आज राती सपनामा
फेरि पढेछु मैले
उही ‘मधुमालतीको कथा’
त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो
प्रेमको वायुपङ्खी घोडामा
मपनि तिमीलाई लिएर उडिरहेको थिएँ
माथि आकाशतिर….. ।
‘मलाई थाह थियो
आकाशमा हामीले पूज्ने भगवानहरु छन्
भगवानले निर्माण गरेको
त्यही ईश्वरीय संसारमा
हामीले पनि खडा गर्नुछ पवित्र प्रेमबस्ती ।’
सायद यस्तैयस्तै इन्द्रेणी सपनाको
सप्तरङ्गी यात्रामा
लाखौं ताराहरुसँग लुकामारी खेल्दै
म उक्लिरहेको थिएँ
त्यही सुन्दर चन्द्रमाको गाउँतिर ।
माथितिर उडिरहँदा आकाशमा
तलतिर देखिन्थ्यो
हामीलाई सँधै उपेक्षा गर्ने
प्रेमको बञ्जरभूमि
र ससाना खलनायकी पहाडहरु
हामी उड्दा आकाशमा
हाम्रै साथमा देखिन्थ्यो
प्रेमिल ऐश्वर्यको चौधभूवन
र हामीले परिकल्पना गरेको
सुन्दर स्वर्गको अलौकिक आभा ।
प्रेमिल स्वतन्त्रताको
त्यो युगलयात्रामा
तिम्रो बुलबुले मुस्कान
र चलबुले साउतीको अविस्मरणीय छटामा
मैले गाँस्दै थिएँ भावनाका गुच्छाहरु
र सुनाएको थिएँ तिमीलाई प्रेमका संगीतहरु ।
यसरीनै आकाश गंगाको भित्रभित्र
हामी उडिरहेका थियौं
प्रेमको त्यही वायुपङ्खी घोडामा ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘मा पठाईएको । )