अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~

त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो बाली हुँदोरहेछ भन्ने भरोसा थियो ।
अब धरतीलाई एउटै कुरा चाहिएको थियो पानी बस् एक झर पानी । लेन्को आफ्नो खेतसित राम्ररी परिचित थियो । बिहान भरि केही नगरी उसले खालि आकाशतिर दृष्टि दौैडाईरहयो ।
अब त सायद हामीले एक झर पानी पाउँछौं कि ।
उसकी स्वास्नी खाना पकाउँदै थिई । उसले भनी हो भगवानको इच्छा भए ।
तन्नेरीहरु खेतमा काम गर्दे थिए । मसिना बालकहरु घरको छेउमा खेल्दै थिए । अहिले उही स्त्रीले सबलाई बोलाई लौ आओ है सब । भात पाक्यो ।
भान्सा गर्दै गरेको बेला लेन्कोले सोचेजस्तै पानीका ठूला थोपाहरु खस्न थाले । आकशको एक दिशामा कालो बादलको एक मुस्लो मडारिन थालेको थियो । हावा स्वच्छ र मन्द थियो ।
लेन्को बाहिर गौचरमा निस्क्यो । उसले शरिरमा पानीका थोपा खसेको आनन्द अनुभव गर्न थाल्यो । त्यहाँबाट फर्केर आएपछि उसले भन्यो आकाशबाट खसेका यी पानीका थोपा होईनन् । यी त नयाँ पैसाहरु हुन् । ठूला ठूला थोपा दशपैसाहरु अनि सानाचाहीं पाँचपैसाहरु ।
सन्तोषको भावले उसले पाकेको बालीको खेतलाई हेर्यो । जहाँ सिमीका फूलहरु थिए र जुन खेत पानीको पर्दाले सजिएको थियो । तर शहरमा तेज हावा बहन थाल्यो अनि पानी सँगसँगै ठूल्ठूला असिनाहरु खस्न थाले । यी असिना पो साँच्चै चाँदीका पैसा जस्ता देखिन्थे । केटाहरु पानीमा कुद्दै यी जमेका मोतीहरु टिप्न थाले ।
यो त सार््है नराम्रो भयो । लेन्कोले बिरक्त भएर भन्यो सायद यो छिट्टै थामिन्छ होला ।
तर यो छिट्टै थामिएन ।
एक घण्टासम्म घरमा बगैचामा थुम्का थुम्कामा खेतबारीमा सम्पूर्ण इलाकामा नै असिना पर्यो । नूनले ढाकिएको जस्तै गरि सन्पूर्ण खेत नै सेताम्मे भयो । रुखहरुमा एउटै पात रहेन । जम्मै अन्नबाली स्वाहा भए । लेन्कोको हृदयमा ठूलो पीर पर्यो । आँधी थामीएपछि खेतको बिचमा उभिएर उसले छोराहरुलाई्र भन्यो
बरु सलहको उत्पातले खेतमा केही छाड्ने थियो होला । यो असिनाले भने केही बाँकी राखेन । यसपाली हाम्रो अन्न सिमी केही केही हुँदैन ।
त्यो रात दुःख लाग्दो थियो ।
हामीले काम गरेको व्यर्थ भयो ।
हामीलाई सहायता गर्ने कोही छैन ।
यो बर्ष हामी भोकै मर्ने भयौं । त्यस इलाकामा भएको एउटै घरमा बस्ने ती प्राणीहरुको हृदयमा तर एउटै आशा थियो भगवानको मद्यत ।
यो सर्वनाश नै देखिए पनि हामी हताश हुनुहुदैन । यति सम्झ कोही पनि भोकै मरेको छैन ।
उनीहरु पनि यही सम्झन्छन् भोकै कोही मदैन………………।
रातभरि लेन्कोले त्यही एउटै आशा एउटै भरोसा भगवानको सहायता सोचिरहयो । उसले सुनेको थियो भगवानका आँखाले सबैथोक देख्छन् मान्छेको हृदयभित्र भएको कुरा पनि देख्छन् ।
लेन्को जब्बर मान्छे थियो । खेतमा पनि गोरु जस्तै काम गथ्र्यो । उसले केही लेख्न पढ्न सिकेको थियो । भगवान्ले उसलाई मदत गर्छ भन्ने कुरामा उसको अटल विश्वास थियो । यही विश्वास मनमा लिएर भोलिपल्ट उसले एउटा चिठी लेख्यो ।
त्यो उसले भगवानलाई लेखेको चिठी थियो ।
