कथा : मौन प्रेमी

~गङ्गा कर्माचार्य पौडेल~Ganga Paudyal

“बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो ।

मेरो मन खुशीले बुर्कुसी मारेर तुरुन्तै घरमा पुग्यो अनि चोटा कोठा चाहारेर रमाउन थाल्यो । म सुत्ने ओछ्यानमा सेती विरालीले बच्चा पाइछ । उ मलाई देख्ने वित्तिकै म्याउँ म्याउँ गरी । यतिका दिनसम्म कहाँ गएकी थियौ हेर मैले बच्चा पाए नि भनेकी होली सायद । “ल यो औषधी खानुस् बीनाजी !”

सिस्टरको आवाजले म झसङ्गै भएँ । सिरानीको अडेस लाएर टाउको उठाएँ । सिस्टर एउटा हातमा पानीको गिलास र एउटा हातमा औषधी लिएर मेरो अगाडि उभिरहेकी थिइन् । तिनले फेरि भनिन् “आँ गर्नुस् त” मुख आँ गरें मैले । आधा निलो आधा रातो रंगको खोलमा बेरिएको क्यापसुल खुत्रुक्क खसालिन अनि तुरुक्क एक घुटको पानी मुखमा राखिदिइन् । मैले घुटुक्क निले । उनी मुसुक्क हाँसिन् र अर्को बिरामीलाई औषधी ख्वाउन गइन् । मैले मनमनै सोचें “त्यो मन पनि कस्तो अचम्मको छ । निमेषभरमै संसार डुली फर्कन सक्छ । क्षणमै खुशी क्षणमै दुःखी पनि हुन सक्छ । राम्रो नराम्रो जे पनि सोच्न सक्छ । त्यही बेला हजुरआमाले भन्नुभएको कुरा झट्ट सम्झेँ । उहाँ भन्नुहुन्थ्यो “मन साह्रै चञ्चल हुन्छ । मनलार्ई संधै सकारात्मक बाटोमा डो¥याउनुपर्छ अनि मात्र असल मान्छे बन्न सकिन्छ । यदि मनलाई जथाभावि छोडिदियो भने नकारात्मक सोचतिर अघि बढ्छ र जीवन वर्वाद हुन्छ ।”

झण्डै डेड वर्ष लामो समयसम्म उपचारार्थ अस्पतालमा बस्नुपर्दा म दिक्क भएको थिएँ । औषधीहरूको गन्ध, विरामीहरूको चित्कार, आफ्नो वेडसँगैको विरामी मर्दाको भयावह दृश्य, ओछ्यानमा पल्टीरहँदाको पट्यार लाग्दो दिन उफ् ! सम्झँदा पनि कहाली लाग्छ । यहाँबाट फुत्किन पाए पनि कस्तो हुन्थ्यो लागिराखेको बेला डा. पाण्डेको आश्वासनपूर्ण शब्दहरूले ओइलाउन लागेको फूलमा चिसो पानी छर्किएको महशुश गरेँ मैले, अनि बडो व्यग्रताका साथ त्यस दिनको प्रतीक्षा गरिरहे ।
नियमित राउण्डमा डा. पाण्डे भोलिपल्ट बिहान १० बजेतिर आउनुभयो । उहाँसँग सिस्टर पनि । मेरो नामको फायल पल्टाएर हेर्दै केही नबोली सुरुसुरु लेख्नुभयो । संधै कस्तो छ ? भनेर सोध्नुहुन्थ्यो । आज मैले नमस्ते गर्दा पनि हात उठाएर नमस्ते फर्काउनु वाहेक केही बोल्नुभएन । मनमा पीर प¥यो । हिजो छिट्टै घर जान पाइन्छ भन्नुभएको थियो । खै आज बोल्नुभएन । ला.. रिर्पोटमा खराबी देखियो कि ? शङ्खाका वादल मडारिन थाले मनमा ।

