कथा : आकस्मिक प्रेम

~संविदा राजभण्डारी ‘श्रेष्ठ’~

एउटा असाधारण अनुभवले आज दिनभरि नै गिजोलिरह्यो मलाई । म मेरो श्रीमान्को बहुपासमा गम्ल्याङ्ग अङ्गालो हालेर रुँदै भन्दै थिए, “बाबा, टिटु उड्यो, गयो मलाई छाडेर ।” सायद म अलि बढि नै भावुक भएको थिए ।

भल्नेरेवल । अंग्रेजीमा जसलाई भल्नेरेवल भनिन्छ । घरका अन्य सदस्यहरू अनौठो मानेर हेरिरहेका थिए मलाई । भन्दैथिए, “एउटा जाबो चराको लागि पनि कति इमोस्नल भएको…” आदि–इत्यादि । म चाहिँ आफै भित्र सम्पूर्णता खोज्नमा ब्यस्त थिए । फ्रेडरिक नित्से, एक प्रसिद्ध अंग्रेजी दार्शनीकले भनेको जस्तो– सम्पूर्णता जहाँ संसारका हरेक चिजसँग एक हुनुको अनुभव, जुन मान्छेले कमै अनुभव गर्न सक्दछ । उनले यसको उदाहरण रुखका पातहरूसँग जोडेका छन् । उनले भनेको जस्तो संसारका सबै पातहरूलाई जसरी एकै साथ प्रस्तुत गर्न गाह्रो छ, त्यस्तै संसारका हरेक ठाउँको, चिजको अवस्था बुझ्न गाह्रो छ । समय अनि अवस्था, यी दुई चिजबाट मान्छे, सामान्य अवस्थामा पार पाउन सक्दैन । म यही असाधारण अनुभवलाई महसुस गर्न खोज्दै थिए । टिटुको दृष्टिकोणबाट संसार हेर्दै थिए…

***

बाटो सुनसान थिएन । यती चहलपहल थियो कि, मानौं सबैजना दौड प्रतियोगितामा भागलिन सामेल भएका छन् । म पनि एक प्रतिद्वन्दी जस्तै । सधैं हतारिएको, आतुर हामी । खै के खोज्छौं हामी जीवनभर ।
केही पाइला अगाडि हिंडे पछि म टक्क अडिए । देखे एउटा परेवा उधोमुन्टो परेर एउटा पसलको अगाडि पखेटा फडफडाउँदै छट्पटिरहेको । दर्जनौं मोटरसाइकलहरू पसल अगाडि लाइनै तेर्साइएका थिए । केही मानिसहरू पसलको अगाडि क्यारमबोर्ड खेल्न व्यस्त देखिन्थे । म मानिसको भिडमा मान्छे खोजिरहेको थिए–कति समय अगाडि देखि यो निरिह प्राणी यसरी छट्पटिरहेको थियो होला । अनि कति मानिसको लागि यो चासोको बिषय बनेको थियो होला ।

हठात् गएर मैले त्यो चरोलाई हातमा राख्न समेत सकिन । किन हो एक किसिमको डर लाग्यो मनमा । यो उसँग कम मृत्युसँग ज्यादा हो की, अझै पनि त्यो बिशाल आवेगलाई म यही हो भनि भन्न सक्दिन । म बिस्तारै गए अनि त्यो टाउँको तल, खुट्टा माथि पारेर बिचल्लीमा परेको चरालाई मैले सोझो उभ्याए । उ सोझो त भयो, तर सकि नसकि मबाट भागेर अलि पर एउटा मोटरसाइकलको कुनामा लुक्न खोज्यो । त्यतीखेर त्यो परेवा भन्दा म बाध्य देखिन्थे–कसरी बुझाउँथे म तिम्रो मृत्यु होइन, जीवन हुँ भनेर ! मैले हेर्दाहेर्दै फेरि पनि त्यो उधोमुन्टो प¥यो । मैले उसलाई त्यही हालतमा हातमा लिएर दायाँ बायाँ कहि पनि नहेरिकन घरतिर लागे । मेरो हातमा आउनासाथ त्यो अलि ब्युतियो । उसको मुटुको धड्कन एकदम तेज थियो । ओहो, मेरो पनि त मुटुको धड्कन त्यती नै तेज थियो । मैले मेरो अनि उसको मुटुको धड्कनको तेज एकैनासले बढेको महसुस गरे ।

