कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~Umesh Rai Akinchan

‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको छु । अरू कारण कथाभित्र खुल्दै जानेछ । कुरा आजभन्दा ११–१२ वर्ष अघिको हो । आजजस्तंै म थिएँ, पारु थिइन् र थिए हाम्रा बादलजस्तै उड्ने रहर । अनि एक्वारियमका माछाझैँ नाचिरहने उमङ्ग । भक्तहरूलाई मन्दिरझैँ प्रिय थियो घर नजिकैको कलेज । हामी आँखाका गोजीभरि–भरि सपनाहरू लिएर हिँड्थ्यौँ । हामी हाम्रा कलेज–ब्यागभरि भविष्यका रोडम्याप बोकेर दौडन्थ्यौँ । जीवविज्ञानको विद्यार्थीले भ्यागुता, गड्यौला आदि चिरफार गर्ने निदर्यी काम (मरेकै जीवजन्तु भए पनि) र कैँची,फोरसेप मात्र डाइसेक्टिङ बक्समा राख्दैन थियौँ । त्यो सानो बाकसमा डाक्टर बन्ने रातो अनि उज्यालो घामजस्तो सपनालाई पनि जतनसाथ बोक्थ्यौँ । आफ्नो कुरा गर्दागर्दै यो कथाको मुख्य पात्र र मेरो अनन्य मित्र हिमाल झन्नै छुटेको !

कठोर स्कूले दिन सकिएपछि, सिनेमामा देखाइने कलेजको रुमानी वातावरण कल्पदै म, हिमाल र पारु विराटनगरको तीन कुनाबाट महेन्द्र मोरङ्ग कलेजको एउटै गेटबाट प्रवेश गरेका थियौँ । जो निरन्तर चलिरह्यो दुई वर्षसम्म । अहिलेजस्तो टोलैपिच्छे विज्ञान क्याम्पस खुलेको समय थिएन त्यो । हामी सबैको आर्थिक अवस्था निजी क्याम्पस पढ्न सक्ने भएपनि हामीले सरकारी मोरङ्ग कलेजमा नै भर्ना गरेका थियौँ ।

पानीले आफ्नो सतह आफँै मिलाउँछ भनेझैँ फरक–फरक व्यक्तिहरू भएपनि हामीबीच केही विशेषता मिल्दाजुल्दा थिए । हामी आ–आफ्नो स्कुलका जेहेन्दार विद्यार्थी थियाँै । संयोगले लगभग १०० विद्यार्थीमध्येमा पनि हाम्रो प्रयोगात्मक समूह एउटै थियो । विज्ञानमा सैद्घान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान ठूलो मानिन्छ । प्रयोगात्मक कार्य गर्नुपर्ने हँुदा विज्ञानका विद्याथीबीच हेलमेल बढी नै हुन्छ । म सानैदेखि साहित्यमा रुचि राख्थँे । अनिवार्य अङ्ग्रेजी पढ्नु परेका बेला कथा, कविता पनि म नै उनीहरूलाई बुझाउँथँे । म साहित्यप्रेमी भएकाले उनीहरू परको मानविकी भवन देखाउँदै,आर्टस् पढ्नुपर्ने व्यक्ति साइन्समा ‘डिपार्टमेन्ट मिस्टेक भयो’ भनेर ठट्टा पनि गर्थे ।

एक दिन विशेष काम परेर, रसायन प्रयोगशालामा सरको उपस्थिति भएन । हामीलाई विज्ञानले अति जिज्ञासु बनाएको थियो । के, किन, कसरी ? आदिको घनिष्टतामा विज्ञान बाँच्छ, त्यो हामीलाई थाहा थियो । खाली पिरियड, गुरुको अनुपस्थिति, मलाई एउटा जिज्ञासाको उत्तर खोज्न मन लाग्यो । मैले सोधँे “ए हिमाल ! तँलाई आँसुको रङ्ग कस्तो हुन्छ थाहा छ?” “कहिले रुनु परेको भए पो थाहा हुन्छ, तँ पो भावुक कवि तँलाई नै थाहा होला” उस्ले जवाफ फर्कायो । “पानीको कुनै रङ्ग हुदैन, आँसु पनि आँखाको पानी होे, तसर्थ यसको कुनै रङ्ग हुँदैन” पारुले तर्क पेश गरिन् । “तिमी गुरुआमाले भनेको ठीक कि बेठीक, एक्स्पेरिमेन्ट गरुँला नि !” भनेर मैले टेष्टट्यूब र लिटमस पेपर भेला पारँे । आँसुको रङ्ग त हेर्ने तर आँसु कसरी झार्ने, जटिल समस्या प¥यो । हिमालले बोटनीमा प्याजको सेल तयार पार्दा राखेको प्याज बोकेको रहेछ । मैले त्यही प्याज खेलाउँदा– खेलाउँदै बर्रबर्र आँसु झ¥यो जसले रातो लिटमस पेपर नैै नीलो बनाइदियो । त्यो दिनदेखि आँसुको रङ्गलाई हामी फुच्चे वैज्ञानिकले नीलो भन्न थाल्यौँ ।

