~बद्री चापागाईं~
‘डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।’
६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ मैले आँखा ढप्काउँदा ४ बजिसकेको थियो । भर्खर भर्खर सुरु भएको इन्टर्नसिपमा अझै अनिँदो बस्ने बानी परिसकेको थिएन । त्यसैले आँखा उघार्न खिया लागेको सटर माथि ठेल्न भन्दा पनि गारो लाग्थ्यो ।
जर्याकजुरुक उठें, अट्याच बाथरुममा छिरें र एक अँजुली पानी अनुहारमा छ्यापें । कपाल पनि भिजाएर ‘फ्रेस लुक’ दिने प्रयास गरें । नर्स स्टेसनमा गएर सिरिन्ज र भायल लिंदै बेड तिर लम्कें ।
मलाई बेला न कुबेला बिरामीको नसाबाट रगत तान्दा आफूलाई ‘भ्याम्पाएर’ भए झै लाग्थ्यो । तर सुगर कन्ट्रोल नभइ’राको बेलामा यसरी बेला बेलामा रगत तानेर इन्सुलिनको डोज नमिलाइ उपाय पनि थिएन ।
यसै त बुढेसकालले गिलो भएको शरीर, त्यसमाथि डायबेटिज र रेनल फेलरले जम्मा भएको पानी ! डम्डम्ती सुन्निएको छाला मुनी नसा भेटाउनु परालमा सियो भेट्नु जस्तै गारो ।
‘आ ! यो के लठारो काम लगाको होला हाम्रो प्रोफेसरले ? पाँच बर्ष ला’र डाक्टरी पढेको यै रगत तान्न हो त ? रगत तान्ने त नर्सहरुको जागिरै हो नि !’ यस्तै नानाभाँती तर्कना गर्दै केहि एटेम्प्ट गरें । तर अनगिन्ती घोपाइले निलो भएको कुहिनामा सद्धे नसो भेटिए पो !
आफ्नै काममा तल्लिन थिएँ । ‘डक्टर.. यो टर्निकेट युज गर्नुस न ! अलि सजिलो होला भेन भेटाउन !’ यसो माथि हेरें आवाजको श्रोततिर । हुन त दिमागले सोचिसकेको थियो, कुनै नर्स नै हुन पर्छ तैपनि रेस्पोन्स दिन मात्र भए पनि माथि हेर्न आवश्यक थियो ।
त्यो वार्डमा पोस्टिङ भएको केहि दिन मात्र भएको हुँदा हुन त म आफैं नयाँ थिएँ, तर उनी म भन्दा पनि नयाँ रैछिन जस्तो छ । खै कता व्यस्त भा’कि रैछिन अघिल्लो साँझ, मेरो नजरबाट छुटिछन् ।
मेरो असफल प्रयास उनले देखि होलिन् भनेर मलाई केहि अप्ठेरो महशुस भयो । साउन मासको त्यो उष्णतामा बिहानै भएपनि शरीर भित्र पसिना आइसकेको थियो । ‘पर्फर्मेन्स एङ्जाइटी’ले ले निधारमा पसिना पलाएको महशुस मलाई भैसकेको थियो ।
‘म बाँधि दिउँ टर्निकेट?’ उ जान्ने पल्टिन हुन खोजेकोमा मेरो मेल इगो र झन् त्यसमाथिको डाक्टर इगोमा ठेस पुग्न आँटिसकेको थियो । तर रगत तान्न नसके झन् बेइजत हुने ठानेर हस् भनिदिएँ । धन्न तान्न सकियो रगत ।
…. …….