बीनाजी ! ल उठ्नुस् भनेर उहाँले मेरा दुवै हात समातेर बेडबाट भुइँमा ओराल्नुभयो । मलाई रिंगटा लाग्यो । पूरै वार्ड फन्फनी घुमेको देखें । उहाँले बलियासित समातेर आड नदिएको भए त्यहीं डङरङ्गै लड्थें होला तर त्यसो हुन पाएन । डा. साहेवलाई थाहा भएरै होला एकछिनसम्म छोड्दै छोड्नु भएन ।

विस्तारै रिंगटा लाग्न कम भएपछि उहाँले सिस्टरलाई पर भित्तामा उभिरहेको स्वयंसेवकलाई ल्याउन अह्राउनुभयो । नजिक आएपछि उसलाई मैले छड्के नजरले हेरें । ऊ सलक्क परेको अग्लो शिरमा शिरपोष लाएको लक्का जवान देखिन्थ्यो । ऊ मलाई हेरेर मुसुमुसु हाँसिरह्यो । मैले उसको आँखामा आँखा जुधाएर हेर्न सकिन । लाजले निहुरिएर भुइँतिर हेरें । किनभने म यौटा लजालु स्वभावकी २२ वर्षीय युवति थिएँ । हाम्रो पालामा छोरीमान्छेहरू कम बोल्ने, लोग्ने मान्छेसँग धेरै हेलमेल नगर्ने घरको चौघेराभित्र रमाउनेलाई राम्रो चरित्र भएको मान्दथे ।

छोरी चेलीलाई स्कुल पढाउने चलन थिएन । एकाध घरका छोरी स्कुल गएर पढे पनि पाँच कक्षा नाघ्न पाउँदैनथे । सावाँ अक्षर चिन्न थालेदेखि नै छोरीले केटाहरूलाई चिठी लेख्लान् भनेर बाबुआमा सतर्क भइरन्थे । अनि बाह्र तेह्र वर्षेमै कन्यादान गरी ढुक्क हुन्थे उनीहरू । स्वास्थ्यकै कारण त्यसको अपवाद बनेकी थिएँ म । परिवेश चाहिँ उही नै थियो मेरो पनि ।

अर्को कुरा यहाँ आउनुभन्दा पहिले मेरी फुपुले आफ्नी भाञ्जीको दुःखद कथा सुनाउँदा मर्माहत भएको थिएँ म । उहाँले भन्नुभएको थियो । “हाम्री भाञ्जी पूर्णिमा नामजस्तै रूप उस्तै पूर्णचन्द्रमा जस्ती उज्याली र फूलजस्तै कोमल थिइन् । तिनी चार कक्षामा पढ्दै थिइन् । छिमेकीको घरमा आइरहने उनकै नाता पर्ने काठमाडौंका एक जना राजेश भन्ने केटाले पूर्णिमालाई मन परायो । बिहे गर्छु भनेर हत्ते ग¥यो । मेरी नन्दले यौटी छोरी टाढा दिन्न भन्दा पनि सुखै पाइनन् । उसले काठमाडौंबाट बाआमालाई गाउँमै बोलाएर केटी माग्न लगायो । वल्लो–पल्लो घर छरछिमेकी सबैले केटा पढेलेखेको खानदानी छ । उलाई दिए छोरीको भविष्य उज्ज्वल हुन्छ । काठमाडौं जस्तो ठूलो शहरमा सुखपूर्वक जीवन बिताउन पाउँछिन भनेर सिफारिस गरे । यस्तो मौका गुमाए फेरि फर्किदैन भनेर चेतावनी पनि दिए । सबैले राम्रो हुन्छ भनेपछि मन नलागे पनि केटीका बाआमा छोरी दिन राजी भए । टीका टालो पनि गरियो । वर्षाको समय भएकाले मंसिरको पहिलो लगनमा विवाह हुने पक्का भयो । त्यसपछि केटाका बाआमा घर फर्किए । राजेश चाहिँ गाउँमै थियो ।

दुई चार दिनपछि पूर्णिमाका घरमा गएर आमासँग भन्यो “म काठमाडौं गएपछि कहिले आउन पाउँछु थाहा छैन । त्यसैले पूर्णिमालाई बजार घुमाउन लैजान्छु नि हुन्छ ?”

