊ निकै उत्तेजित देखिई र एकसाथ बिहे र अमेरिकाको सपना देख्न थाली ।
तर, मलाई भने ऊ निस्पृह देख्न थाली । यसको अर्थ हो, म स्वयं निस्पृह देखिन थालेँ । म एकाएक देशभक्त देखापर्न थालेँ । अमरसिंह थापा वा बलभद्र कुँवर ज्यूँदा हुँदा हुन् त उनीहरू पनि नतमस्तक हुन्थे होलान् । देशै डिभीको काँध चढेर अमेरिका जाने सपनाको बाइपंखी घोडा चढिरहेको बेला मजस्तो मानिस देशभक्त बनेको दृश्य कस्तो होला ? अरूणा त त्यसको व्यंग्यात्मक पोर्ट«ेट कति हो कति खिच्न थालिहाली ।
अमेरिकाले एयर होस्टेसजस्तै मुस्कान छाडेर स्वागत ंगरेपछि तेस्रो विश्वका देशहरू साँच्चिकै अमेरिकामय देखिन थालेका थिए । मानिसहरू खाँदा, चुठ्दा, हिँड्दा र कहाँसम्म भने राति पत्नीसित एकान्त प्राप्त गरिरहँदा पनि अमेरिकाकै सपना देख्न थालेका थिए । आउँदो सन्तानले अमेरिकाकै भाग्य ल्यावस् भनेर । कतिपय कवि, कथाकारका कलम अमेरिकामात्र होइन, ‘आदर्शनारी’ हिलारी क्लिन्टनको विरुदावलि गाएर महान् अमेरिकालाई नै धन्य बनाइरहेका थिए । यहाँको सोह्र वर्षे पो त्यहाँकी सत्तरी वर्षे चाउरीबुढीको कमैया–लोग्ने बन्न तयार थियो भने अठार वर्षे कोरली त्यहाँको एड्सपीडितकी स्वास्नी बन्न राजी थिई । यहाँका डाक्टर त्यहाँ पम्पर बन्न र पत्रकार त्यहाँ स्वीपर बन्न टाइसन शैलीमा प्रतिस्पर्धा गरिरहेका हुन्थे । फेरि पनि यदाकदा हुरीले ल्याउने समाचारको बाछिटामा भने ती गौरवशाली डाक्टर र पत्रकार बनेरै छाउने गर्थे । कति दृश्य त यस्तासम्म देखिन्थ,े अमेरिका जाने मौका मिलेको छ भने बिहेबारी चल्न नसक्ने नातेदारबीच पनि अनेक व्याख्यासहित बिहे भइरहेको हुन्थ्यो । यसमा उनीहरूको तर्क हुन्थ्यो, अमेरिकाजस्तो चिर–सपनाको लोक पुग्ने औसरबाट आफन्तलाई किन वञ्चित गर्ने !
यस्तो बेलामा अरूणा एकसाथ मलाई हिदायत दिन र मेरो कायरतामाथि थुक्नथाली । तर, मेरो भावुकता पनि कम थिएन भन्नुपर्छ ।
‘देशप्रेमी सबै अमेरिका गए यो देश कतिन्जेल देश रहला, अरूणा ?’श्र
‘यो देश कहिले पो देश थियो र तिमी देशको कुरा गर्छौै !’
‘देश भनेको भौतिक सुविधाको थुप्रोमात्र होइन, आफ्नोपन पनि त हो !’
‘तर आफ्नोपन त्यहाँ हुन्छ जहाँ सुख–सुबिधा हुन्छ ।’
‘यहाँको अल्छीपनाले त्यहाँ सुख–सुबिधा हुन्छ भन्ने तिमीलाई लाग्छ ?’श्र
‘त्यहाँ धेरै औसर छन् । तिमी सम्राट उपाध्याय बन्नसक्छौ । म मृदुला कोइराला बन्नसक्छु । यहाँ त कमैया र कोइलामात्र बन्नसकिन्छ ।’
‘हामी एक–अर्कालाई नै अमेरिका मानौँ न । के हुन्छ ?’श्र
संवादबाटै प्रष्ट हुन्छ– अरूणा जिद्दीवाल केटी थिई । तर, प्रत्यक्षमा म हार्ने खालको थिइन । ऊ खोक्रो अनुभव गरिरहेकी थिई ।
डिभी पर्नु तर अमेरिका जान मन मर्नु, हामीजस्ता वीर नेपालीका सन्तानका लागि यो संसारकै आठौँ आश्चर्य थियो । म त्यो आठौँ आश्चर्यको पात्र बन्न योग्य कसरी भएँ हुँला ? ‘जवाफका लागि फाइरसाइड’ भनेजस्तै, यहाँ जवाफका लागि तपसिलः
–प्रेमको पूर्वाभ्यासमै अरूणाले धोका दिनसक्छे भनेर आफूलाई टेकोसेको लगाएर उभ्याउनु मेरा लागि एक्काइसौँ शताब्दीकै महत्वपूर्ण माग थियो । यसबाट स्पष्ट हुन्छ, वास्तविकता एकसय असी डिग्री नै भिन्न थियो । (महानुभावहरू, म त आधुनिक शुनःशेफ नै बनिरहेको थिएँ नि !)