हुन त भोलीपल्ट मेरो इमर्जेन्सी ड्युटी थियो, तर पनि साथीसँग कुरा मिलाएर वार्डमै गएँ । धेरै बोल्ने मौका नमिले पनि नाम सम्म सोध्न भ्याएँ । एक दुईवटा हिस्ट्री लेखुन्जेल चुपचाप दुई-चार नजर उनलाई हेरें ।
हुन त जवानीमा स्याल पनि घोर्ले हुन्छ । बीस-बाइसको जवानीमा सामान्य केटीहरु पनि चिताकर्षक लाग्नु पौरुष गुण नै हो । तर पनि उनी मलाई केहि बिशेष लागिन । नाकको फुली देखेपछि बाहुन/क्षेत्री हुनुपर्छ भन्ने सोच्न धेरै बेर लागेन ।
बिहान पख उठ्दा त सात बजिसकेको रैछ । हिजोको झैं रगत तान्न पर्ने ताकेता किन गरेनन् नर्सहरुले भनेर गम्दै नर्स स्टेसन पुगें ।
‘डक्टर, तपाईलाई कति डिस्टर्ब गर्नु भनेर मैले आफैं तानिदिएँ है स्याम्पल!’ मलाई देख्ने बित्तिकै उनले भनिन् । मलाई ‘के खोज्छस् काना, आँखो’ भने झैं भयो ।
होस्टेल आएर सुतें । तर खोइ मलाई किन किन उनको बिनम्रता दिमागमा घुमिरह्यो । इन्टर्नहरुलाई प्राय: पाका सिस्टरहरुलेगन्दैनन् । ड्रेसिङको ट्रली पनि आफै गुडाएर जान पर्थ्यो । गज बेन्डेज दिने सहायक बन्न उनीहरु मान्दैनथे, कुनै बिद्यार्थीलाई पठाइदिन्थे । तर उनले टर्निकेट बाँधेर सहयोग गर्ने मात्र होइन मेरो कामै गरेर मलाई सहयोगको गुन लगाएकी थिइन ।
…….. …………
आखिर मान्छेको मनै त हो । कसैप्रति आकर्षित हुन बेर नलाग्ने । खै मलाई पनि थाहा छैन किन त कहिलेबाट म उनीबाट यति प्रभावित भएँ । तर त्यो बिभागमा पोस्टिङ सकिइसकेपछि पनि साथीहरुलाई भेट्ने बहानामा जान थालें । साथीहरुसँगको जमघटमा उनको बारेमा प्रत्यक्षरुपमा कसैसँग सोधनी गर्दा केटाहरुले अनावश्यक शंका गर्लान भनेर अरु स्टाफको बारेमा कुरा काटे जस्तो गरेर प्रतिक्रिया कुर्थें । मलाई थाहा थियो, तिल जत्रो कमजोरी पाए पनि केटाहरुले पहाड बनाएर उडाउन कसैलाई पनि बाँकि छाड्दैनथे । यदाकदा ‘एक जना सोझी र हिस्सी परेकी नयाँ फुच्ची आकि छ’ भन्ने बाहेक नकरात्मक कुरा सुन्न परेन ।
उ बेला मोबाइल थिएन । केही सिमित व्यक्तिसँग भए पनि न उसँग थियो न मसँग नै । सोच्छु, ऐले जस्तो छ्याप्छ्याप्ती मोबाइल भएको भए कति सजिलो हुन्थ्यो होला ! अझ फेसबुक भइदिएको भए फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएर धीत मरुञ्जेल फोटो हेर्थेँ होला ! ट्वीटरमा त झन् सजिलो, फेसबुकमा जस्तो रिक्वेस्ट एसेप्ट नगरे पनि चुपचाप फलो गर्यो, बिचार/भावना पढ्यो ।
त्यो वार्डको पोस्टिङ सकाएर अन्त पुगिसकेपछि बेलाबेलामा फोन गरेर सम्बन्ध जीवन्त राख्ने प्रयास नगरेको पनि होइन । बाटोमा ड्युटीतिर जान लाको देखेर एक दुई पल्ट वार्डको इन्टरकममा फोन पनि गरें, तर उताको ‘हेलो’ सुन्ने बाहे दोहोरो कुरा गर्ने हिम्मत जुटाउन सकिन। कुनै सरोकार नभएकोमान्छेसँग भड्याङभुडुङ बोलेजस्तो नहुने, अलिकति पनि मन परेको मान्छेसँग बोल्दा । नबोले पनि भाउ खाको जस्तो भइने, बोले पनि गफाडी वा ‘केटीको मुख देख्न नपाको’ भइएला भन्ने त्राहीत्राही ।