मान्छेहरू आँसु नझार्न परे हुन्थ्यो भन्छन् , हामीलाई कुन लहडले त्यस्तो गरायो । अलिकति जिज्ञासा र अलिकति त्यो फुच्चे एक्सपेरिमेन्टको उपयोग मानव जगतका लागि काम लाग्ने कुरै भएन । यद्यपि, हाम्रा कलेजका दिनहरूलाई अविष्मरणीय बनाउँन भने उपयोगी नै भयो जुन आजसम्म ताजै छ ।

यो दशैँमा विराटनगर जानको लागि एयरपोर्टतिर चाँडै बाटो लागेको थिएँ म ।कारण काठमाडौँमा कतिबेला नारा जुलुस, चक्काजाम हुन्छ थाहा नहुने भएकाले केही समय चाँडै आइपुगेको थिएँ टर्मिनल । मेरो ब्यागमा केही पुस्तकहरू थिए । किन–किन मलाई पुस्तक पल्टाउँन मन लागेन । मलाई मान्छेकै अनुहार र हाउभाउ अध्ययन गर्न रमाइलो लाग्यो । एयरपोर्टभित्र कुर्सीमा बसेर चारैतिर फैलिएका आँखा कसो–कसो सेक्युरिटी चेक सकेर भित्र पस्दै गरेकी नारी आकृतिमा अडियो । ६–७ वर्षकी बच्ची समाएकी उनी, मान्छेहरूको भीडमा थिइन् । भीड जति भएपनि आत्मीय अनुहार चिनिँदो रहेछ । वर्षाँै भेट नभए पनि परिचित आँखा सधैँ भेटिरहेझैँ लाग्दोरहेछ । “अहो ! पारु तिमी ? आज कतिपछि भेट भयो हगि हाम्रो ! मलाई चिन्न त चिन्यौ नि ?” म त्यसरी नै बोलेँ जसरी हामी कलेजमा बोल्थ्यौँ । “चिनँे” छोटो जवाफ थियो पारुको । गम्भीर भाव झल्कने उनको मुहारमा ती कलेज लाइफका कुनै अवशेष बाँकी थिएनन् । आज पारुले थोरै बोलेर पनि मलाई धेरै कुरा बताउँन सफल भइन् । वर्षाँैपछि पारुलाई भेट्दा मतिर सम्झनाको तातो हावा बग्न थाल्यो । पारु, हिमाल र कलेजमा बितेका एक–एक पलहरू आँखाअघि नाच्न थाले । गह्रौँ ढुङ्गाले छातीमा थिचेझैँ भयो । म पुरानो गोरेटोको दृष्यतिर फेरि फर्किएँ ।

म लाहुरे परिवारमा जन्मिए पनि सैनिक सेवाप्रति कहिल्यै आकर्षित भइन । पारिवारिक विस्थापन, रातदिनको खटाइ अनि बौद्घिक अभ्यासका कमीले मलाई सैनिक सेवाले छुन सकेन । सबैभन्दा ठूलो कुरा त आफ्नै बाबा– बाजेले अँगालेको पेशाप्रति मेरो मोहभङ्ग भइसकेको थियो । बन्दुक बोक्नेको छोरा–नाती म, कलमले आफ्नै संसार कोर्न चाहन्थेँ । विदेशमा गुमनाम भएको आफ्नो पहिचानलाई स्वदेशमै स्थापित गर्नुपर्छ भन्ने मान्यता हाम्रो परिवारको थियो । जसको जे हुँदैन त्यही हुन मनपर्छ भनेजस्तै हिमाल कोइराला विराटनगरको मध्यम वर्गीय ब्राम्हण परिवारको थियो । सरकारी क्षेत्रमा उसका बुबा, काका, ठूलाबा काम गर्थें ।तर ऊ भने जहिले सैनिक सेवाबाट देशको सेवा गर्ने कुरा गथ्र्यो । हाम्रो घरमा रहेको बाबाको कम्ब्याट ड्रेससहितको ठूलो फोटोमुनिको आर्मी नम्बर–२११५२५८६ देखेर ऊ फुरुङ्ग बन्थ्यो । “हेर् ! एकदिन तेरो साथीको छातीमा पनि यस्तो नम्बर झुन्डिनेछ । अनि तँैले मलाई हिमाल होइन, क्याप्टेन हिमाल भन्नुपर्नेछ ।” “क्याप्टेन किन, सि इन सि (कमान्डर इन चिफ) नै भनुँला नि ! पहिले बनेर त हेर् । बरु नम्बर भने २११५२४२० जस्तो नलिनु नि ! फेरि सबैले क्याप्टेन ४२० भन्छन् ।” “क्याप्टेन नै काफी छ । सि इन सि त बूूढो मान्छे हुन्छ । मलाई बूढो भइन्जेल रहनु छैन ।” मैले जिस्क्याउँदा हिमालको प्रतिउत्तर यस्तो हुन्थ्यो ।

यसरी कलेजका रमाइला दिनहरू अनि पढाइसँगै हाम्रो मित्रता प्रगाढ बन्दै गयो । यहीबीचमा पारु र हिमाल एक अर्कामा नजिक–नजिक बन्दै गए । मलाई पनि अति खुसी लाग्यो । पारु र हिमाल दुबैको आत्मीय साथी भएकाले उनीहरूलाई नजिक पार्न मेरो पनि भूमिका थियो । कलेज वरपर रहेका धूपी, अशोक र मसलाका बोटहरूमा परेका घामछायाँजस्तै कति चाँडै सकिए ती कलेजका दिनहरू !