–घरमा त भन्नै परेन, नितान्त असहाय बनिएको थियो । पिताजी, माताजी कत्र्तव्यबोधको पाठ पढाएर परमधामको गौरवमय बाटो हिँडिसक्नुभएको थियो । कर्मशील दाजु– भाउजू थिए, उनका सालासाली र थुप्रै आफन्त थिए, जसको नजरमा म नितान्त आवारा थिएँ । घरमा असहाय मान्छे संसारमै एक्लो हुन्छ ।
–एमए डिग्रीधारी युवक, त्यसको ७ वर्षसम्म, जीवनको एकतीस हिउँद–बसन्तसम्म, मिलारोद पाभिचको नायकजस्तै बेकम्मा हुने सौभाग्य उपभोग गरिरहेको थिएँ । बेकम्मा मानिसको योग्यता– अरू के ?
–जागिरका लागि दिइएको जाँच वा अन्तर्वाताको गणना छैन । बरु त्यसको विशेषज्ञ भइयो, जागिर त कुनै युवतीजस्तै मलाई हेरेर गाइरहेझैँ लाग्थ्यो– खोलापारि मै माया लाउँदिन । हिसाब गर्दा त्यसमा परेको लगानीको भार नै मलाई असम्भार !
–मैले एउटा सिनेमा हेरेको थिएँ– रिभर्सल अफ फोच्र्युन । शीर्षकले नै संकेत गर्छ । एउटा प्रसंग, मेरा तिनै सहपाठी अन्तर्वार्ता लिने र मलाई फेल बनाइदिने हैशियतमा थिए जो कलेजकालमा पूरै असफल र लफंगा थिए । सब्जेक्ट टप गरेर मेडल पाउने भने म हुन्थेँ । यो के हो ? भएन त रिभर्सल अफ फोच्र्युन ?
सत्य त उद्घाटन भयो, अब हेर्नु छ, परिणाम कस्तो आउँछ । स्वीचअन । अरूणा उदास भई । निराश भएर गई ।
उसका दिनहरू मेरा दाँजोमा सुनौला थिए । तथापि ऊ स्वयं त्यो हैसियतकी कहाँ थिई र जुन देखिने गर्थी ? आधुनिक समयले उसलाई पनि त्यो देखाउन प्रेरित गरेको थियो । महानुभावहरू, एक्काइसौँ शताब्दीका मानिसहरू जे देखिन्छन् नि, त्यो किःमार्थ हुँदैनन् ।
धेरैपछि एकदिन रुन्चे अनुहारसहित, नाटकहरूमा निशा शर्माजस्तै ऊ मेरो सामु प्रकट भई ।
‘हाम्रो प्रेमलाई कसैले सहेन ।’
‘तिमी के भन्छ्यौ ?’श्र
‘म त्योसँग बिहे गर्दिन ।’
‘त्यसो भए मसँगै बिहे गछ्र्यौ होइन त ?’श्र
अलि व्यंग्य गरिएछ कि, उसले जवाफ दिइन । केबल जनाउ दिएर गई ।
अब यो अन्तिम पटक थियो, ऊ मसँग बिदा माग्न आएकी थिई । बिदा अर्थात् प्रेमको मृत्युको औपचारिक आवेदन, व्यवहारमा जसको कुनै जरुरत पर्दैन । मनमनै धन्य भएँ, यति कत्र्तव्य त ठानिछे । मैले उसलाई बिहे गर्ने आँट गरिन भनेर ऊ अर्को बिहेको अनुमोदन गराउन आएकी थिई । होइन, आफैँमाथि अलि अन्याय गरियो महानुभावहरू, मैले उसलाई अमेरिका लान सकिन भनेर ऊ मलाई नामर्द ठान्न थालेकी थिई ।
अरूणा आँसु बगाउने कार्य सुसम्पन्न गरेर मलाई बाई–बाई गर्ने तर्खर गर्नथाली । एउटा कुरा, अरूणाले मलाई आँसु बहाएको कहिल्यै देखिन । यसको अर्थ हो, आँसु नै बहाउनचाहिँ म कदापि योग्य रहिन ।
उदासी मेरा आँखामा अवश्य हुन्थ्या,े अनन्त उदासी नै हुन्थ्यो, जसलाई उसको सामु किःमार्थ प्रकट हुन दिन्नथेँ । अलि यस्तो असर प¥यो, उदासीले प्रेमलाई नै असर पार्छ । फेरि पनि किन हा,े आँसु बहाउनचाहिँ अनिवार्यतामा पनि असमर्थ हुन्थेँ । जीवनमा त्यसका बेफाइदाहरू अनेक हुँदारहेछन् । अरूणा, यसकै कारण, समय–समयमा मलाई निर्दयी वा ढुंगाको मुटु यस्तै के–के भन्थी ।
