दृष्यहरु हेर्ने सुन्दर आँखाहरु
शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ
बदलहरु जून नियालेर
मोतीका कणहरु ताप्छन् ।
शायद पछ्यौरी,
जसले ढाकेको छ हाम्रो
सिङ्गो मनलाई
सिंगारेर स्वाभिमानका
ज्वाजल्यमान लप्काहरु
वस्ति—वस्तिमा अग्लनु पर्छ,
त्यो सिम्रिक रङ्गको रातो कपडा
जसको किनारामा बग्नुपर्छ
पसिनाका नीला रङ्गहरु ।
दुई त्रिकोण अलिकति जोडिएर
आकार बन्नुपर्छ नेपाली झण्डाको
त्यो झण्डा मेरो हुनुपर्छ ।
आमाका फरियाका न्याना
सप्काहरु,
ती वात्सल्यका मृदुल कणहरु हुनुपर्छ
लेउ लागेको जिप्लेटो जमिन
वैंशले छोडेको निदाउरो शरीर
किनारा लागेका अधबैंशे पहाड
र झेक्राएर बगेका गण्डकीका छालहरु
ममतामय नेपाल,
अटाउनुपर्छ मेरो स्पन्दनभरी ।
February 2nd 2007
परिचय
नाम – सबिना सिन्धु
ठेगाना – सिन्धुली
प्रकाशित कृति – ( परिवर्तन कविता सङ्ग्रह – २०५९)
सूर्योदयको क्यानभास संयुक्त कविता सङ्ग्रह – २०६१)
शिक्षा – ( स्नातकेात्तर – अध्ययनरत)
लेखनको प्रमुख विधा – ( कविता, बालकथा
पुरस्कार – ( प्रज्ञा कथा पुरस्कार – प्रज्ञा प्रतिष्ठान)( २०६१)
( छात्रा वक्तृत्वकला प्रतियोगिता , प्रथम , महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय( – २०६१)
( काठमाडौ उपत्यकाब्यापी छैटौं कविता प्रतियोगिता – २०५३) आदि
(स्रोत : Dcnepal.com)