कथा : समानता

~किरण शाक्य पन्त~

पहाडले थिचे जस्तो मन्सराको ढाड दाउराको भारीले थिचिएको थियो। दाउराको भारीको बोझले गर्दा ऊ हिँड्नसकेकी थिइन। केही थकाइ कम गर्नका लागि दाउराको भारी ठाउँ–ठाउँमा बिसाइयो। एकछिन थकाइ मरेपछि फेरि त्यसरी नै बोकेर घरतिरको बाटो लाग्थी।

“ऐय्या बाबै, कस्तरी ढाड दुःखेको। भाँच्चिएलाझैँ गरी।” आँगनको छेउमा दाउराको भारी बिसाउँदै बल्लतल्ल घर पुगेकी मन्सरा दुवै हात कम्मरमा राखेर ढाड सोझ्याउँदै भन्छे।

ढाड मात्र दुःखेको थिएन, मन्सरालाई। त्यस बेला पानी तिर्खाले पनि त्यति नै उसको घाँटी सुकेको थियो थकाइले गर्दा भित्र पसेर पानी सारेर खाने आँटसम्म मन्सरामा थिएन। त्यसै थचक्क त्यहीँ बस्छे र टाउको फुकेको मजेत्रो मिलाउँदै छोरीसित पानी खान माग्छे, “मुसुरी एकलोटा पानी ले त खाऊँ।”

मुसुरी आधा लोटा पानी लिएर आउँछे र “आमा लाउनू पानी। गाग्रोमा पानी नै छैन। यत्ति हो पानी।”

लोटाको पानी एकै सासमा घुट्क्याउँछे मन्सरा। तर उसको पानीको तिर्खा भने मेटिएको हुँदैन। जलस्रोतको दोस्रो धनी देशमा आफू जन्मिएको भन्ने कुरा बिचरी मन्सरालाई के थाहा? धित मर्ने गरी पानी जस्तो कुरो खान नपाउनु नै दुःखको कुरो मात्र होइन, अभिसाप नै थियो मन्साको लागि।

“लौ न, अब कुन बेला पो हुने हो!” भन्दै थकाइ मार्न नपाउँदै काखीमा गाग्रो च्यापेर हस्याङफस्याङ गर्दै पँधेरातिर लाग्छे मन्सरा।

हुन पनि त्यो गाउँमा पानीको साह्रै दुःख थियो। एक गाग्रो पानी भर्नको लागि घण्टौँ पालो कुर्नुपर्थ्यो। यतिसम्म कि पानीको वादविवादमा गाउँलेहरूको पँधेरामा नै कुस्ताकुस्ती, मारपिट पर्थ्यो, जगल्टा लुछालुछ पर्थ्यो पँधेर्नीहरूको।

“खोइ, आमा कता गई?” मन्सराको लोग्ने लाले रिसले चुरमुरिँदै आउँछ।

“आमा त पानी लिन पँधेरा गा’छ।” मुसुरी बाबुको मुखमा हेर्दै डराएको स्वरमा भन्छे।

घण्टौँपछि मन्सरा पानी लिएर आउँछे। गग्रेटोमा पानीको गाग्रो बिसाउन नपाउँदै “के हेरेर बसिरहिस् अहिलेसम्म? लोग्ने भोकाएर आउँछ भन्ने तँलाई थाहा छैन? किन खाजा पानी तयार पारिनस्?” भन्दै लाले एकैचोटि हात उठाएर मन्सरालाई पिट्न झम्टिन्छ।

“तिमीले पनि त बनाएर खान सक्थ्यौ नि! घरको सारा काम गर्ने म भोक लाग्छ तिमीलाई। बिहान झिसमिसेदेखि पानी–पँधेरा मै, घाँस दाउरा मै, छोरा–छोरी हेर मै, मेलापात जा मै, भात पका, धन्दा गर मै, वस्तुभाउ हेर मै। ए बाबा रे हो फलामको ज्यान त होइन, रातो–दिन काममा काममा जोतिनलाई। आफूचाहिँ दिनभरि गाउँ चाहार्‍यो, गफ चुट्यो, घरको कामको नाउँमा एउटा सिन्को भाँच्नु छैन। अझ उल्टै मलाई नै कुट्न झम्टिने, सरम–धरम नभएको कहिको!” मन्सरा मात्र के कम निक्कै कडा शब्दमा गर्जन लागेकी थिई लोग्नेको अन्याय र अत्याचारको विरुद्धमा।

“होइन केको ठोक्का बाजी हो, लाले दाइ र मन्सरा भाउज्यूको?” भन्दै स्वास्थ्य स्वयंसेविका सीता नानी टुप्लुक्क आइपुग्छे।