उसले लेख्यो भगवान् तपाइले सहायता गर्नु भएन भने मेरो जहान र म यो बर्ष भोकै पर्नेछौँ । खेतमा अन्नहरु रोप्नुलाई र बाली नहुन्जेल खानलाई मलाई एक सय रुपियाँ चाहिन्छ । किनभने यसपाली असिनाले……………॥ चिठीको पुछारमा लेख्यो ।
लेन्को
अनि उसले बाहिर खाममा लेख्यो भगवान्लाई । चिठी भित्र खल्तीमा राख्यो । अनुहार अझै खिन्न थियो । ऊ शहरतिर लाग्यो । हुलाकघरमा उसले चिठीमा टिकट टाँस्यो अनि त्यहीं बाकसमा चिठी खसाल्यो ।
एकजना हुलाकीले चिठीहरु मिलाउँदा त्यो चिठी फेला पर्यो । हाँस्दै पोष्टमास्टरकहाँ गएर उसले त्यो चिठी देखायो । हुलाकघरमा यतिका बर्ष काम गर्दा पनि उसले यस्तो ठेगाना भएको चिठी देखेको थिएन ।
पोष्टमास्टर हष्ट पुष्ट रमाइलो प्रकृतिका मानिस थिए । यो चिठी देखेर उनी खित्का छोडेर हाँसे । तर तुरुन्तै उनी गम्भीर देखिए अनि टेबलमा चिठी राख्दै भने कस्तो विश्वास । यो चिठी लेख्ने मानिसको जस्तो विश्वास ममा हुनु नि । उसले विश्वास गरेको जस्तो मैले पनि विश्वास गर्न सक्नु नि । कस्तो भरोसा गर्न जानेको । भगवान्लाई चिठी लेखेको हेरन ।
त्यो चिठी भगवानकहाँ पुर्याउन सकिदैन थियो । तर त्यो चिठीले देखाएको अद्भुत विश्वासमा आघात नपुर्याउन पोष्टमास्टरले एउटा उपाय सोचे । त्यो उपाय के थियो भने चिठीको जवाफ दिनु । तर त्यसको जवाफ दिनलाई कागज र शुभकामनाबाहेक अरु थोक पनि चहिन्थ्यो । पोष्टमास्टरले मनमनै भने म मेरा कर्मचारीहरु सित थाप्ने छु । साथीहरुलाई पनि यस दान कार्यमा सहायता माग्ने छु ।
यसरी सबैबाट पैसा उठाएर सत्तरी रुपियाँ पुर्याए । एक सय नै उठ्न सकेन । उनले एउटा खाममा त्यो सत्तरी हाले र लेन्कोको नाम लेखे । रुपियाँसित एउटा चिठी थियो जसमा सही गरे जस्तै एउटा शब्द थियो भगवान् ।
आठ दिनपछि लेन्को हुलाकघरमा गयो । उसले उसको चिठी छ कि भनेर सोध्यो । त्यही हुलाकीले नै उसलाई त्यो चिठी दियो । पोष्टमास्टरचाहीं आफ्नो अफिसको ढोकामा उभिएर आफूले एउटा राम्रो काम गरेको सन्तुष्टि अनुभव गर्दै उसलाई हेरिरहेका थिए ।
खामभित्र पैसा देखेर लेन्कोले रतीभर पनि अचम्म मानेन । भगवानमा उसको कस्तो विश्वास नि । ऊ पैसा गनेर रिसायो पो । भगवान्ले यस्तो भूल गर्न सक्तैनन् न त भगवानले उसले मागेको कुरा नै अस्वीकार गर्न सक्छन् ।
त्यति नै बेला लेन्कोले त्यहीं कलम र कागज माग्यो अनि बाहिर टेबलमा गएर लेख्न थाल्यो । आफ्नो बिचार राम्ररी व्यक्त गर्नलाई उसलाई मुश्किल परेको निधार पनि खुम्च्याउँदै लेख्न थाल्यो । लेखिसकेर उसले त्यहींं टिकट र खाम किन्यो । खाममा चिठी हालेर बाहिर टिकट टाँस्यो । अनि मुड्कीले थ्याप थ्याप गर्यो ।
बाकसम चिठी खसालेर ऊ हिँडिहाल्यो । बाकसमा चिठी खस्ने बित्तिकै पोष्टमास्टरले त्यो चिठी ल्याएर पढे । त्यहाँ लेखिएको थियो भगवान् मैले मागी पठाएको मध्ये सत्तरी रुपियाँचाहीं मकहाँ आईपुग्यो । बाँकी रुपियाँ पनि पठाईदिनुहोला कारण मलाई पैसाको सार्है खाँचो छ । तर त्यो पैसा हुलाकबाट नपठाउनुहोला । किनभने हुलाकघरमा काम गर्नेहरु सबका सब चोरहरु मात्र छन् ।

(समाप्त)

सभार पुस्तक : बिश्वका उत्कृष्ट १० कथाहरु

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.