~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
उल्झन थियो मोडहरुमा । काँडेतारको बन्दी गृहमा आस्थाको बन्दी म । प्रतिवाद गर्न सक्ने सामर्थ रत्तिभर थिएन । अभिव्यक्त भावनाहरु ती अन्धकारमा शुन्यमा बिलाउथे । मेरो क्रन्दन,चिच्चाहट,आग्रह र अनुरोध त्यो पापी आत्माले पटक्कै सुनेन वा सुनेर पनि अर्को कानले हावामा उडाइ दियो । मैले गरेको सत्कार्यको परिणाम स्वरुप धोका,बिश्वासघात र कृतघ्नको उपहार प्रदान गरिएको थियो तर म बिरुद्ध गरिएको एक एक षड्यन्त्रलाई चुपचाप सहनुको बिकल्प थिएन । मेरो ह्रदयको फिरादपत्रले सम्बन्धित न्यायलयमा जाहेरी व्यक्त गर्न नपाउदै बिचैमा च्यातिएको थियो ।
‘यो सरासर चोरी हो न्याय महोदय !’
‘कसरी ? दसी के के छन् ?’ न्याय मुर्तीको कालो कोटलाई प्रश्न थियो ।
‘लोप हुन लागेका सबै लाक्ष्यणिक कुराहरु यसले एकमुष्ठ राखेको थियो ।’
लेघ्रो तान्दै उनी बम्किए ‘यसले यो घोर कालीयुगमा सबैसंगै पारार्थी भावना राख्यो । सज्जन बने,कुनै अनैतिक काम गरेन । सबैसंगै हार्दिकता प्रकट गर्यो । सहयोगी भएर उदार ह्रदयले करुणालाई फैलायो । दया,माया,सेवा,सत्य र अहिसालाई सधैं आफ्नो बनायो । सहनशिल र सुशिल भएर कार्य सम्पादन गर्यो । महोदय ! यसको कर्म अनुसार घृणाको सहनाइ बजाउदै मोह,क्रोध र लोभको दहमा डुवाएर मृत्युदण्डको सजाए दिनु पर्छ ।’ उज्यालो अनुहारमा क्षुद्र शब्दहरु साँच्चै सुहाएको थियो ।
‘अरु ?’
‘मृत्युदण्डको सजाय सुनेर पनि मौनताका साथ नम्रतासहित उभिएको यस्तै दोष नै कलियुगको बिड्म्बना हो । यो मृत्युदण्डको सजाय पाउन सबैभन्दा सहि हकदार हो ।’
न्याय सम्पादकले हुन्छ भन्ने पक्षमा लालमोहर लगाए ।
उफ्फ ! कस्तो सपना देखिएछ बिहानीपख । हड्बडिदै म ओछ्यानबाट उठे ।
(स्रोत : NepaliLaghukatha.com )