जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म
ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म
आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन
के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ ।
धाई मन्दिर माथ नै तल गरी ढोग्दै गरेका सबै
देखेँ ढोग्नु पर्यो भनेर निहुरी ढोगेँ बडो भक्त भै
ढोग्दा हेर ललाट नै फुटिसक्यो बोल्दैन त्यो खै किन ?
भोग्नै पर्छ भने म भोग्छु दुनियाँ ढुंगो म ता ढोग्दिनँ ।
जङ्गी जब्बर ज्यानमा घन छिनो पर्ने गरेका घरि
ढुंगा बन्छ मुँगा र बन्छ घरको आधार सर्वोपरि
यो जान्दा पनि ढोग्न लाग्दछु भने राम्रो कुरा होइन
भन्छौ नास्तिक लौ भने भइगयो ढुंगो म ता ढोग्दिनँ ।
पास्ता होइन भोकका बखतमा नास्ता बनाई लिने
आस्था ढुक्ढुक ताल हो मनुजको भर जिन्दगी चाहिने
आस्था युक्त हुँदा त हुन्छ सजिलो नौलो धरा सिर्जिन
आस्था ध्वस्त गरेर आस्तिक बनी ढुंगो म ता ढोग्दिनँ ।
छानामा जगमा प्रयोग गरिँदा बन्ने मजाको घर
कर्मी हात नबाँध है मुलुकका ढुंगा बटुल्ने गर
ढुंगा फोर्न सके त बढ्छ सजिलै सामथ्र्य नै छिन्छिन
दामी कर्म भुलेर काँतर बनी ढुंगो म ता ढोग्दिनँ ।
त्यो ढुंगे युगदेखि नै हरघडी साक्षी रहेको छ जो
साक्षी भन्नु त बन्धुबान्धव सखा साथी भनेको न हो
साथीमा हुनु हुन्न कत्ति दुविधा सद्भावना वैरिन
साथी मान्न तयार नै छु म सधैँ ढुंगो म ता ढोग्दिनँ ।
बोधा छन† जति बन्चरा र हँसिया शानै लगाइकन
राखेमा भय मुक्त हुन्छ दुनियाँ मस्तिष्कको मापन
यस्तो शाश्वत भावना च्युत कतै होला भनी जोगिन
ढुंगे शान बनाउने लहडमा ढुंगो म ता ढोग्दिनँ ।
ताछी चौरस हातकै मद्दतमा निर्माण खासा हुने
यौटा साक्ष्य कमालको छ चिनियाँ पर्खाल लोभ्याउने
जुम्लेहात गरेर जीवन बितोस् बाटो म त्यो रोजिनँ
ढुंगामा बरु हात हाल्छु अब लौ ढुंगो म ता ढोग्दिनँ ।।
(स्रोत : मधुपर्क २०७०, असार )