कथा : नेवारी भोजका परिकारहरू

~हरिबहादुर श्रेष्ठ~

नयाँ वर्षको दिन थियो। बुइँगलमा नेवारहरूको भोज हुँदै थियो। दुवैतिर लहरै पाका नेवारहरू भोज खाँदै थिए। नेवारहरूको भोजमा परिकार तयार गर्ने र राख्न ल्याउने व्यक्तिलाई ‘भारी’ भन्ने गरिन्छ। चिउरामाथि झोल भएको मासु (चिच्याको ला) राख्दै ‘भेग’ (माटोको भाँडो) बोक्दै ‘भारी’ चुलो भएको कोठामा गयो। ‘सलिचा’ (माटाका स–साना रक्सी राख्ने बटुकी) मा रक्सी राख्दै थिइन् घरकी बहिनी। कवाव (ठूलो टुक्रा मसालेदार मासु) राख्दै ‘भारी’ गयो र दोस्रो पटक रक्सी राख्न ल्याइन् घरकी बहिनीले।

टपरीको अमिलो अचार चाख्दै वर्ष ६५ का कपाल फुलेका प्राध्यापक हीराकाजीले अर्को लामका प्राध्यापक वैद्यसँग सोधे, “होइन सर, तपाईंसँग त धेरै वर्षपछि भेट भयो, के गर्दै हुनुहुन्छ।”

बायाँ हत्केला बायाँ घुँडामा राख्दै र दाहिने हातको दायाँ कुहिना घुँडाबाट उठाउँदै प्राध्यापक वैद्यले भने, “तपाईंको अवकासको दुई–चार वर्षपछि मैले पनि अवकास पाएको थिएँ, अहिले म आफ्नै घरको छोराछोरी हेर्दैछु।”

“होइन, तपाईं त पहिले एउटा विदेशी दूतावासमा पत्रकार वा अनुवादको काम गर्नुहुन्थ्यो होइन र?”

वैद्यले सही थाप्दै भने, “हो, म पेसाले पत्रकार नै थिएँ, ५–६ वर्षपछि त्यहाँ काम गर्न मन लागेन, त्यो पेसा छोडेँ र शिक्षण पेसामा लागेँ।”

“ओहो, त्यो त राम्रै पेसा थियो, नेपाली कार्यालयबाट भन्दा बढी तलब र सहुलियत पाइन्थ्यो, किन छोड्नुभयो?”

प्राध्यापक वैद्यले बेलिविस्तार लगाए, “खोई के भनूँ? ३०–४० वर्ष पुरानो कुरा हो। तलब र सहुलियत घर चलाउन पुग्दो थियो तर त्यस्तै कुरा पर्‍यो।”

उनको कुराले अरू भोज खान बसेका भलाद्मीहरू र साथीभाइमा पनि उत्सुकता जाग्यो र सबै आ–आफ्ना खासखुस कुरा छोडेर प्राध्यापक वैद्यतिर फर्के। केही रहस्य लुकेकै सम्झेर प्रोफेसर हीराकाजीले आश्चर्यको भाव प्रकट गर्दै जिज्ञासा अगाडि सारे, “ओहो! वैद्य सर, त्यस्तो के कुरा आइपर्‍यो तपाईंलाई, त्यस्तो सहुलियत प्राप्त नोकरी नै छोड्नुपर्ने गरी?”

ठीक्कको मोटाइ, लबेदा सुरुवाल र खैरो कोटमा देखिने प्राध्यापक वैद्यले आफ्नो भादगाउँले टोपीलाई बायाँ हातले फुकाल्दै पुरानो घटनालाई सम्झने कोसिस गर्दै भने, “हीराकाजी दाइ, हुन त हामी पुराना साथी हौँ, तर हाम्रो भेटघाट धेरै वर्षपछि हुँदैछ। आज हामी धेरै पुराना साथीहरू अझ भनौँ अवकास प्राप्त ज्येष्ठ नागरिकहरू भेट्दैछौँ। यस्तो अवसर दिनुभएकोमा घरपति कर्माचार्य सरलाई धन्यवाद दिन्छु।”

“म त्यो दूतावासमा १० बजे पस्थेँ र ३ बजे घर फर्कन्थेँ। काम गर्ने कोठामा म एक्लै रहन्थेँ। एउटा टेबुलमा त्यस मित्र देशका केही अखबार, पत्रपत्रिका वा म्यागजिनहरू हुन्थे, एउटा स्टुलमा पानीको ग्लास र खानेपानीको सिसी हुन्थे। मैले काम गर्ने टेबुलमा नेपाली अखबार, पत्रपत्रिका र खाली कागज हुन्थे। नजिकैको अर्को स्टुलमा केही अंग्रेजी–नेपाली र अंग्रेजीका शब्दकोशहरू हुन्थे, आजको जस्तो कम्प्युटर थिएन।”

