~देव गुरुङ~
खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म
हेर
उज्यालोले शहरमा पाइला नटेक्दै
जुनेली रातको वैश नढल्दै
म नापिरहेछु यी विरानो सडकहरु
पोखिरहेछु पसिना यो विरानो माटोमा
हर्राई रहेछु यो विरानो देशमा
एक जुग भयो विदेशिएको म
हेर
प्रेमीले प्रमिकालाई जिस्काए जस्तै
मलाई जिस्काइ रहेछ मेरै भाग्यले
कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी
घरको एक तल थप्ने आशमा
तीन तल परि सकेछ निधारमा
एक जुग भयो विदेशिएको म
हेर
बिर्सेको छैन मैले दशै तिहार र ल्होछार
टीका, जमरा र सयपत्री फूलहरु
अनि घाँटो सोरठी र त्यो रोधी घर
छाती भित्र सुटुक्क मेरो गाउ राखेर
पैतला भरी मेरो देशको माटो वोकेर
एक जुग अघि विदेशिएको म
हेर
एक जुग भयो विदेशिएको म
घाचोक कास्की
हालः हङकङ
March 13th, 2006
(स्रोत : HkNepal.com)