बिहा हुनुअघि केटाकेटी सँगसँगै हिंड्ने चलन यहाँ छैन । गाउँलेले देखे भने कुरा काट्छन्” पूर्णिमाकी आमाले भनिन् ।
केटाले भन्यो “अरू भए पो कुरा काट्नु, म त अब पूर्णिमाको हुनेवाला पति हुँ, म मेरी हुनेवाला दुलहीसँग मनका कुराहरू बाँड्न चाहन्छु किनभने विवाहपछि हाम्रो बीचमा कुनै अप्ठ्यारो महशुश नहोस् । साँझसम्ममा आइहाल्छौ । यदि क्यैगरी त्यतै रात प¥यो भने पनि चिन्ता लिनुपर्दैन । अब उनीप्रति मेरो जिम्मेवारी र कर्तव्य दुवै हुन आउँछ ।”

हुनेवाला ज्वाइँको कुरा सुनेर त्यो त हो तर ….. भनेर उनी चुप लागिन् । अनि मनमनै भनिन् “भरखरै तेह्र वर्ष पूरा गरी चौध वर्षमा पाइला टेकेकी किशोरी र यौटा जवान केटाको समीप्यता आगो नजिक घिउ उस्तै उस्तै हो ।”

जवाफ पर्खेर बसिरहेको राजेशले फेरि भन्यो “पूर्णिमालाई पनि घुम्न मन लागेको होला हैन पूर्णिमा ?” उसले पूर्णिमातिर फर्केर सोध्यो लाजले मुख रातो पारेर हाँसिरहिन् उनी ।

पूर्णिमाकी आमाले छोरीलाई बजार पठाऊँ कि नपठाऊँ भई दोधारमा परिरहेको बेला बजारबाट पूर्णिमाको बुवा टुप्लुक्क आइपुगे । पतिलाई देखेर तिनी खुशी भइन् र राजेशतिर सङ्केत गरेर भनिन् “उहाँले पूर्णिमालाई बजार घुमाउन लान्छु भन्नुभएको छ के गर्ने ?”

ए…… हो ? पूर्णिमा जान्छिन रे ? हो छोरी ? निहुरिरहेकी छोरीलाई सोधे उनले । हो बुबा म एकचोटी बजार घुमेर आउँछु नि ? पूर्णिमाले भनिन् । ए.. ल.. ल हुन्छ । नौतनवादेखि मानिसहरू आएर सर्कस देखाइरहेका छन् । तिमीहरूले पनि हेर्न पाउने भयौ । बरु फर्कन ढिलो नगर्नु नि ।”

बुबाको आज्ञा पाएपछि पूर्णिमाले भै हाल्छ नि भनेर राजेशसँगै बजार घुम्न गइन । घुम्दा घुम्दा त्यही साँझ प¥यो । पूर्णिमाले घर फर्कौं भनिन् तर राजेशले अल्मल्याएर त्यही रात पा¥यो । त्यसपछि अँधेरोमा कसरी जानु ? भोलि बिहान सबेरै उठेर जाउँला भनी पूर्णिमालाई फकायो र होटेलमा यौटा कोठा लिएर बास बसे । पूर्णिमाले भने अपठ्यारो मानिरहिन् ।

राजेश पूर्णिमाको फक्रँदो जवानीदेखी लोभिएर चिलले चल्ला झम्टेझै दुवै खुट्टाका नङ्ग्राले रातभरि गाँजिरह्यो अनि तिखो चुच्चोले पटक–पटक ठुंगेर चोक्टा–चोक्टा लुछेर स्वादमानी मानी खायो । कलिली पूर्णिमाको शरीर क्षतविक्षत पारिदियो उसले । तिनी रोइन्, कराइन्, छटपटाइन् तर तृप्त नभएसम्म लुछ्न छोडेन त्यो राक्षसले । पूर्णिमा शिथिल भएर जिउँदो लाससरह ओछ्यानमा पल्टिरहिन् । त्यसमा पनि कसैलाई भने मारिदिने धम्की दिएर डर र त्राससमेत थपेर गहु्रङ्गो ढुङ्गाले थिचिदियो उसले ।