***

घर पुग्नासाथ मैले उसलाई पानी ख्वाए । पानी खाएपछि उसमा केही ताकत आए जस्तो देखिन्थ्यो । मैले कम उचाईबाट उसलाई उडाउन खोजे तर उ उड्न सकेन । उ लर्बराउँदै बल्ल बल्ल भुँइमा अवतरण भयो । त्यो चरा साच्चै नै बिरामी थियो । कुनै नाङ्गो तारमा पो करेन्ट लागेको हो की, कसैको गुलेलीको प्रहारले पो उसलाई घाइते बनाएको हो की…म गम खान थाले । बिचरा, कति अभागि जीवन यसको ! मैले उसको अगाडी चामल छरिदिए । ऊ केही दुरी हिंडन त सक्थ्यो तर हिंडेर कुनातिर बस्थ्यो । घण्टौं–घण्टौंसम्म एउटै कुनामा केही नखाई, केही नपिई । ऊ त्यही नै बसिरह्यो ।

अर्को दिन बिहान उठ्ने बित्तिकै मेरो पहिलो प्रश्न यही थियो–टिटु के गर्दैछ ? हत्तपत्त गएर हेरे । टाढैबाट देखे ऊ पहिलाजस्तै उधोमुण्टो परेर हलचल नै नगरि बसेको । म चिच्याउँदै रुन थाले,“बाबा, परेवा म¥यो !” महेश, अर्थात् मेरा श्रीमान् आत्तिंदै, कुद्दै मेरो सामु आए । म छाद हालेर रुन थाले । मेरो हालत देखेर महेश छक्क पर्दैथियो । उ केही नबोली परेवा भएतिर लम्क्यो । उ हाँस्दै परेवालाई सोझ्याउँन थाल्यो,“काँ, सम्बी परेवा मरेको छैन, हेर त ।” साच्चै नै, परेवा मरेको हैन रहेछ, ऊ त पहिले जस्तैै जीउ थाम्न नसकेर उधोमुण्टो परेर लडेको पो रहेछ ।

हत्तपत्त मैले त्यसलाई समाएर एउटा कार्टनको बट्टाभित्र हिफाजतका साथ राखे । मेरा आँखामा आँसु अझै टलपल हुँदै बग्दै थिए । तर अनुहार भने हाँसोले थोरै खुम्चिएको थियो ।
त्यसपछि, मैले उसको नाम ‘टिटु’ राखिदिए ।

***

तेश्रो दिन टिटुले अनौठो ग¥यो । दुई दिनसम्म लगातार त्यही कार्टनको बट्टामा एक तपस्वी भिक्षुजस्तो समय बिताए पछि सायद उसलाई पट्यार लागेर होला, उ बट्टाबाट निस्कनसम्म सक्ने भयो । भुर्रर उडेर बट्टाबाट निस्कदै टिटु, टुकुटुकु कोठैको जताततै हिड्न थाल्यो । मैले गालि गरेर च्याप्प समाएर फेरि बट्टामा नै थचारिदिए । टिटु अब के मान्थ्यो । उ पटक्कै बट्टामा बस्न माने पो ! कहिले बाथरुम, कहिले बैठक त कहिले बेडरुम, टिटुको भ्रमण शुरु हुन थाल्यो । तर टिटु उड्न भने सक्दैनथ्यो । जति भ्रमण गरे पनि एउटा कुनामा गएर ऊ घण्टौंसम्म भुक्क परेर फुलेर बसिराख्थ्यो ।