“ए… स्वास्थ्य स्वयंसेविका सीता नानी पो आउनुभएको रहेछ त! आउनुहोस्, यतैतिर बस्नुहोस्। पिँढीमा गुन्द्री ओछ्याउँदै उही दुःखेसो पोख्दै मन्सराले भनी, “खोई! के भन्नु र सीता नानी! सधैँ यत्तिकै त हो नि! दुःखको कुरो जति गरे पनि सकिँदैन, त्यसमा पनि मेरो त कर्मै उस्तो हो कि? खोइ! दुःखै–दुःखले जिन्दगी बित्न लाग्यो।

“कर्मलाई दोष नदिनुहोस् भाउज्यू। कर्म भन्ने कुरो केही पनि होइन, यो त हाम्रो आफ्नै हातको कुरो हो। यदि लोग्ने–स्वास्नीबीचमा विवेक, सद्विचार, सद्भावना, सम्मान र सहयोगकोभावना भइदियो भने त महिला जाति त्यसै सुखी भइहाल्छ, अनि कर्मलाई दोषै लाउनुपर्दैन। तर यस प्रकारको भावना पुरुष जातिमा नहुनुको कारणले गर्दा नै महिला जाति पुरुष जातिबाट दुःखी छन्। धेरै नै पीडित छ। यसलाई पुरुषबाट गरिने महिला हिंसा भन्दा पनि केही फरक पर्दैन। जस्तै― लाले दाइले घरको काममा भाउज्यूलाई सघाएर माया प्रेमको व्यवहार गरिदिनुभएको भए भाउज्यूलाई यति दुःखै हुने थिएन।”

“हो नि नानी, हाम्रो पनि त हाडमासुकै शरीर हो। हामीलाई भोक तिर्खा लाग्छ, थकाइ लाग्छ, होइन त सीता नानी?” मन्सरा दुःखेसो पोख्दै भन्छे।

“हो भाउज्यू, हो भोक तिर्खा भनेको थकाइ भनेको लोग्नेमानिसलाई मात्र लाग्ने कहाँ हो र? आइमाईलाई पनि त लाग्छ नि। के आइमाईको मात्र मन होइन र आइमाईको मात्र शरीर होइन र धन्न पो घरको सारा कामधन्दा भाउज्यू एक्लैले धान्नुभएको छ।

नधानेर के गर्नु? धान्नैपर्‍यो नि सीता नानी! त्यसैले त ज्यान सुकेर यस्तो भइसक्यो नि।” आँखाभरि आँसु लिएर मन्सरा भन्छे।

“यसरी त भएन नि भाउज्यू! न खानू न पिउनू सित रातो–दिन काममा मात्र खटिँदा भोलि टी.बी. रोग लागेर ज्यान जान सक्छ। त्यसकारण रोग लाग्नुभन्दा पहिला नै होश पुर्‍याउनुपर्छ नि भाउज्यू। रोग लागेपछि त लागिहाल्यो नि!”

रोग लागेरै मरिन्छ भने कस्को के लाग्छ? मरिन्छ भने मरिन्छ, एक दिन मर्नैपर्छ क्यारे!”

“त्यसो भनेर कहाँ हुन्छ र भाउज्यू, बाँच्न पाउन्जेल त बाँच्नैपर्छ नि, अनि खोइ त लाले दाइ?”

“खै त्यतैतिर होला।”

“कसलाई टी.बी. रोग लाग्छ भन्नुभएको सीता नानीले?” बाहिरबाट आउँदै गरेको लाले सीता नानीको यस्तो कुरा सुनेर केही तर्सेको स्वरमा सोध्छ।

“कसलाई भन्नु नि मन्सरा भाउज्यूलाई भनेकी नि! हेर लाले दाइ! भाउज्यूको गति! जीउ सुकेर एक मुठीको भइसकेको छ। घरको काम त दाइले पनि त सघाइदिए हुन्छ नि, के घरको काम भाउज्यूले मात्र गर्नुपर्छ भन्ने छ र? घर भनेको लोग्ने–स्वास्नी दुवैको हो। त्यसैले घरको काम लोग्ने–स्वास्नी दुवैले मिलेर बराबरी गर्नुपर्छ। यो काम लोग्नेमान्छेले गर्नुहुन्न, यो काम स्वास्नी मान्छेले मात्र गर्नुपर्छ भन्ने होइन। सहयोग जसले जे काम गरेर पनि गर्न सक्छ। आजदेखि भाउज्यूले भात पकाए, लाले दाइले भाँडा माझ्ने काम गर्ने कि लाले दाइले भात पकाए भाउज्यूले भाँडा माझ्नुहुन्छ। भाउज्यू दाउरा लिन वन गए, वस्तुलाई घाँस काट्न लाले दाइ जाने। यति मात्र होइन घरको हरेक काममा आधा–आधा हिस्सा बाँडफाँड भयो भने लोग्ने–स्वास्नीमा समानता आउँछ। लोग्ने–स्वास्नीमा समानता आउनु भनेको दुवै सुखी हुनु हो। लाले दाइलाई कस्तो लाग्यो त मेरो कुरा?

