~नवराज रिजाल~
सबै सहमत भए । चित्त नबुझे चुप नलाग्ने आर्जितसमेत मौन देखियो । सुन्नेहरूलाई अनौठो लाग्यो तर बोलेनन् । सुन्न र प्रतिक्रिया नदिनुमा नै आफ्नो भलाई सम्झे ।
सबैका हातहातमा राँका थिए । जुलुसले सहरको परिक्रमा गर्यो् । प्रहरीले हस्तक्षेप गरेन । अझै हौसिए । “विजय नजिक छ !” एकले भन्यो । “त्यस्तै-त्यस्तै लाग्यो मलाई पनि ।” दुईले रोविलो पारामा जवाफ पस्क्यो । तीन, चार र पाँच केवल हाँसेमात्र । बन्द अभूतपुर्व रूपले सफल भयो । “मैले त यतिसम्म होला भन्ने सोचेको समेत थिइनँ ।” पाँचले खिस्रिक्क हाँस्दै भन्यो । चार र तीनले पनि टाउको हल्लाए । एक र दुई अलि गम्भीर देखिन्थे ।
“छोड्दे यार, चिन्ता नले उनीहरूको नाम इतिहासमा लेखिनेछ ।” पाँचले भन्यो । “हो त” तीनले पनि थप्यो । एक र दुइको मुख अझै खोलिएको थिएन । चारले चारै जनाको मुख पालैपालो हेर्योल । लुना मारिएको विरोधमा बन्दको आह्वान गरिएको थियो । लुनालाई ठक्कर दिएर भाग्ने गाडी अझै पत्ता लागेको थिएन । तर बन्दको क्रममा दुइ व्यक्तिले ज्यान गुमाइसकेका थिए । लुना घरमा पालेको कुकुरको नाम थियो ।
(स्रोत : NepaliLaghukatha.com )