घरका मान्छेले बर्डफ्लु होला, नराख भने । घरपटि आमैले परेवाको मासुले रोग निको हुन्छ, काटी खानुपर्छ भने । सायद हामी मानिस जातीको स्वभाव भनौं या कमजोरी भनौं ऊ आफूलाई संसारकै केन्द्र र बुझक्कि ठान्दछ । आफ्नो मात्र एक्लो सासन चलाएर अन्य प्राणीलाई विकेन्द्रमा पार्नु हाम्रो बानी भैसकेको छ । बर्डफ्लु, माहामारी फैलिएको ताका सम्झिए– करोडौं कुखुरा र पक्षीहरूलाई जिउँदै ग्यास च्याम्वरमा भुटिदिने, जिउँदै गाडिदिने जस्ता कामहरू विश्वका अति सभ्य मानिने देश जस्तैः ताइवान, जापान, आदि देशमा गरिएका थिए । धन्य उनीहरूले बर्डफ्लु फैलने डरले मान्छेहरूलाई नै ग्यास च्याम्वरमा जिउँदै भुटेनन्, जिउँदै गाडेनन् ! त्यसो हुँदो हो त संसारमा क्रान्ति नै हुने थियो होला नि…
कम्तिमा म टिटुलाई बर्डफ्लूको नाममा आहुति दिने कुरामा सहमत थिइन । र थियो घरपेटी आमाको प्रस्तावको कुरा, त्यो त मेरो दिमागमै थिएन ।
टिटुमा समय अन्तरालमा धेरै परिवर्तन आइसकेको थियो । मानौं हरेक दिन उसको एउटा नयाँ चर्तिकला हेर्न पाइने दिन हुन्थ्यो । पाँचौं दिन टिटुले आफ्नो उडान भ¥यो । ऊ कोठैभरि उड्न थाल्यो । त्यो दिन मेरो मन पनि खुशिले टिटुजस्तै उडेको थियो । टिटु कहिले उडेर कोठाको ट्युवलाइटमा, त कहिले झ्यालको ग्रिलमा बस्न थाल्यो । तर उसको मनपर्ने ठाउँ चाहिँ ढोकाको माथिल्लो खापा थियो । कोठा भरि उडान भरेपछि ऊ बिस्राम गर्न त्यही ढोका माथिको डिलमा बस्थ्यो । उ त्यहाँ घण्टौंसम्म डेग पनि नचलाई बस्थ्यो र पिच्च–पिच्च तलतिर बिस्टाउँथ्यो ।

दिउँसोको खाजा खाने बेला भएको थियो । महेश र म दालमोठ खान थाल्यौं । दालमोठमा सानो–सानो केराउका दाना थिए । मैले ला आइज भनेर केही केराउका दानाहरू भुँइमा गुडाइदिए । त्यसपछि त टिटुले झन् चकित पा¥यो । उ साच्चै नै ढोकाको डिलबाट भुर्रर तल झरेर ती केराउका दानाहरू भकाभक टिप्नथाल्यो । धेरैदिन पछि आज बल्ल टिटुले अन्नको दाना टिप्यो । हामी दुई बुढाबुढीलाई सबैभन्दा अनौंठो त्यतीखेर लाग्यो जब टिटु दाना टिप्न त्यहाँबाट ओल्र्यो र कपाकप केराउका दानाहरू खायो । हामी बुढाबुढी एकर्काको अनुहार हेर्दै ट्वाल्ल प¥यौं र टिटुतिर हे¥यौं ।

