केही स्वस्तिकहरू सत्ताबाहिर थिए | तिनले सत्ताभित्र रहेकाहरूका हर्कतहरूका बारेमा रौँचिरा विश्लेषण गरे | सत्तासीनहरूका सानाठुला कमजोरीहरूका बारेमा उछाले | सत्तासीनहरूले स्वस्तिकहरूलाई भने – ”झूल बाहिरका लामखुट्टेहरू !”
स्वस्तिकहरूका कामले रङ ल्यायो | सत्तासीनहरू ढले र सत्ताबाहिर पुगे | सत्तारूढ भए स्वस्तिकहरू |
सत्तामा रहँदाबस्दा स्वस्तिकहरूले पनि त्रुटी गरे – कुनै क्षम्य कुनै अक्षम्य | सत्ताबाहिरकाहरूले विरोधका फणा उचाले | स्वस्तिकहरूले सत्ताको राम्रो सदुपयोग गरे र विरोधीहरूका पसिना छुटाए | विरोधीहरूको मुख बन्द भैसकेपश्चात् स्वस्तिकहरूले आफ्ना शुभचिन्तकलाई भने – ” झूल बाहिरका लामखुट्टेहरू !”
२०७१ फागुन ३
(स्रोत : Facebook – लघुकथा कुनो )