‘लोकतन्त्रमा हाम्रा कुरा पनि सुनिनु पर्दछ !’ दुइचार कुकुरको अगाडि एउटा कुकुरले के भुक्याथ्यो टोलका सारा कुकुर जम्मा भएर हो मा हो लगाउँदै भुक्न थाले ।
एकैछिनमा त्यहीँ उनीहरुको मिटिगं बस्यो ।
– ‘हाम्रो वासस्थान सडकमाथि दिनहुँ हुने हड्ताल जुलुस, गस्तीले अतिक्रमण गरेर हामी विस्थापित भएका छौं ।’ यसका विरुद्धमा हामीहरुले पनि जुलुस निकाली सिंहदरवार घेर्नु पर्दछ ! एउटा युवा कुकुर भुक्यो ।
– ‘हामी कुकुरहरुलाई नश्लको आधारमा मात्र हैन वर्गको आधारमा पनि विभाजन गरिएको छ । कोही महलमा बस्न,े कोही सडकमै जीवन बिताउने । अब हामीले जातिय र वर्गिय संघर्ष चर्काउन सशत्र आन्दोलन गर्नु पर्दछ !’ अर्को क्रान्तिकारी जोडले भुक्यो ।
–‘हाम्रो नाम मानिसहरुले बदनाम गरिरहेका छन् । एक आपसमा झगडा गर्दा, गाली गर्दा कुकर शब्द प्रयोग गर्दछन् । यो हाम्रो जाति प्रतिको अपमान हो । यसका बिरुद्ध हामीले बौद्धिक आन्दोलन चलाउनु पर्दछ !’ ठुलो टाउको भएको अर्को कुकुरले विस्तारै भुक्यो ।
………………….।
– ‘जति कराए नि हामी सधैं कुकुर नैं हौं । यो घेराउ, आन्दोलन, संघर्ष आदि मान्छेहरुले पो गर्छन त । हामी कुकुरहरुमा पनि मान्छे प्रवृत्ति हावी हुन थाल्यो ।’ एउटा बुढो कुकुरले चिन्ता ब्यक्त गर्यो ।
(स्रोत : NepaliLaghukatha.com )