बिहान उठ्दा ओछ्यानभरि रगत देखेर राजेश आत्तियो । उसले हत्तपत्त आफैले लुगा धोइपखाली गरी पूर्णिमालाई नयाँ लुगा फेरायो । हिंडन सक्ने अवस्थामा थिइनन् उनी । त्यसैले दिउँसो मध्यान्हपछि मात्रै काँधको भरदिएर विस्तारै हिंडाई साँझ घर ल्याइपु¥यायो । छोरीको हालत देखेर पूर्णिमाका बुबाआमाले के भयो ? भनेर सोधे । पूर्णिमा बोल्न नपाउँदै उसले अगाडि जवाफ दियो “हामीले खुब बजार घुम्यौ, सर्कस हे¥यौं अनि रोटे पिङ्ग खेलिसकेर ओर्लिने बेला उनी नराम्ररी भुइमा बजारिइन् । झण्डै हात खुट्टा भाच्चिएन तर जीउ थचारिएको हुँदा उनलाई भित्र बढी चोट लागेजस्तो छ ।” पूर्णिमा बोल्न खोजे पनि उसको धम्की सम्झेर चुप लागिन् । साँझ खाना त्यही खायो राजेशले । रात छिप्पिदै गयो पूर्णिमा ननिदाएसम्म उसले छोड्दै छोडेन किनभने पूर्णिमाका बुबाआमाले केरकार गरेर रहस्य थाहा पाउलान् भन्ने डर थियो उसलाई । भोलिपल्ट झिसमिसेमा उठेर राजेश घर फर्कियो ।

दिन बित्दै जाँदा पूर्णिमाको पेट बढ्दै गयो । उनी गर्भवती भएको थाहा भएपछि गाउँभरि खैलाबैला मच्चियो । छोरीलाई लिएर केटीका बाबुआमा काठमाडौं गए तर राजेश लगायत उसका परिवारले स्वीकार गरेन । विवाहपूर्व नै गर्भवती भएकी भनेर पूर्णिमाको बेइज्जत गरे । गाउँमा पनि टिकिसक्नु नभएर मेरी नन्द र ज्वाइँले कौडीको मोलमा घरजग्गा छोडेर तराई झरे । त्यो बेलादेखि सहरियालाई यो गाउँमा राम्रो मान्दैनन् ।

फुपूले भनेका ती कुराहरु एक एक गरी सम्झिरहेकी थिएँ । डा. पाण्डेले बीनाजी ! ठिक छ ? भनेर सोध्दा म त झसङ्गै भएँ । अनि टाउको हल्लाएर ठिक छ भनी टाउँको हल्लाएँ । उहाँले मेरा दुवै हातहरू समातेर त्यो स्वयंसेवकको काँधमाथि राखिदिंदै भन्नुभयो “बाहिर बगैंचातिर घुमेर आउनुस् ।”
असजिलो मानेर मैले उहाँको मुखमा हेरिरहें । डा. पाण्डेले मेरो अनुहारमा सलबलाएका रेखाहरू पढेर फेरि भन्नुभयो “अप्ठ्यारो मान्नुपर्दैन, ऊ यही अस्पतालको स्वयंसेवक हो । ढुक्क भएर जानुस् ।”

त्यो स्वयंसेवकले आफ्नो काँधको भरदिएर मेरा हातहरूलाई गलबन्दी बेर्दा झैं उसको गलामा बे¥यो । त्यसपछि विस्तारै पाइला सार्न खोज्यो । उसको स्पर्शले मेरो शरीरभरि यौटा अनौठो किसिमको तरङ्ग छायो । मुटु ढुकढुक् गर्न थाल्यो । जिउमा तापक्रम बढेर निधारभरि चिटचिट पसिना आयो । मुख रातो भएर गालाबाट रगत चुहिएला जस्तो भयो सायद । नजाउँ भने बल्ल बल्ल ओछ्यान छोड्न पाको छु जाउँ भने त्यो अपरिचितसँग कसरी जाउँ ? बडो असमन्जस्यमा परें म । के गरुँ गरुँ भयो मलाई ।

