~लारा राई~
रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक
अस्थिरताको सडक नाप्दै म,
लखतरान ‘सिंहदरबार’ उभिरहेछु
वरिपरि,
निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु ।
भय लाग्छ-
सर्लक्क ननिलिदेवोस्
स्वाट्ट विलय नहोस्
एकिकरण/विखण्डन
निश्चित वर्ग/आयतनभित्र
‘हिजो गुमेको’ गुनासो पोख्दै
यौटा-यौटा इतिहास खोज्न
यो सडकमा उत्रिएका
‘जब्बरे’ हरु
निलामी गर्दै संवेदनाहरुको
शुसुप्त कुण्ठाहरुको बजारमा
ब्यापार गर्छन् सोझा मान्छेहरुको
बेहिसाब ल्याप्चे लगाउँदै
तमसुकहरु ‘स्वायत्ता’ सपनाको
उठिबास लगाउँछन्
वर्षौंको थलोथाँतिहरुलाई
गर्छन् चक्काजाम अनि,
बाल्छन् टायर
चिसिएको आत्मियता विरुद्ध
कहिले सडक
कहिले सदन
अझ भएन,
रात/विरात भुसिया कुकुरहरु
गर्छन विज्ञापन-
‘नयाँ नेपालको’ तर,
नारामात्रै बेग्लै हो, दृश्य उहि छ-
उग्राईरहेका ‘त्रिशूलछाप’ साँढेहरु ।
अनिश्चित भविष्यको मध्यान्तरमा
लखतरान ‘सिंहदरबार’ म,
आफ्नै माटोमा ‘प्रवेशाज्ञा’
च्यापेर ‘भिसा’ राहदानीमा कुनैदिन
हुन नपरोस् – ‘मुगलाने’
अपमान खाएर
जुझ्दै मनस्थितीहरुसँग
नाप्दै अस्थिरताहरु सडकको
अलच्छिने लक्षणदेखि
एकतमासले त्रसित हुँदै
यो जेब्राकस नजिक
एक्लै कति ‘ट्राफिक’ गरिरहनु ?
किन गर्दैन विरोध/दिंदैन साथ समयहरुले ?
युगौंदेखि
निर्लिप्त स्वभावले हाँकिएका
‘छाडापन’ हरु विरुद्ध
बन्न सक्दैन किन दरिलो मापदण्ड ?
त्यसलाई आँक्न-
के गतिलै अर्को ‘गतिछाडा’ चाहिन्छ ?
उसो भए-
संभोगको,
समस्त परिभाषाबाट अलग्गिएर
आवेशबाट
उत्तेजनाबाट
तातिएर अंग-प्रत्यंग
चरमोत्कर्षमा-
एउटा फटाहा
‘प्लेब्वाई’ /डाका
अराजक गुण्डा
त्यो भन्दा पर,
खतरनाक आतंकबादी
चिसो र नपुशंक समयको विरुद्ध-
एउटा ‘विन लादेन’ गर्भधारण गर्न उल्हेद्धित छु
कन्चटमा ताकेर ‘स्वाभिमान’ लाई
कमसेकम,
यो नपुंसक समयको विरुद्ध
आतंक मचावोस् भयंकर ‘चेतना’ को
त्यस्तो कुख्यात यूगपुरुष जन्माउन
लखतरान ‘सिहं दरबार’ म,
ए ! कोहि छ त्यस्तो ?
यो सडकमा उभिएर
वर्षौंदेखि,
त्यस्तो ‘विर्यवान’ खोजिरहेछु ।।
January 9th, 2008
– लारा
(स्रोत : Hknepal.com)