“मेरै टेबुलको सामुन्ने सिसाको एउटा ठूलो दराज थियो, त्यसमा पुरानो ब्रिटानिका विश्वकोश र अन्य केही पुस्तकहरू थिए।”

कुराकानी हुँदै जाँदा परिकारहरू आउनमा पनि सुस्तता आएको अनुभव सबैले गरे। परिकार ल्याउने ‘भारी’ ले पनि विस्तारै राख्दै कुराकानी पनि सुन्दै थियो। आलु र चना, बोडी र काउली तरकारी राख्दै गयो। नयाँ–नयाँ परिकारहरू खाँदै भोज खानेहरूको ध्यान प्राध्यापक वैद्यतिर खिचिँदै गयो। हीराकाजीले एक घुट्को रक्सी खाँदै “अँ, अँ गर्दै जिज्ञासा जाहेर गर्दै गए।

“एकदिन मलाई एकजना ठूलो मानिसको बोलावट आयो। त्यसबेला म साधारण स्नातक थिएँ, मेरो अंग्रेजी भाषा ठीकठीकै थियो। मलाई पढाउनुहुने सरहरूले मलाई बरोबर सल्लाह दिनुहुन्थ्यो, म हौसिँदै अंग्रेजी साहित्य र अंग्रेजी भाषाका विविध विषयमा अध्ययन पनि गर्दै गएको थिएँ। अफिसपछि साँझ म एम्.ए.को कक्षामा पनि जान्थेँ।

“मैले काम गरेको ३ वर्ष पुगेको थियो। एकदिन म ठूलो मान्छेको घरमा पुगेँ।”

“उहाँ अहिले बित्नुभयो। उहाँले संयुक्तराज्य अमेरिका, चीन र अरू देशहरूमा पनि नेपाली राजदूत भएर काम गर्नुभयो। बित्नुभएका मानिसको नाम लिनु हामीलाई सुहाउँदैन। उहाँ दरबार र सरकारको पनि साह्रै विश्वासिला व्यक्ति हुनुहुन्थ्यो। त्यसबेला टिभी थिएन, बरोबर रेडियोबाट उहाँको नाम सुन्थेँ र गोरखापत्र र द राइजिङ नेपालमा राजाको उपस्थित भएको ठाउँमा उहाँको पनि तस्बिर छापिन्थ्यो।”

‘भारी’ ले भुटन राख्दै गयो, घरकी बहिनीले रक्सी राख्दै थिइन्। प्राध्यापक वैद्यले भुटन बिस्तारै चपाउँदै आफ्नो कुरालाई अगाडि लगे, “ठूलो मानिसले मेरो घर–परिवार र नोकरी अवधि सबै सुनेपछि मलाई एउटा सल्लाह दिनुभयो। “भाइ, तिमी काम गर्दैछौ, राम्रो हो तर तिमीले मलाई अथवा देशलाई नै सहयोग गर्नुपर्‍यो।”

“मैले विनम्र भाषामै भनेँ, “म जस्तो सानो मान्छेले कसरी तपाईं जस्तो ठूलो ओहदाको मानिसलाई सहयोग गर्न सकुँला हजुर।” ठूला मानिसले भने, “त्यस दूतावासमा को को नेपाली र विदेशी मानिसहरू आउँछन्, तिनीहरू के कुरा गर्छन् आदिबारे मलाई खबर गर्नुपर्‍यो, भाइले।” मैले जवाफ दिएँ, “हजुर म त मेरै कोठामा मात्र सीमित हुन्छु, म मेरो समयपछि फर्किहाल्छु, तिनीहरूसँग कुनै कुराकानी हुन्न। म केही समाचारहरू अनुवाद गर्छु र त्यहीँ छोड्छु। मलाई अरू कुरा केही थाहा हुन्न।” ठूला मानिसले भने, “भाइले

केही लेखेर पनि दिनुपर्दैन, म एउटा यन्त्र दिन्छु, त्यसैमार्फत् त्यहाँ आउने मानिसहरूको नाममात्र भए पनि दिनू, म पनि भाइलाई आवश्यक सहयोग गर्छु।”

“मैले ठाडै अस्वीकार गर्न नमिल्ने देखेर भनेँ, “यसबारे पहिले मैले आफूलाई तयार पार्छु, अनि म हजुरलाई बिन्ति चढाउँछु।”

