~हरिप्रसाद भण्डारी~
दुईजना पत्रकार सडकको किनारमा रहेको चियापसलमा बसेर चिया पिइरहेका थिए। एक्कासि सडकतिरबाट आएको हल्लाले उनीहरूको ध्यान पनि उतै मोडियो। वरपरका मानिसहरू छिटो छिटो आवाज आएतिरै गइरहेका थिए। ती पत्रकारहरू पनि बसेको ठाउँबाट उठे र सडकतिरै लागे।
उनीहरूले देखे― साधारण कपडा लगाएको एउटा युवक अव्यवस्थित रूपमा सडकको किनारमा लम्पसार परिरहेको थियो। त्यसमाथि एउटा सुकिलो कपडा लगाएको मोटो मानिस र अर्काे एकजना प्रहरी जवानले निष्ठुरी तरिकाले लात्ताले हानिरहेका थिए।
भीडलाई हटाउँदै दुवैजना पत्रकार अघि बढे र त्यो निर्दयी प्रहार रोक्दै कारण जान्न चाहे।
“साला, अधिकार चाहियो रे। तलबले खान पनि पुगेन रे। कामअनुसारको पारिश्रमिक चाहियो रे। यसलाई खान पुग्नेगरी तलव दिने ठेक्का लिएको छु र मैले? कारखानाका भएभरका मजदुर भाँडेर नेता बन्न खोज्ने पाजी….।” सुकिला कपडा लगाएको मान्छेले कड्कदै भनिरहेको थियो र प्रहरीले पनि अनौठो तरिकाले मुखमिठ्याउँदै समर्थनमा टाउको हल्लाइरहेको थियो। उता कुटाइखाने युवकको स्थिति दयनीय देखिन्थ्यो। उसका मुखबाट रगत बगिरहेको थियो।
दुवैजना पत्रकारले उक्त घटनाको विवरण आ–आफ्ना डायरीमा टिपे।
अर्काे दिन पत्रिका बेच्ने केटाहरूको आवाज यस्तो थियो― “एक निरपराध मजदुर युवकमाथि कारखाना मालिक र प्रहरीद्वारा साङ्घातिक हमला।” र अर्काेतर्फबाट आवाज आइरहेको थियो― “मजदुर भाँडेर नेता बन्न खोज्ने व्यक्ति गिरफ्तार।”
Sat, 9 Jul, 2011
(स्रोत : NepaliLaghukatha.com )