मेरो मनोदशा बुझेर डा. पाण्डेले लक्ष्मी सिस्टरलाई ढोकासम्म पु¥याइदिनुस् भन्नुभयो “नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छो बाउको अनुहार” भने झैं भयो मलाई । मैले हत्तपत्त सिस्टरको हात चपक्क समाते किनभने म डराएकी पनि थिए । हामी लिफ्ट चढेर तल और्लियौं । गेटनिर पुगेपछि सिस्टरले आफ्नो हात मेरो हातबाट फुत्काएर विस्तारै जानुस् ल…. भनेर वार्डतिर फर्कनुभयो ।

त्यो स्वयंसेवकले मलाई बडो जतनका साथ बगैंचामा पु¥यायो । त्यहाँ हरियो कार्पेट ओछ्याए जस्तो सफा र टमक्क मिलेको दुबोको चउर थियो । छेउछाउमा रङ्गी विरङ्गी फूलहरू फुलेर हावासँग मस्किरहेका थिए । फक्रिएका फूलहरूसँग भँवराहरू भुन्भुन् गरी जिस्कि रहेका थिए । त्यो देखेर मेरो मनमा पनि कता कता काउकुती लाग्न थाल्यो । मायाँको यौटा छुट्टै संसारमा पुगेको महशुश गर्न थालेँ । मभित्र कल्पनाका अनेकौं छालहरू उर्लिएर आए । त्यही छालमा घरि डुबुल्की मार्ने घरि उत्रने गर्न थालेँ । एकछिनको लागि आफू विरामी छु भन्ने कुरा भुसुक्कै विर्से मैले । मभित्र पनि त थुप्रै इच्छा र आकाङ्क्षा थिए, बैंशालु रहर थियो, यौटा सिङ्गो कुमारी मन थियो । आखिर म पनि त मान्छे नै हुँ । यस्तै यस्तै कुराहरू खेली रहे मनमा । त्यही बेला यौटा माहुरी उड्दै आएर मेरो दाहिने गालामा थपक्क बस्यो । मैले आवुइ ! भनेर चिच्याएँ । माहुरी फुर्रु उडेर गयो । गाला मुसारेर मनमनै सोचें “माहुरीले टोकेर खिल गाडेको भए गाला सुन्निएर पाउरोटी जस्तो हुने थियो” झण्डै बँचियो भनेर लामो सास ताने अनि उठेर चारैतिर हेरेँ ।

त्यो स्वयंसेवक अगिकै ठाउँमा रहेछ । ऊ मलाई हेरेर मुसुमुसु हाँसिरहेको थियो । वार्डमा फर्कन मैले ऊतिर हात बढाएँ । उसले बगैचामा ल्याउँदा झैं जतनका साथ विस्तारै पाइला सारेर अघि बढायो । यौटी जवान युवतीलाई अरूको काँधमा भरपर्नु पर्दा साह्रै लाज लाग्यो । पल्याक् पुलुक दायाँ–बायाँ हेरेँ । मान्छेहरू मलाई एकहोरो हेरिरहेका थिए लाजले भुतुक्कै भएँ । उसले वेडमा पु¥याइदिएपछि हत्तनपत्त कम्मल ओढेर ओछ्यानमा पल्टिएँ, अनि बल्ल ढुक्क भएँ ।

धेरै दिनपछि बाहिरको ताजा हावा खान, खुला आकाशमुनी डुल्न पाएर होला दिनभरि मन सिमलको भुवा झैं हलुङ्गो भैरह्यो । घरिघरि ती सुन्दर फूलहरू र भँमरालाई सम्झिएर रोमाञ्चित भएँ । गालामा माहुरीले चुम्दा तर्सेको सम्झी हाँसो उठ्यो । एक्लै खितित्त हाँसेँ म । साँझ अस्पतालको नियमअनुसार खाना औषधी खाएर ओछ्यानमा ढल्केर बसे । निन्द्रा लागेको थिएन, त्यसैले कापी कलम झिकेर लेख्न थाले ।