“अनि के भयो?” हीराकाजी सरले जिज्ञासा राखे। भोजमा लप्सीको अमिलोको झोल या ‘पाउँ’ पछि दही ल्याउन चिनी ल्याइँदै थियो।

प्राध्यापक वैद्यले भने, “आखिर निचोडमा पुग्न जहान परिवारसँग मैले सल्लाह गरेँ, मनमा गुनेँ, जहाँ मैले काम गरेँ, जसले मलाई विश्वास गर्‍यो, उसलाई विश्वासघात गर्न मेरो मन मानेन। ठूलो मान्छेसँग दुई–चार वर्ष मैले आलटाल गरेँ र मैले नोकरी छोडेर शिक्षा क्षेत्रमै लाग्ने निर्णय गरेँ।”

घरपति त्रिभुवन विश्वविद्यालयकै पूर्व डीन कर्माचार्य थिए। उनले जिल्ल पर्दै सोधे, “वैद्य सर, के तपाईंले ठूलो मानिसको नियतबारे विदेशीलाई भन्नुभयो?”

“अहँ मैले भनिनँ। मैले जागिर छोड्दा तिनीहरूले पैसा र सहुलियत पुगेन कि के हो भनी सोधेका थिए। मैले मेरै घरको कारण मात्रै बताएर बिदा लिएँ।”

प्राध्यापक हीराकाजीले अलि क्रोध र आश्चर्य मिसिएको स्वरमा सोधे, “त्यो कुरो विदेशीले थाहा पाएको भए के हुन्थ्यो?”

“मैले नबताई तिनीहरूले थाहा पाउने कुरै भएन, मैले विदेशीलाई यस्तो कुरा भन्नु आफ्नो देशप्रति घात हुने थियो भन्ने सोचेँ, जुन कुरा म गर्न सक्दिनँ।”

अलि भुँडी लागेका गोरो रङ्गका घरपति प्राध्यापक सरले सोधे, “तपाईंले छोडेपछि त्यो ठाउँमा कसलाई राखियो?”

“खोइ, त्यो त मेरो सरोकारको विषय भएन। मैले त्यसबारे खोजीनीति गरिनँ।”

अचानक हीराकाजी सरले निराश भावले भने, “को राख्नु? त्यही ठूलो मानिसकै मानिस राखेहोलान् नि।”

सबै दही खाँदै थिए र फलफूल र रक्सीको पालो आयो। सबै एकआपसमा कुरा गर्दै थिए, “यो राजनीति र कूटनीति बुझनसक्नु छ, हामी साधारण मानिसको निम्ति काम लाग्दैन, जसले मानिसको हत्या गर्नसक्छ, जो मर्न पनि तयार हुन्छ, राजनीति त्यस्तै मानिसहरूको पेसा हो। कुटनीति त मित्र भन्दै स्यांगीले घाँटी रेट्ने काम हो।”

“वैद्य सर, के राजनीति र कुटनीति त्यस्तै हो त?” हीराकाजी सरले प्रश्न गरे।

“मैले पढेको राजनीतिशास्त्रमा त्यस्ता कुरा त पढिनँ। हिजो विदेशी दूतावासमा जान मानिसहरू डराउँथे, ‘विदेशी दलाल’ भन्ने कल्गी लागेको खण्डमा छोराछोरीको विवाह नहुने डर थियो। देशको अदव थियो। तर आज ठूलाबडा भन्नेहरू नै विदेशी दूतावासमा जानु र रक्सी खाएर मनपरी बोल्नुलाई आफू ठूलो भएको वा इज्जत भएको सम्झन्छन्। विदेशीहरूले त्यस्ता मानिसलाई मुखले ठीक पारे पनि आफ्नै देशको विरोध गर्नेहरूलाई मनमनै ‘देशद्रोही’ त भन्ने नै छन्। सुसंस्कृत र गम्भीर राजनीतिज्ञहरू त्यसरी तल झर्दैनन्। गौरवको अर्थ आफ्नो देश र जनताप्रतिको जिम्मेवारीबोध हो।”

प्राध्यापक श्रेष्ठले सोध, “वैद्य सर, पछि तपाईंलाई ठूलो मान्छेको धम्की–सम्की त आएन?”

“आएन, तर म रुस समर्थक भएँ भन्ने हल्ला गरेको सुनेँ। म कुनै दल वा खेमामा नलागेको हुँदा मलाई खासै असर परेन।” प्राध्यापक वैद्यले टुङ्ग्याए।

भोजमा घरपति बहिनीले रक्सी राख्दै गइन् र भोज टुङ्गियो।

साभार : एकादेशको कथा, वर्कर्स पब्लिकेशन

(स्रोत : Akshalok.wordpress.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.