दिन यत्तिकै बित्न थाले । कथामा वा सिनेमामा देखिने प्रेमका भावना फगत फेन्टासी हुन् जस्तो लाग्थ्यो तर होइन रहेछ । टिनएज वा अर्ली ट्वान्टीको प्रेम पनि तेस्तै कल्पना-लोकको राजकुमार-राजकुमारीको जस्ते हुँदो रहेछ । हुँदाहुँदा आँखा चिम्लिँदा समेत उनीसँग बिहे गरेर घरजम गरेको, अफिसबाट फर्कंदा उनले चियाको कप लिएर मलाई कुरेको र हाम्रा बालबच्चा कस्ता होलान् भन्ने कल्पना गर्न थालिसकेको थिएँ म ।
उनको घर पनि मेरैतिर परेछ । जात बाहुन भए पनि बुझ्दै जाँदा थाहा भो, जैसी रैछिन । तर मनमन निश्चय गरें, मैले करै गरें भने बा-आमाले जैसी र उपाध्धेमा खासै ठूलो बिवाद गर्नुहुने छैन । अरुका छोराले तल्लो जातका त भित्र्या’का छन् वा बिदेश पढ्न जानेले उतैबाट ल्या’का छन् मैले त जैसी भए पनि बाहुनै आँट्या छु ।
मेरो बादल पारीको देशको कथामा सबै कुरा रेडी भैसके तर नायक नायिकाको प्रेम अभिव्यक्त हुन सकिरहेको थिएन ।
आफूलाई थाहा थियो, मन त मेरो संसारमै सबैभन्दा उत्कृष्ट होला, तर शरीर ? हो मलाई आफ्नो ज्यान देखेर कैलेकाहिं दिक्क लागेर आउँथ्यो । स्कुलको प्रार्थना लाइनमा पहिलो २-३ भित्रै पर्थें । स्कुलमा त सानैमा पढें, अरु साँढे भन्दा आफू नै टाँठो छु भनेर गर्व लाग्थ्यो, तर कलेज जान थालेपछि उचाइले धोका दिएकोमा मन अमिलो हुन्थ्यो । ८ कक्षामा पुगेपछि चस्मा पनि थपियो अनुहारमा । मेडिकल कलेजमा पुगेपछि पानी फेरिएर हो वा पढाइको प्रेसरले टाउकोको अगाडीको भागको रौं पनि चुरे बिनाश भए झै पातलिंदै गयो । तर पनि मनमा एउटा अदम्य कन्फिडेन्स थियो । “डाक्टर पो हुँ त यार । सुख र खुसी दुबै दिएर पाल्न सकिहाल्छु । नमान्न पर्ने कुनै कारणै छैन।” मेरो अध्याँरोको सुसेली ढाडस यहि मात्र थियो ।
होस्टेलमा जति हुर्हुरी कुराको आगो अन्त कतै लाग्दैन । दुई-तीन जना केटाहरुले रिजेक्ट खाएको खबरको गाइँगुइँ चल्न थाल्यो । यसो आफैंलाई दाँजे, म भन्दा हेन्डसम नै थिए ती । प्रस्तावितहरु पनि मेरी उनी भन्दा इन्फेरियर नै लाग्थ्यो मलाई । त्यसपछि मेरो ‘मोरल’ झन् ‘डाउन’ भो । अब एउटा गतिलो सारथी नखोजी नहुने भो, जसले मलाई यो प्रेमको कुरुक्षेत्रमा पार लगाओस् ।
….. …..
फिलिमहरुमा देखाएजस्तो लभगुरु त होइन, तर मलाई उ निकै स्मार्ट लाग्थ्यो, त्यसैले म उसलाई प्राय: ‘गुरु’ भनेर बोलाउँथे । कैहिलेकाहिं आफू उ जस्तो हुन पाए कति केटीलाई पछि लाएर कुदाउँदो हुँ जस्तो लाग्थ्यो । तर मलाई कुनै भिडलाई पछि लगाउनु थिएन । बस उनलाई जसरी भए पनि मनाएर, फकाएर वा टुनामुना लगाएरै भए पनि आफुसँग लिएर हिंड्नु थियो,जिन्दगीको गोरेटोमा ।
एकदिन उसलाई आफ्ना सबै कुरा भनें । मलाई थाहा थियो, उसको पोस्टिङ अचेल त्यहि वार्डमा चल्दैछ । पहिले त उबाटै कुरा क्लियर गर्न पर्ने थियो । तेति राम्री मान्छे प्रति न उ पनि आकर्षित पो भाको छ ? तर छैन रहेछ । म ढुक्क भएँ ।
अब मलाई झन सजिलो भो । गुरुको पोस्टिङ उसको वार्डमा । चिया खाने बेलामा, खाना खाने जाने बेलामा, घरीघरी तेता जान मलाई बहाना मिलिहाल्ने भो । तर दिनमा उनको ड्युटी पर्ने जम्मा ८ घन्टा । बडो बेचैनी बढ्न थाल्यो ।
गुरु मलाई ‘तलाइँ इन्फाचुयसन मात्र भा’को हो’ भन्थ्यो तर म मान्न तयार थिइन । मेरो समर्पण सहितको चोखो मायालाई उसले सतही आकर्षणको बिल्ला लाइदेकोमा मलाई रिस उठ्थ्यो । तर रिसाएर पनि के गर्नु ?
