हरेकदिन सूर्योदयसँगै
भगवानतिर फर्केर तिमीले दिएको अर्घ
तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै
तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल
ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर
तरपनि फेरि उही फूलप्रसाद बोकेर
ए प्रिय मानिस
किन दोडिरहेका छौ तिमी हतारहतार
कथित भगवानको मन्दिरतिर ?
भगवानका नाममा
तिमी लाखौंको भेटी चढाउँछौ
मन्दिरमा तिमीले चढाएको भेटीमा पनि
तिनै भगवानका पूजारीहरुबाट भइरहेको छ घोटाला
र तिम्रो भगवानको नाममा दिइएको लाखौं पशुबली
दिनेहरुले आफै खाइरहेका छन् कचकची
तर पनि भगवानका प्रति
तिम्रो अटुट विस्वास किन अझै जीवित छ
म आफै आश्चार्यमा परिरहेको छु ।
देख्न त मैले पनि देखिरहेको छु भगवानको मूर्ति
सोह्र सिँगारमा सजिएका
भगवानका हजारौं तस्वीरहरु
र पढिरहेको छु भगवानका नाममा लेखिएका
सयौं कितावहरु पनि ।
तर तिलस्मी कथाजस्तो तिम्रो भगवानको इतिहास
मैले पत्याउन सक्ने बलियो आधार
अझै नभेटेकोले
तिमीसँगै सोधिरहेको छु यी तमाम प्रश्नहरु ।
तिमीले आफ्नो भगवानलाई
कहिल्यै सोधेनौं
तिमीले चढाएको भेटी किन उठाउँदैनन् भगवान
र किन बनाउँदैनन् माथि आकाशमा
भक्तहरु बस्ने सुन्दर घरहरु ?
अर्थात किन बोल्दैनन्
न्याय र अन्यायको पक्ष विपक्षमा ?
र किन उठाउँदैनन् आफ्ना प्रिय भक्तहरुको दुःख ।
त्यसैले पनि
तिमी व्यूँझ प्रिय मानिस
भगवानको अमूर्त र अदृश्य दुनियाबाट
आउ एक सत्य मानवसंसारमा
जहाँ वेसहरा बालकहरु,
गरीब दीनदुःखीहरु
र लाखौंलाख बयोबृद्ध असहायहरु
मागिरहेका छन् भगवानको नयाँ अवतारमा
आखिर त्यहीं प्रष्ट देखिएको छ
तिमीले पूज्ने भगवानहरुको मूर्त अनुहार ।
तिमीले चढाउने भेटी
तिमीले दिने अर्घ
र तिमीले अपर्ण गर्ने दान
उनीहरुले सहर्ष स्वीकार गर्छन्
र तिमीलाई दिन्छन् लाखौंलाख आशिष ।
आउ प्रिय मानिस
सच्चा भगवनाको मन्दिरमा आउ ।
बलेवा, बागलुङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com’मा पठाईएको । )