“कस्तो कुरा गर्नुभएको सीता नानीले? घरको कामधन्दा आइमाईले नगरेर कसले गर्छ त? हामी छोरामान्छेले गर्ने कुरो आउँदैन।” छड्के टोपीलाई सोझो पारेर मिलाउँदै केही झोक्किँदै लालेले भन्यो।

“आउँछ, किन आउँदैन? घर भनेको श्रीमान्–श्रीमती दुवैको हो। दुवैको सहयोग, मेलमिलाप र समानताबाट चल्नुपर्छ। भाउज्यूको काँधमा मात्र घरको बोझ थुपारिँदा भाउज्यू रोगी हुनुभयो, असक्त हुनुभयो भने बूढेसकालमा तपाईंलाई कति दुःख हुन्छ, यो कुरा तपाईंले सोच्नुभएको छ? त्यसमा पनि तपाईंको पालाको जमाना जस्तो स्वास्नीलाई मात्र काममा जोत्ने, दुःख दिने जमाना अब छैन, बुझ्नुभयो?” निकै रन्किएको अनुहारले लालेतिर हेर्दै भनी।

लाले एकछिन चुप लाग्छ। सायद उसले केही सोचेको होला। त्यसपछि टाउकोको छड्के टोपीलाई दुई हातले सोझो पारेर मिलाउँछ र भन्छ, “हुन त सीता नानीले भन्नुभएको कुरा ठीक हो। मलाई मनासिपै लाग्यो। भोलि मुसुरीकी आमा रोगी भएर केही कथनकाल तलमाथि परी भने त त्यसो त मेरो घरको ढोका नै बन्द हुन्छ नि! हाई… त्यसो त गर्नहुन्न।” भन्दै पछाडि फर्केर हेर्‍यो। मन्सरा गाई–गोठमा भकारो फाल्न लागेकी थिई। लाले जुरुक्क उठेर गयो। “भो तैँले मात्र धेरै काम नगर। ले आजदेखि म पनि तँ सँगसँगै काम गर्छु” भन्दै मन्सराको हातबाट गोबरको डल्ला खोसेर आफू फाल्न थाल्छ। ऊ भन्दै पनि जान्छ, “सीता नानीले भन्नुभएपछि बल्ल पो मेरो घैँटोमा घाम लाग्यो त! पढे–लेखेका मान्छेको कुरा नै अर्कै! हामी पो मूर्ख भयौँ त। लौ अब थकाइ मार। तँलाई पनि भोक लाग्यो होला। तँ पँधेरा जा, म भात पकाउन गएँ।”

“भाउज्यू अब त धेरै खुसी हुनुभयो होला नि, होइन? अब त लाले दाइले घरको धेरै काम सघाउने हुनुभयो।”

“खुसी भएँ सीता नानी, खुसी भएँ। तर सीता नानीलाई पो यसो केही खुवाएर पठाउन सकिन। यही चुरोट मात्र भए पनि एक खिली सल्काएर तान्दै जानुहुन्छ कि?” पोल्टाबाट चुरोट झिकेर सीतालाई दिँदै भन्छे।

“आ˜म्मै भाउज्यू! म कहाँ चुरोट खान्छु र! यो त प्राणघातक चीज हो। तपार्ईं त्यसै त रोगाउँदै जानुभएको छ, त्यसमा पनि यसरी चुरोट खानुभयो भने त भोलि क्यान्सर रोग लाग्नसक्छ। यस्तो चीजमा पैसा खर्च गरेर रोग निम्त्याउनुभन्दा त्यो पैसाले त बरु एउटा फलफूल किनेर खानुभए त रोगै लाग्दैन।”

“नानीहरू पो पढे–लेखेको भएर यस्तो कुरो थाहा भयो त! हामी अनपढ मूर्खहरूलाई यस्तो कुरो के थाहा? त्यस्तो रोग लाग्छ भने त म आजैदेखि चुरोट छाडिहाल्छु नि! सीता नानीले भन्नु भए जस्तो चुरोट किन्ने पैसाले त बरू फलफूलै किनेर खान्छु नि! आज सीता नानीले हामीलाई कत्ति कुराको ज्ञान दिनु भयो। त्यसको लागि सीता नानीलाई धेरै-धरै धन्यवाद दिन्छौँ।” मन्सराले हाँस्दै भनी।

“ल भाउज्यू मेरो कुरा बुझदिनुभएकोमा मलाई पनि खुसी लागेको छ। तपाईं दुवैलाई मेरो पनि धन्यवाद। अहिलेलाई म जान्छु।”

कुममा कुम मिलाएर स्वरमा स्वर मिलाएर सीता नानी गएतिर हेर्दै लाले र मन्सराले भने, “आउँदै गर्नुहोस् है सीता नानी।”

मे 25, 2012
–श्रीमती किरण शाक्य पन्त

(स्रोत : Akshalok.wordpress.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.