म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले
मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा
सधैँ दुर्गतिको सिमसार पल्टिएकोले
न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा
वैशाख मलाई नयाँ घाम देऊ ।
किनकिन मेरो बिहानीमा हिजोआज बासी घाम बसाउँछ
दिनहरू त्यति उत्सविलो लाग्दै लाग्दैनन्
प्रत्येक प्रभातले बाँच्नलाई उक्साओस् न !
जिन्दगीका गुजुल्टिएका अहम् प्रश्नका जवाफ देओस् न !
समयको अन्त्यहीन डोरीमा खुशीका पयोहरू जोड्न मन जागोस् न !
हरेक सखारले नवीनताको आभास गराओस् न !
पलप्रतिपल जोखिममा बाँच्नु त छदैँछ
मलाई कुनै बिहानी तुहाउने घाम चाहिएन अब
वैशाख मलाई नयाँ घाम देऊ ।
वैशाख मलाई नयाँ घाम देऊ
मेरा मान्छेजस्तै मान्छे अटाउन सक्ने गाम देऊ
सधैँ बसौँबसौँ लागिरहने ठाम र धाम देऊ
वैशाख मलाई सबैभन्दा राम्रो घाम देऊ ।
किन नयाँ घाम चाहियो सोध्दै नसोध
अब आउने नयाँ घामले
मेरा वरिपरि घुमिरहेको उकुसमुकुसको सर्दी र बाथले
थलिएको लामो यात्रा,
जमेर बसेको जीवनगतिलाई
पुनर्जीवन पाउने लालसाले मैले भित्रैदेखि नयाँ घाम मागेको हुँ
वैशाख ! तिमी त सहस्र घामका दाता हौ
मैले त फगत एउटा रा……..तो……घाम न मागेको हुँ
सक्छौ दिन ?
वैशाख मलाई नयाँ घाम चाहियो नयाँ घाम !
लेखक: -साम्ब ढकाल
साभार: रचना वेब पत्रिका
(स्रोत : Sahityanurag )