~छविरमण सिलवाल~
सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ ? मैले भने, बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानका लागि यो गाडी कराएको हो । यसलाई सबैले बाटो छाडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो गर्यो र ए ….मात्र भन्यो ।
केही दिनपछि अगाडिरपछाडि गाडीको लाइन लगाएर साइरन बजाउँदै गाडीको लर्को कुद्दै थिए । चिल्लो गाडी चाहिँ बीचमा थियो । सडकपेटीबाट म छोरोलाई स्कुल पुर्याउँदै थिएँ । फेरि उसले सोध्यो , आज त बिरामीहरू धेरै भएछन् नि बाबा ! पुलिसहरू पनि रहेछन् । बिरामीहरूलाई सुरक्षा पनि चाहिन्छ बाबा ? एकै श्वासमा भन्यो । उसको जिज्ञासालाई शान्त पार्दै मैले भनेँ,बाबु यिनीहरू बिरामी होइनन् । देशका ठूलामान्छे हुन् । ठूला मान्छेहरूको सुरक्षाका लागि पुलिसहरू अघिपछि लागेका हुन् । उसले केही बुझेजस्तो गरेर भन्यो- उनीहरू त सधैँ बिरामी नै हुन्छन् कि क्या हो बाबा ? सधैँ एम्बुलेन्समा चढ्दा रहेछन् ।
(स्रोत : Ennnepal.com)