***

प्राय महेश नभएको बेला पारेर ऊ त्यहाँबाट ओर्लन्थ्यो । ऊ ओर्लने बित्तिकै म हतार–हतार भातका सिताहरू छरिदिन्थे । परेवालाई के मनपर्छ, परेवाले के खान्छ मलाई थाहा थिएन, तर म प्राय भात नै दिने गर्दथे ।
टिटुलाई अरु कोठाहरू भन्दा भान्सा कोठा नै मनपथ्र्यो । त्यही ढोका माथिको डिल उसलाई संसार भरिको प्यारो ठाउँ लाग्दो हो । कोठाको झ्यालढोका प्राय सधैं खुल्ला रहन्थे । तर अचम्म टिटु त्यो कोठाबाट कहिल्यै बाहिर गएन । उ आफै भागेर जान खोज्ने भए धेरै टाढा पुगिसक्थ्यो । तर खै किन हो, उसले कहिल्यै त्यो प्रयास नै गरेन…
त्यो दिन टिटुको बिशेष दिन । बिहानै देखि मैले र महेशले सल्लाह गरिसकेका थियौं । हामीले पानी मनतातो हुनेगरि ततायौं । महेशले टिटुलाई च्याप्प समात्यो । अनि मैले टिटुलाई नुहाईदिए । हेर्दाहेर्दै टिटु सफा र सुकिलो देखियो । सुकेपछि त टिटुको शरिरको सेतो रंग अनि घाँटिनेरको छिर्विरे खैरो रंग अझै प्रस्ट देखियो । अब भने उ ठाटिलो देखियो ।
घण्टौंसम्म एकैठाउँमा बस्ने, झ्याल–ढोका खुल्लै देखेर पनि भागेर जान नखोज्ने टिटुको प्रवृति देखेर म दङ्ग थिए । एक मनले सोच्थे, टिटु अब हामीसँगै बसिदिए हुन्थ्यो । सधै यसरी नै । परिवारको एक अर्को सदस्य जस्तै । तर ऊ घण्टौंसम्म एकै ठाउँमा घोत्लिएर दिनभरि खै के खोचेर बस्थ्यो, सायद उ परिवारको बारे सम्झन्थ्यो कि ! सायद ऊ आफ्नो बिगतको दिन र आफ्नो घर पो सम्झन्थ्यो कि ! म टिटुलाई एउटा मनोरञ्जनको साधन बनाएर आफूसँग राखेर स्वार्थी हुन सक्दिन थिए । मैले निश्चय गरिसकेको थिए, अब मेरो एउटै मात्र इच्छा थियो, टिटु अब आफ्नै गाउँ फर्कियोस् ।

सधैं झैं महेश आफ्नो काममा गए । धेरैबेरपछि टिटु दाना टिप्न भुँइमा ओर्लियो । आज मैले टिटुको भात बाहिर निस्कन मिल्ने ठाउँमा लगेर छरिदिए । म त्यहाँ भइन्जेल टिटु दाना टिप्न आएन । म ढोका पछाडि लुकेर टिटुलाई हेरिरहे । ऊ विस्तारै तल ओर्लिएर, दाना टिप्दै ढोकाबाट बाहिर निस्क्यो ।

बहिरी संसार देखेर उ हठात् उडी हालेन । उ एउटा बिचारी मान्छेले जस्तो धेरैबेर त्यही उभीएर बाहिर नै हेरिरह्यो । खै के सोच्दै थियो ऊ । बिस्तारै उ त्यहाँबाट निस्क्यो । म उसलाई देखेर उसको पछि पछि गए । मेरो मन सिरिङ्ग भयो । मनमा चिसो पस्यो । एकछिन त ऊ नगैदिए हुन्थ्यो जस्तैं लाग्यो मलाई । तर अब टिटुले जानैपथ्र्यो । उ भुर्रर उडेर नजिकैको घरको छतमा बस्यो । उसले त्यहाँबाट मलाई पुलुक्क हे¥यो । मानौं ऊ मेरो स्वीकृतिको पर्खाइमा थियो । मैले शव्दमै बोले, “टिटु, जा ल ! राम्रोसँग बस् है ।” मैले त्यती भने पछि साच्चै नै टिटु उड्ने तर्खर गर्न थाल्यो । उसले एकदुई पाइला हिंडेर यताउता हे¥यो ।

‘भुर्ररररर्’ । टिटु त्यहाँबाट उड्यो । एउटा घरको पछाडि…अर्को घरको पछाडि…धेरै घरहरूको पछाडि…टाढा ! धेरै
टाढा !

टिटु उडेको दिन मलाई रातभर निद्रा लागेन । सोच्न थाले टिटुले आफ्नो परिवार, गाउँ र आफ्ना साथी–सँगी भेट्यो होला । कि कहिँ कतै उसरी नै उधोमुण्टो पो परिराछ कि !………….

***

के तपाईंहरूले कही, कतै मेरो टिटुलाई देख्नु भएको छ ?!

२०६६ असोज २७ गते, पोखरा

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.