मैले अलिअलि कविता कोर्ने गरेकी थिएँ । कापी कलम र कविता नै मेरो एक्लोपन मेटाउने साथी थिए । म तिनीहरूसँगै मनको पीडा पोख्ने गर्थें । घाउ दुख्दा ऐया ऐया भनेर सुनाउँथे । आँखाबाट झेरका बलिन्द्रधारा आँसुलाई कापीमै थाप्थेँ । तिनै आँसु सल्बलाएर कविताका रूप लिन्थे अनि मलाई निरास हुनदेखि बचाउँथे । लेख्दालेख्दै कति बेला निदाएँछु पत्तै पाइन ।

हिजोजस्तै नियमित राउण्डमा डा. पाण्डे आउनुभयो । मैले नमस्कार गरें । उहाँ प्रफुल्ल भई नमस्कार फर्काएर भन्नुभयो “बीनजी ! हिजो घुम्न जाँदा रमाइलो भयो ?”

टाउको हल्लाएर मैले रमाइलो भयो भनि सङ्केत गरें । डा. साहेवले थेटिस्कोप झिकेर मलाई जाँची सकेपछि भन्नुभयो “गुड” अब एक महिना नियमित मनिैङ्ग वाक जाने गर्नू, छिट्टै निको हुन्छ अनि घर जानुहोला । त्यो स्वयंसेवक डा. पाण्डेको नजिकै भित्तानेर उभिएर मलाई हेरिरहेको थियो । डा. पाण्डेले हिजोजस्तै दुवै हात समातेर वेडबाट उठाउए पनि मलाई आफै तल ओर्लेर उभिन भन्नुभयो । हिजोजस्तो रिंगटा लागेन मनमनै खुशी भएँ । मुख उज्यालो देखेर होला डा. साहेवले मेरो हात स्वयंसेवकको काँधमाथि राखिदिएर भन्नुभयो ‘इन्ज्वाई योर सेल्फ’ ।

स्वयंसेवकले विस्तारै पाइला सारेर बगैंचामा लग्यो । बाटोमा उसँग म बोलिनँ । उसले पनि मलाई केही भनेन चुप्चाप् हिंडिरह्यौं । अस्पताल ओहार दोहर गरेका मानिसहरूले चाहिँ हामी दुई टाँसिएको देखी क्वारक्वारती हेरिरहे । आपसमा कानेखुशी पनि गरे । के सोचेर होला कुन्नि ?

मलाई उसले दिनदिनै मर्निङ्गवाक लाने गर्दा स्वास्थ्यमा राम्रो सुधार भयो । शुरुका दिनमा सहरिया भनेर ऊ माथि शङ्का उपशङ्का गरेको भए पनि उसको भलाद्मीपन, कर्तव्य परायण, निस्वार्थ, शिष्ट व्यवहारदेखि प्रभावित भएँ । जीवनमा एउटा गतिलो साथी भेटे झैं लाग्यो तसर्थ ऊप्रति आकर्षित भएँ म । त्यसैलाई भन्छ्न क्यारे मायाप्रिति सायद ।

महिना दिनपछि डा. पाण्डेले डिस्चार्ज पेपरमा लेख्दै भन्नुभयो “बीनाजी ! तपाई अब घर जान सक्नुहुन्छ । बेला–बेलामा फलोअप जाँच गराउन आउन नभुल्नुहोला ।”

मैले डा. पाण्डेको आँखा छलेर नजिकै उभिरहेको स्वयंसेवकलाई पुलुक्क हेरें । उहाँले थाहा पाइ हाल्नुभो अनि भन्नुभयो “ल…. बधाइ छ । तपाईंको भविष्य उज्जवल रहोस् । शुभकामना ।”

