गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ
जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ
ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म
मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।
त्यो छाया हिमको, सियाँल वनको कस्तो अहा ! माधुरी
आँखैमा बसिदिन्छ बच्छ सुरिलो एकान्तमा बाँसुरी
छैनन् चाह त्यजूँ , परन्तु दगुरुँ बाँच्नै पर्यो हर्कले
आफैँभित्र पसेर डस्न नसकोस् भन्ने भयो सर्पले ।
फिर्नै पर्छ हुँदैन बिर्सनु थलो माया यतै लाउँला
माटो सुन्दर बन्छ सम्झिन सके भाका नयाँ ल्याउँला
वर्ष बित्छ जसै त्यसै क्षण शरद् ल्याई यहाँ छोपुँला
आफ्नै उर्वर हातको बल छरी यै फाँटमा रोपुँला ।
हाम्रो प्रीति फुल्यो गुराँससरि भो छुट्तैन कैल्यै पनि
आँखाभित्र हिमाल बस्छ जुन त्यो मेटिन्न टाढा बनी
राम्रो चित्र त्यही लिएर मनमा वैशाख बोलाउँला
जस्तै कष्ट परोस् जुधेर तनको बाधा म तर्काउँला
माया भन्नु हुँदो रहेछ मुटुमै भक्कानिदो भै बस्यो
त्यै मायासँग जिन्दगी यो शुरु भयो छातितिरै त्यो घुस्यो
बिर्सेलान् रविले उदाउन कतै बिर्सिन्न माया तर
बाँच्ने हो यदि लोक हो ! सरस भै माया सबैमा छर
– सानेपा , ललितपुर ।
(स्रोत : मधुपर्क २०७०, असार )