अब म मेरो गतिरोध निकासको लागि गुरुमा भर नपरी उपाय थिएन । कैलेकाहिं ड्युटीमा हुँदा उसले कर गरेरै भएपनि चिया खान क्यान्टिन सम्म लिएर आउँथ्यो । हुन त त्यो नियोजित हुन्थ्यो, तर हामी त्यसलाई सकेसम्म संयोग बनाउने कोशिष गर्थ्यौं ।
हुन त गुरु भन्दा म दुई चार महिना पैले नै त्यो वार्डमा पुगेको थिएँ र परिचय पनि मेरै पुरानो हो । तर ‘इमेज’ कसरी बनाउने वा कसरी बढी ‘इम्प्रेस्ड’ गर्न सकिन्छ भन्ने द्विविधामा रुमल्लिँदा रुमल्लिँदै म धेरै बोल्नै सक्दैनथें । म सकेसम्म चियाको सुर्को ढिलो लिन्थें, वा कोक खान थाले भने पनि पाइप माग्थें । कतिपटक त फारु गराउन मुखको कोकलाई फेरी फुर्ररsss पार्दै बोतलमा फर्काउँथें । तर मैले चाहँदैमा समय किन रोकिन्थ्यो र ? हामी छुट्टिने बेला हुन्थ्यो ।
मेरो देवदास पारासँग गुरुलाई पनि दिक्क लाग्न थालेको मानेको थिएँ । एकदिन उसले सुझायो – ‘हेर भाई यसरी धिकिल धिकिल भएर बाँच्न हुन्न । मर्द भएपछि जाबो आफ्नो कुरो केटीलाई भन्न डर मानेर पनि हुन्छ?’ हुन त यो कुरा साँचो थियो र मलाई पनि थाहा थियो। तर भन्ने कसरी ? दशैं, उसको बर्थ डे, न्यु इयर र अरु सानातिना मौकामा पनि आफ्ना मनका कुरा लेखेर दिन्छु भनेर किनेका कार्डको पनि मुठै हुन थालिसकेको थियो । भ्यालेन्टाइन पनि आउन थालिसकेको थियो । यसले गर्दा मलाई दवाब पर्न थालिसकेको थियो ।
गुरुले आइडिया निकाल्यो । ‘म मेरो बर्थडे भनेर ट्रिटमा बोलाउँछु । मजाले गफ गरम्ला । तेति बेला तैंलो आफ्नो कुरा भनेस ।’
आइडिया नराम्रो थिएन ।
‘यार तेरो बर्थडे आउन चार पाँच महिना बाँकि छ त ।’- मैले भनें ।
‘यो त कि तँलाई थाहा छ कि मलाई ! उसलाई के थाहा? राम्रो प्रयोजनको लागि त म बर्षमा ३६५ पटक पनि जन्मिदिन सक्छु । उसै पनि नाम मेरो भए पनि पार्टीको खर्च तेरै हो केरे !’
मौका पाएको बेलामा गुरुले रेट्न के बाँकि छाड्थ्यो र ! तर पनि आफ्नो स्वार्थको लागि मैले सहमतिमा टाउको हल्लाएँ ।
‘तर यार गुरु… भ्यालेन्टाइनको दिन नै बर्थडे भनेर पार्टीमा बोलायो भने त शंका भैहाल्छ नि !’ म प्लटमा कुनै कमजोरी नहोस् भनेर सचेत थिएँ ।
‘त्यसो भए, दुई दिनअघि, १२ फेब्रुअरीको लागि प्लान गरौं । त्यो दिन टेस्ट फ्लाइट हुन्छ, सफल भइस भने त पर्सीदेखि बादल माथि उड्न थालिहाल्छ्स् नि!’ गुरुको यो सकरात्मक कुरैले मात्र पनि मन रोमान्चित भयो ।
गुरुलाई अर्काको पैसोमा आफ्नो नामबाट पार्टी दिन बोलाउन के ठूलो काम थियो र ?साथीहरुसँग खाजा खाँदा एक प्लेट भररss म:म स्पोन्सर गर्न पनि काँप्ने मेरो मुटु आफ्नो प्रेमको खातिर रिसोर्टमा ट्रिट दिन सक्ने गरि उदार भएको थियो ।
साँझ ६ बजे हामी निर्धारित ठाउँमा पुग्यौं ।
मुटुको ढुकढुकी ‘दमाहा ठोके झैँ’ भैरहेको थियो । तर उनी निकै पंक्चुअल रैछिन । बडो टाइममा आइपुगिन । खोकिलामा एउटा पातलो पातलो पाकेट पनि थियो । सायद गिफ्ट थियो त्यो । मिठो लयमा ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै गुरुलाई उक्त पाकेट थमाइन ।
कुनै केटाले बोलाएको समारोहमा एक्लै सरिक हुन अप्ठेरो लागेर होला, उनको एक जना साथी पनि साथमा थिइन् । साथी हाम्रो लागि पनि परिचित थिइन् । बिल बढ्ला भन्ने बाहेक अरु कुरामा बिस्मात हुनुपर्ने कारण थिएन । हुन त केटीहरुले कति नै खान्छन र !