त्यो स्वयंसेवक र मेरो बीचमा गहिरिंदै गएको प्रेम सम्बन्धका बारेमा उहाँले थाहा पाउनुभयो सायद । नपाउनु पनि किन उहाँ मेरा हरेक क्रियाकलापमा जानकारी राख्नुहुन्थ्यो । मैले लेखेका कविताका हरफहरू पढेर प्रशंसा गरिदिंदा घाउ दुखेको पीडा पनि बिर्सन पुग्थेँ म ।

डा. पाण्डे वास्तवमै यौटा शालीन व्यक्तित्वका धनि, बीरामीको मनोभाव बुझेर बोल्ने, बीर अस्पतालमा सबैले रुचाईएका डाक्टर हुनुहुन्थ्यो ।

अस्पतालबाट डिस्चार्ज हुँदा म एकतर्फ खुशी भएँ भने अर्कोतर्फ दुःखी । किनभने मेरो घर पहाडी जिल्ला भएकाले फलोअप जाँचका लागि घरिघरि अस्पताल आउन कठिन पथ्र्यो । यतै बसौं भने पनि आफ्नो मान्छे कोही थिएन । एक्लै म कता जाने वडो दुविधामा परें । एकछिन गालामा हात लाएर सोचिरहें । त्यही बेला लक्ष्मी सिस्टर आउनुभयो । मैले उहाँलाई डेरा खोजिदिन भने । कमलादी गणेशस्थान नजिकै आफ्नै दिदीको घरमा कोठा मिलाई दिनुभयो उहाँले ।

ट्याक्सीमा सामान राखेर हिंड्ने बेलामा त्यो स्वयंसेवक पनि मसँगै आयो । मलाई ऊ आइदिए हुन्थ्यो भन्ने मनमा लागेको थियो मुखले भन्न मात्र सकेकी थिइन ।
हामी यौटै कोठामा बस्यौं । मैले उसलाई जीवनका सारा कथा–व्यथा सुनाएँ । उसले सुनिरह्यो तर जवाफ फर्काएन । मलाई पनि उसका कुरा सुन्न मन लागेको थियो तर उसले भन्न चाहेन । मलाई उसँग धेरै कुरा गर्न हाँस्न मन लाग्थ्यो तर ऊ मौन रहन्थ्यो । मलाई हेरेर मुसुमुसु हाँसिरहन्थ्यो मात्र ।

म उसको मिठो मुस्कानमा कता–कता हराउन पुगें र मनमनै सोचें “उसले मलाई गम्लङ्ग अँगालो मारेर म्वाई खाए पनि हुने । यहाँ देख्ने को छ र ? सिर्फ उ र म मात्रै छौं । तर उसले मर्यादा उलङ्घन गरेन । फेरि सोंचे “जसलाई प्यास लाग्छ उही खोला धाउँछ” आफै अगाडि बढे कसो होला ।

टवाक्, टवाक्, टवाक् एक्कासी ढोकाबाट आएको आवाजले मनभित्रका तरङ्गहरू सामसुम भएर गए । झटपट ढोका खोलें । सिस्टरलाई देखें अनि लक्ष्मी सिस्टर ! चिच्याएर मैले उहाँलाई गमलङ्ग अँगालो मारे, आँखाबाट हर्षका आँसु झारें किनभने उहाँ अस्पतालमा नर्समात्र नभएर दुःखको बेला साथ दिएर मेरो मित्र बन्नुभयो । एकछिन बसेर उहाँले केही परे भन्नुहोला भनेर जानुभयो । म उहाँप्रति हृदयदेखि नै कृतज्ञ भएँ ।

सहरका भए पनि डा. पाण्डे, लक्ष्मी सिस्टर र त्यो स्वयंसेवक कति जाति छन् । ठाउँको आधारमा मात्र मानिसहरूको र वस्तुको मूल्याङ्कन गर्नु ठिक होइन । असल र खराब हुनु व्यक्ति र गुणमा भरपर्ने कुराहरू हुन भन्ने लाग्यो मलाई ।

