“राजनीति समाजको ऐना हो” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो।
“साहित्य समाजको ऐना हो” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो।
“धर्म र संस्कृति समाजको ऐना हो”– अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण गर्यो।
“चलचित्र र फेशन समाजको ऐना हो” – रसिला र भरिला युवायुवतीहरूको कुरा सुनेर खेत खनिरहेको रामअवतारलाई आफ्नो –त्यो उमेरको मीठो सम्झना आयो।
“शिक्षा समाजको ऐना हो ……….”– रामअवतारले भारी कस्दै दर्जनौँका आ–आफ्ना डम्फूहरू सुनिरहृयो। दिनभर कामले लखतरान परेको ऊ र आन्द्रा चिथोरिरहेको उसको अभिन्न मित्र भोकलाई गर्हौँ भारीले बिर्साइदिएको थियो।
बाटोमा आफूजस्तै कमैया रामजवहरको घरमा पसेर जौँको जाँड खाँदै उसले गफ हाँक्न थाल्यो – “लौ हेर मेरा हातका ठेला र नीलाडामहरू …………मेरो यो हात नै हाम्रो समाजको सक्कली ऐना हो।”
(स्रोत : NepaliLaghukatha.com )