लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~

“यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

रेडियोमा समाचार सुनेर मनभरि दङ्ग पर्न नपाउँदै छाप्रो मुन्तिरको खोलाको दुर्गन्ध सासै रोकिने गरी सुकुम्बासी साँहिलाको फोक्सोमा हृवास्स् ठोक्कियो र उसलाई बान्ता आउलाजस्तै भयो ।

उसले छाप्रोबाहिर निस्किएर आकाशतिर हेर्‍यो, आकाशको अनुहारभरि पानी पर्लापर्लाजस्तो बादल थियो ।

“यो पानीले खोलो कति बढाउने हो कुन्नि, पोहोरको जस्तो तीन दिन, तीन रात छाप्रो बाहिरै बिताउनु पर्ने पो हो कि !”

उसले चिन्ता गर्दै सुखद उत्सुकतामा फेरि रेडियो सुन्यो-“फलानो ठाउँका यति जनालाई फलानो ग्रहमा उतारी सकिएको छ र क्रम जारी छ ।”

घडी घुम्दैै गयो ।

वर्षात्को पानीले उसले नचाहेकै तहसम्म बढाउँदै थियो खोलोलाई । ऊ डिलमा उभिएर इच्छा गर्दै थियो -“हे भगवान्, खोलो छाप्रोभित्र छिर्नुअघि नै मेरो बसाइँ सर्ने पालो आए हुन्थ्यो ।”

खोलो अलिअलि घट्यो, भोलिपल्ट फेरि अलिअलि बढ्यो । खोलाको घटबढसँगै उसको मनको उतारचढाव पनि परिवर्तन भइरहन्थ्यो -“मलाइ चाहिँ लिन आउँदैनन् कि क्या हो ? आफैँ जान नसकिने, अरूले लिन आएका होइनन् ख्वै !”

धेरै दिनसम्म ऊ अरू मान्छे अर्को ग्रहमा ओसारिएको समाचार सुन्दै रहृयो तर उसको पालो आएन । वर्षात् सकिएर हिउँद लाग्यो । रेडियो फुकेको फुक्यै थियो । हिउँद सकियो फेरि वर्षात् आयो, रेडियोले फुक्न छाडेको थिएन ।

ऊ पोहोरभन्दा अलि बूढो भइसकेको थियो, आँखाको पावर अलि बढिसकेको थियो । आँगन मान्ने गरेको गन्हाउने खोलाको डिलमा बसेर ऊ चश्मा पुछ्दै टोलाइरहेको थियो, पछाडिबाट कोही आयो र ऊसलाई विनम्र स्वरमा अह्रायो-“दाइ, खै फाराम भरौँ त, बल्ल तपाईंको पालो आएको छ अर्को ग्रहमा उड्ने, छिटो गर्नुस् छिटो ।”

उसले ओठ लेप्र्यायो, नाक खुम्च्यायो, पुछ्दै गरेको चश्माको सिसा आकाशतर्फ फर्काएर हेर्‍यो तर केही बोलेन । खोलोबाट उक्लिएर उही चिरपरिचित दुर्गन्ध आयो र सुकुम्बासी साँहिलालाई सम्झायो-“अन्त्यमा तेरो पालो पनि आइछोड्यो साँहिला तर नजा कतै, फाइदा छैन । यतिखेरसम्म त जताततै भीड लागिसकेको होला । जता गए पनि आखिर तेरो दर्जा त उही सुकुम्बासीकै त हो ।”

(स्रोत : मधुपर्क माघ, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.