अर्डर गरियो । म चाहिने भन्दा बढि सजग भएर लत्रिरहेको थिएँ । त्यो रिसोर्टमा कैलेकाहिं अरुले बोलाएको पार्टीमा गएर एक दुई पेग नहानेको त होइन । तर फस्ट डेटमै बियर खाँदा जँड्याहा भइएला भनेर मैले बियर खाने मन मारें । गुरुले उनीहरुलाई पनि वाइन प्रस्ताव गर्यो तर उनीहरुले सफ्ट ड्रिंक्स भन्दा माथि बढ्न मानेनन् । गुरुलाई त के थियो र, मस्त बिदेशी मगाएर दुई पेग लायो, न उसलाई इमेजको फिक्री न बिल तिर्ने टन्टा !
दुई पेगपछि गुरु झन् खुल्दै गयो । सुनसान बिच औपचारिक कुरामा झुलिरहेको वार्तालाई केहि जीवन्तता दियो ।
टेबुल मुनीबाट लात हानेर मलाई कुरा गर्न उ प्रोत्साहन गरिरहेको थियो । कमसेकम कुरा ट्र्याकमा आओस भनेर उसले बिषय उठान नगरेको पनि होइन । तर मैले त्यसलाई समातेर अगाडी बढाउन सके पो !
यत्तिकैमा उनीसँग आएकी सँगी ‘एक छिन है’ भन्दै रेस्टरुम तिर लागिन् । गुरु पनि खानाको बारे यसो निर्देशन दिन पर्यो भनेर काउन्टर तिर लाग्यो । मलाई थाहा थियो, गुरुको यो ‘सेटिङ्ग’ मलाई र उनलाई एकान्त माहोल दिनको लागि थियो भन्ने ।
लनमा रहेको हाम्रो टेबुलमा आएको मधुरो प्रकाशले उनको अनुहार झन सुन्दर देखिएको थियो । पृष्ठभुमिमा कलियुग भन्ने फिल्मको ‘जिया धडक..धडक..’ बजिरहेको थियो । सुन्यतालाई चिर्न जति प्रश्न मैले सोधेको थिएँ, ति मैले कयौं पटक सोधेको थिएँ जस्तै, ‘घरमा को को हुनुहुन्छ, कहाँबाट पढेको, अब यहाँ कति काम गर्ने, बिएन कैले गर्ने अनि डर मानि मानि सोध्थें- बिहे कैले गर्ने नि ?’ मलाई यी सबको जवाफ पनि थाहा हुन्थ्यो । मुल कुरो गर्न भनेर धेरै पटक ‘अहम्ssss’ घाँटी सफा गरें । तर अहँ… वाक्य आएर किलकिलेमै ठप्प भैदिन्थ्यो, नागढुँगाको जाम जस्तो । मुख प्याक्क परेर सुक्थ्यो बर्खामा जरुवा पानी पलाउने कुवा बैसाखमा सुकेजस्तो । ओठमुख कलेटी पर्थ्यो, चैतमास खेतमा धाँजा फाटेजस्तो ।
दुई गिलास पानी पिएँ तर अहँ कुरा निस्केन ।
सँगी यता आउन खोज्दैथिइन, तर गुरुले बिचमै कुराले अपहरण गरेर अन्तै टिपेर लग्यो । सायद मलाई थप समय दिन होला । तर अहँ जति नै समय पाए पनि मैले सकिन ।
डिनर आयो । खाइयो । बिल आएपछि गुरुले भन्यो – ‘डिस्काउन्ट गराउनुपर्छ यार, हिँड काउन्टरमा गएर कुरा गरौं ।’
त्यो त बहाना मात्र थियो । अलि पर पुग्ने बित्तिकै उसले निकै उत्सुक भएर सोध्यो – ‘के भयो ? भनिस त ?’
