ओ महाशय !
तिमीले कसरी भन्यौ ?
मेरा खाली पैतला हेरेर
मेरा पैतलाको धुलो यो देशको होइन !
कसरी भन्यौ ? मेरो होइन भनेर
पसिनाले भिजेको टोपी
ठाउँ ठाउँमा टालेको भोटो
सधैँ देश दुखिरहने यो छाती
हिमाल पग्लिरहने यी नयनहरू
र कसरी भन्यौ ? –मेरो होइन भनेर
हरेक रात हिमालतिर यात्रा गर्ने
मेरो देशको सिमाना
यसरी तिमीले
मेरो स्वाभिमानमा धावा बोलेको दिन
आज म सम्झिरहेछु
तिमीसँगका
आधा रङ्ग पोतिएको क्यानभास जस्ता
अधुरा सम्झनाहरू
र पढिरहेछु तिम्रो विगत र वर्तमानको
असरी अनुहार
सायद तिमीले– कहीँ कतै सुनेनछौ
मेरा पुर्खाको वीरताको कथा
पढेनछौ– गौतम बुद्ध, भृकुटी र
देशको सुरक्षा खातिर उभिएका
हिमालहरूको इतिहास
तिमीलाई लाग्यो होला
आफ्नै आँगनमा शरणार्थी बनेको देखेर
विक्रीमा राखेको छु इमान
लिलाममा चढाएको छु स्वाभिमान
तर महाशय !
यतिवेला म
तिमीलाई जवाफ दिन
वर्षौं अघि बाजेले रोपेको बर
र बुवाले चिनेको चौतारोमा बसेर
कोरिरहेछु देशको नयाँ सिमाना र
लेखिरहेछु मेरो देशको
लेख्न बाँकी इतिहास !
नेपाल प्रज्ञा प्रतिष्ठानले २०७१ मा आयोजना गरेको राष्ट्रब्यापी कविता प्रतियोगितामा पहिलो भएको कविता ।
(स्रोत : Unn.com.np)