आमा बितेको क्षण म, तीन वर्षे बालक, हाँसीहाँसी खेलिरहेको थिएँ रे । यसैलाई लिएर धेरैपछिसम्म छिमेकीहरू मलाई ‘आमाटोकुवा’ भन्ने गर्थे जसको अर्थ धेरैपछि मात्र बुझ्न सफल भएको थिएँ । पिताजीको निधनताका ‘कुहिनाले नै पहाड धकेल्ने’ भइसकेको थिएँ । त्यसबेला पनि रुन र आँसु बहाउन सफल भइएन जसका कारण मानिसहरूले पिठ्यूपछाडि कति थुकेका थिए ! पिताजीसँग मेरो सम्बन्ध कतिसम्म भावनात्मक थियो भने उहाँको मृत्युले शरीरकै एक प्रमुख अंग चोइटिएझैँ भएको थियो । चोट त ताजै छ । तर, मानिसहरू केके भन्छन् । म के गरूँ ?
यसबाट हाम्रो समाजको सहानुभूतिशीलता प्रशस्तै बुझ्नसकिन्छ ।
अब सकिन्न । समाजसँग त सकिएन सकिएन, यो केटीसँग पनि नसकिने भयो । हिसाब गर्दा अरूणासँग मेरो प्रेम लगभग चार वर्ष चल्यो । यसले त स्पष्टै छ, मेरो गरिबीकै कारण मलाई बाई–बाई गर्न खोज्दैछे । मन त रुकुम–रोल्पाजस्तै भएको थियो ।
जीवनमा केही युवतीसँग सम्बन्ध अवश्य बनेको हो, तर अरूणाप्रति मलाई साँच्चिकै विश्वास थियो । साँच्चिकै यो केटीसँग मेरो आत्मीयता गाँसिएको थियो । मैले त सपनाको आकाश नै झुण्ड्याइदिएको थिएँ । अब सदाका लागि छुट्टिनुको पीडा अगाडि छ । स्वीचअफ हुनमात्र बाँकी छ । म आफूलाई ‘निमित्त नायक’को त्यो पात्र अनुभव गर्न थालेँ जो अरूलाई नायक बनाउनमात्र खर्च भयो ।
मैलै एउटा अत्यन्तै चलनचल्तीको औपचारिकता निर्वाह गरेँ जुन छुट्टिने बेला अनिवार्यजस्तै ठानिन्छ । प्रतिक्रियामा आँसुको दाग लागेको उसको अनुहारमा एक्कासि स्वीचअन गरेझैँ चमक देखियो । ऊ अब हास्न थाली, ऐश्वर्या रायजस्तै ।
उसले त्यो मानिसलाई अस्वीकारेकी थिई जससँग उसको बिहेको कुरा चलेको थियो । त्यो मजस्तै ‘देशभक्त’ ठहरिएछ ।
‘हामी अमेरिका जाँदैछौँ’, अनुहारमा सकेसम्म बिजुली चम्काउँदै उसले भनी, ‘उहाँलाई डिभी परेको छ ।’ मतलब मसँग प्रेम गर्दागर्दै अरूणा अर्को साहसी युवकसँग पत्नीको पूर्वाभ्यासमा सामेल थिई !
हेर्नुस्त, म त्यो भकुण्डो बनाइएको छु जसलाई ढालु सडकमा यिनीहरूले बेस्सरी लात्तले हानेका छन् । अब कहाँ पुगेर अडिन्छु, त्यो मेरो मर्जीमा चल्दैन । तिनीहरूको मर्जीमा पनि चल्दैन ।
यो केटी मेरो हत्यापत्रमा अब मेरै हस्ताक्षर लिँदैछे ।
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
जन्मः २०२८, भदौ २५, गुण्डू, भक्तपुर
शिक्षाः स्नातक
कृतिः फूलबिनाको शाखा
पुरस्कार, सम्मानः आमसञ्चारमा साहित्यिक पत्रकारिता पुरस्कार(२०६०), राष्ट्रिय गजलगोष्ठी पुरस्कार(२०५७)
सिर्जनाको प्रमुख विधा कथा, कविता
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
(स्रोत : Pardesh.com)