म लाजवाब थिएँ । ‘यार मैले सकिन । तँ भन्दे न !’ भावना लगायत पैसाको लगानी प्रसस्त भैसकेको हुँदा म अवसर गुमाउन चाहदैथें।
फर्कंदा रात छिप्पिसकेको थियो । अरु बेला भए ट्याक्सीमा फर्किन्थ्यौं होला । तर मुल काम बाँकी नै भएकाले बिच बाटोसम्म हिंडेरै जाने सल्लाह भयो ।
‘ग्रान्ड डिजाइन’ अनुसार म सँगीसँग गफिन थालें । गुरु र उनी केहि अघि थिए । ओहो कति फरक अनुभव ! लेना देना नभएको मान्छेसँग त म पनि स्वच्छन्द तरिकाले गफिन सक्दोरहेछु ।
एक मनले सोचें यिनै सँगी मार्फत भए पनि सबै कुरो भन्छु । तर आफ्नो मनलाई रोकें ।
‘कति राम्रो देखिएको है यो जोडी?’ हामी भन्दा केहि अघि हिंडिरहेका गुरु र उनी तर्फ इंगित गर्दै सँगीले भनिन । मलाई झनक्क रिस उठ्यो । तैपनि आफुलाई सम्हालें जसोतसो ।
‘कसैलाई नभन्नुस है… तर मेरो साथीलाई तपाईको साथी निकै मनपर्छ । कति पटक भन्ने कोशिष गरिसकी तर सकेकै होइन त्यो बुद्धुले । गिफ्ट त अघि दिई तर ग्रिटिङ भने दिनै सक्या होइन । त्यो ब्यागमै बोकेर हिंड्या छे ।”
मेरो आँखा अगाडी अँध्यारो छायो । टेकेको जमिन भसिए जस्तो लाग्यो । रुद्रघण्टी मुनि कसैले च्याप्पै समाते जस्तो लाग्यो । दिसा आउला आउला जस्तो, पिसाब चुहिएला चुहिएला जस्तो भयो । बडो अवर्णनीय अवस्थामा पुगें ।
‘एकछिन है । म एउटा मिनरल वाटर किनेर आउँछु ।’
म नजिकैको किराना पसल तिर लागें । सँगीको आँखाको ओझेल पारेर उनलाई दिन भनेर ढाड पछि घुसारेको ग्रिटिङ कार्ड जतनसाथ डस्टबिनमा बिसर्जन गरें र दिएँ मेरो पहिलो असफल प्रेमलाई दागबत्ती !
उनीहरुसँग छुट्टिने बित्तिकै उसले भन्यो- सरी यार मैले भन्दा राम्रो होला जस्तो मानिन । बरु तँ नै मिलाएर भन्नु कुनै दिन ।
‘अनि के कुरा गर्यौ त त्यहाँ तिमीहरुले ?’
‘उ त चुपचाप नि ! अघिको बिदेशी दुई पेगले काम गर्यो । बाटो कटाउने गफनिकालेर । तँ सँगीसँगै व्यस्त भइस् केरे ।’
म सँग कुनै उत्तर थिएन ।
साथी र म कोठा पुग्यौं । गिफ्ट खोलेर हेर्यौं ।
‘कार्ड चैं राख्ने सुद्धि आएन है ?’ त्यहाँ छैन भन्ने थाहा पाएरै पनि मैले अबोध बनेर सोधें । बाटोमा सुटुक्क दिएकि भए गुरुले भनिहाल्ला र त्यो नहेर्न कुनै बहाना पारेर बाहिर निस्कौंला भनेर ।
‘अहँ !’
मन अलिकति भए पनि हलुका भयो ।
‘यार मलाई निद्रा लाग्यो, गएँ म सुत्न ।’ बिचरा गुरुको कुनै दोष नभएपनि एक असफल योद्ध झै मलाई गुरुको सफलतामा माथि डाहा लाग्न थालेको थियो ।
जाडोको मौसम भएपनि कोठामा गएर फुल स्पिडमा पंखा लाएँ । पंखाको गति सँगै मनमा बिचारहरु हुँडलिन थाले – कतै मेरो ‘प्रोक्सी प्रस्तावक’ गुरुले उनलाई मेरो कुरो भनेको भए वा संगीले वास्तविकता बताउनु भन्दा पहिले मैले उनलाई आफ्ना कुरा भनेको भए ?
(स्रोत : Unn.com.np)