माथिल्लो सदनमा
भर्खरै सकिएको छ तिम्रो सम्बोधन
बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले
देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति
र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र
मलाई किन लागिरहेकोछ
बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।
किनकि राजनीतिशास्त्रका आधारमा
तिमीले भर्खरै सुनाएको
नयाँ नेपालको इतिवृत्तान्त सकिन नपाउँदै
बोक्सीको अभियोगमा
त्यही पारि गाउँको एक विधवा महिलालाई
जवर्जस्ती खुवाइएको छ–मानव दिसा
र त्यही गाउँमा
कथित उपल्लो जातीको चियाको गिलास छोएको नाममा
एक दलित बालकमाथि भएको छ आक्रमण
त्यसका साथै
ब्राह्मणको छोरीसँग प्रेम विवाह गर्ने
एक दमाइ युवकलाई बलत्कारको झुट्टा अभियोगमा
आजै थुनाइएको छ प्रहरी चौकीमा ।
सायद
तिमीले पढ्यौ कि पढेनौ अखवारमा
स्कुलबाट घर फर्कने क्रममा
आधादर्जन चूल्ठेमुन्द्रेहरुबाट
एउटी १३ बर्षे बालिकामाथि
पालैपालो भएको छ
क्रुर र पासविक बलत्कार ।
र तिमीले भनेकै नयाँ नेपालमा
आफ्नै छोराको हत्याको न्यायको लागि
सरकारसँग याचनारत एक वृद्धको
अनसनस्थलमै उडेको छ प्राणपखेरु ।
विडम्बना
अझै बलिरहेको छ यही सडकमा आगो
परपरसम्म उडेको छ टायरको विकृत धूँवा
र जनताको सपना पुरा गर्ने कसम खाएर
माथिल्लो सदनमा पुगेका तिमीहरुवीच
अझै मिलेको छैन कुर्सीको भागबन्डा
त्यसैमा उत्पन्न भएको छ हातहालको स्थिति
भाँचिएको छ माइक्रोफोन र क्षेतिग्रस्त भएको छ रोष्टम ।
उता बाढीले घरबासविहीन भएकाहरु
राहत नपाएर रोइरहेका छन् तिम्रो सदनतिर फर्केर
र घरबाट लत्याइएका ज्येष्ठ नागरिकहरु
आफ्नो बुढ्यौली जिन्दगीको सुरक्षाका लागि
तिमीतिरै फर्केर गरिरहेका छन् हारगुहार ।
तर यहीवीचमा
तिमी प्रत्येकदिन रेडियो र टेलिभिजनबाट
गरिरहेका छौ भद्दा भाषण
र सुनाइरहेका छौ नयाँ नेपालका ‘तिलस्मी कथाहरु’
यसरीनै बर्षौदेखि
देशलाई ढाँटेर उठाएको तिम्रो कद
अब विस्तारै देखिन थालेको छ झन्झन् पुड्को
फेरिएको छ तिम्रो अनुहारको रङ
नागरिक समुदायको वीचबाट
हराउँदैछ तिम्रो पाखण्डी लोकप्रियता ।
आफैलाई र आफू उभिएको माटोकाप्रति
तिमीले गरेको वेइमानको
क्षमा याचना गर प्रिय मानव
र आफूलाई रुपमान्तरण गर
मानव सभ्यताको नयाँ आयाममा,
किनकि देशलाई ढाँट्नेहरुका विरुद्धमा
निर्माण भइरहेको छ यतिखेर नागरिकमोर्चा
उठिरहेको छ अब मानवसागर ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com’मा पठाईएको । )