अस्पतालमा जस्तै डेरामा पनि स्वयंसेवकले आफ्नो बलियो काँधको भर दिएर मलाई दिनदिनै मर्निङ्गवाक लग्यो । हामी दुई अँगालो मारी रौसिएर हिंडेकोदेखि छरछिमेकीहरूले आँखा तानी–तानी हेरे । बाटोमा हिंडेका मान्छेहरू त झन् फर्कि फर्कि हाम्लाई नै हेर्थे तर म पहिला जस्तो लजालु रहिनं । समय र परिस्थितिले गर्दा मभित्र परिवर्तनका किरणहरू प्रवेश गरिंसकेका थिए । सहरी हावाले छोयो मलाई पनि । त्यसमा पनि आफ्नो भविष्यको निर्णय आफै गर्नुपर्ने जिम्मेवारी थपियो ममाथि । त्यस कारण जसले जति कुरा काटे पनि स्वयंसेवकको साथ छोड्ने पक्षमा गइन ।

ऊ पनि मलाई निस्वार्थ प्रेम गथ्र्यो । म जोसँग बोलुँ ईष्र्या गर्दैनथ्यो । जहाँ जान्छु भने पनि खुरुखुरु पु¥याइ दिन्थ्यो । म जति गनगन गरे पनि ऊ झर्को मान्दैनथ्यो । खासगरी ऊ मसँग कहिल्यै रिसाउँदैनथ्यो । सर्वस्व सुम्पेको थियो उसले मेरो सेवामा । मैले पनि उसलाई मेरो मौन प्रेमीको रूपमा स्वीकारी सकेको थिएँ । त्यस कारण अब जल्ले जे भने पनि उसलाई छोड्नु “आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै लाग्यो ।”

मेरो मौन प्रेमीका केही अनौठो स्वभावहरू थिए । ती के भने ऊ र म बाटोमा हिंडिरहेको बेला कोही बालक, बृद्ध, रोगी, अपाङ्ग, असहाय देख्यो कि टक्क रोकिएर पाइला सार्नै नदिने । सोधी खोजी गरेर मद्दत गरिदिनुपर्ने । कहिले मसँग व्यागमा पैसा हुन्थेन, कहिले हतारमा बोलिरहने फुर्सद हुन्थेन । त्यति बेला अप्ठेरो महशुस गर्थें मैले । के गर्नु ? उसको चित्त दुःखाउन पनि भएन । अनि मनमनै भन्थे तिनीहरूसँग उसको के सम्बन्ध छ ? फेरि आफैलाई भन्थे धत अझै पनि ऊमाथि शङ्का गर्ने ?

समयको गतिसँगै मेरो जीवनले पनि फट्को मा¥यो । छोरीबाट कसैकी बुहारी हुन पुगेँ । आमा बनेँ, हजुरआमासमेत बनिसकेकी छु । मेरो विवाहलाई लिएर उसले विरोध गरेन बरु खुशी नै भयो । प्रेम र विवाह भन्ने कुरा अलग हुन् । जोसँग प्रेम बस्यो, उसैसित विवाह गर्नुपर्छ भन्ने मान्यतादेखि पर थियो ऊ मजस्तै ।
मेरा पतिले पनि हामी दुईबिचको घनिष्टतालाई विवाहका निम्ति बाधा ठान्नुभएन । मेरो चरित्रमाथि कहिल्यै प्रश्न उठाउनुभएन । उहाँको घरपरिवाले मेरो विषयमा सबै कुरा थाहा पाएर पनि स्वीकार गर्नुभयो । आज मसँग मेरा पति घरपरिवार इष्टमित्र नातेदार सबै हुनुहुन्छ तापनि मलाई मेरो मौन प्रेमीप्रति नै बढी भरोसा लाग्छ । उसैले मेरो पाइला पाइलामा साथ दिइरहेको छ । ऊ हो मलाई सधैं काँधमा बोकी हिंड्ने ‘बैशाखी’ मेरो मौनप्रेमी ।

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.