हाम्रो आइ.एस्सी.को पढाइ सकिएपछि हिमाल र पारु काठमाडाँँैतिर लागेँ । म मेडिसिनको प्रवेश परीक्षा तयारी गर्न पटनातिर लागेँ । पटना र काठमाडौँ भौगोलिक रूपमा टाढा–टाढा भएपनि हामी फोन सम्पर्कमा रहन्थ्यौँ । धरान बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बिÞ बि.एस.को प्रवेश परीक्षाको बेला हामी फेरि सबै एकै ठाउँमा भेला भयाँै । “बि.पी.कोइराला मेडिसिन कलेजमा, हिमाल कोइराला नाती परेछ भनेर निस्कन्छ होला तेरो नाम !”म ठट्टा गर्थेँ । दुर्भाग्य हामी कसैको नाम मेडिसिनमा निस्केन । कलेजका केही साथीहरू आफ्नै खर्चमा एम.बि.बि.एस. पढ्न थाले । कोही चीनतिर मेडिसिन पढ्न लागे । मैले विराटनगरमै बि.एस्सी.पढ्न शुरु गरेँ । हिमाल र पारु काठमाडाँैमै बि.एस्सी. पढ्न थाले । आफूले पढ्न चाहेको विषय पढ्न नसक्नु ,मन मिल्ने साथीहरू टाढा–टाढा पुग्नु आदिले आइ.एस्सी. पढेजस्तो बि.एस्सी. पढ्न उत्साह पनि लागेन । अर्को कारण म बिस्तारै देशभरि सुरु भएको क्रान्तिको नैतिक समर्थन गर्न थालेको थिएँ । देशको पश्चिमी क्षेत्रबाट सुरु भएको क्रान्तिको झण्डा पूर्व क्षेत्रमा आइपुगेको थियो । शिक्षा क्षेत्रमा भएको धनी गरिबबीचको खाडल, औषधी नपाएर मर्ने गरिबहरूको स्थिति, सरकारी कार्यालयमा कागज पत्र बनाउनु पर्दाको सास्ती अनि घुस्याहा प्रवृत्ति, दलित र किसानलाई गरिने हेलाहोचो ।यिनै विभिन्न कारणहरूले मलाई क्रान्तिको पक्षमा उभिन प्रेरित गरेको थियो ।

त्यहीबीचमा एकदिन हिमालले फोन ग¥यो– “मेरो नाम सेकेण्ड लेफ्टिनेन्टमा निस्किया,े ट्रेनिङको लागि भोलि नै खरीपाटी जाँदैछु” एउटै आकाश ओढे पनि, एउटै धर्ती टेके पनि यसरी हिमाल र पारुको संसार अनि मैले बाँचेको संसार फरक हुँदै गयो । एक दिन विद्यार्थी सङ्गठनको सिलसिलामा बैठक भइरहेको ठाउँबाट म लगायत केही साथीहरूलाई प्रहरीले पक्राउ ग¥यो । साहित्यिक संस्था अनि पत्रकार मित्रहरूको सक्रियताले कबुलियतनामा गराई प्रहरीले मलाई छाडिदियो ।

डाक्टर बन्ला, डाक्टर नबने पनि स्वदेशमै नाम कमाउला भनेको छोरो राजनीतिमा त्यो पनि सशस्त्र भूमिगत दलको । यो थाहा पाएर बाबा गम्भीर हुनुभयो । मलाई यथासक्य चाँडो बाबाले नेपाल छाड्ने सल्लाह दिनुभयो । यसरी केही रहर अनि केही बाध्यताबश म उडेँ यू.एस.ए. । हिमाल र पारुको सम्पर्कबाट टुटेको चङ्गाजस्तो जीवन लिएर म विदेशको हावापानीमा रुझ्दै–भिज्दै गएँ । विदेश भनेको हामीले सुनेजस्तो सरल नहुने रहेछ । परिश्रम नगरे खान पनि हम्मे–हम्मे हुने, परिश्रम गर्दा साथीभाइ बिर्सनुपर्ने । डार्विनको ‘बाँच्नका लागि संघर्ष’ को कथाजस्तो । त्यो समय इमेल इन्टरनेटको चलन पनि नेपालमा आजजस्तो थिएन । फेरि हिमाल पनि आर्मी अपरेसनमा कहाँकहाँ पुगिरहने । हिमाल र पारुको विवाह भएको कुरासम्म मलाई थाहा थियो ।

आजभन्दा दुई वर्ष पहिले आमा बित्नु हँुदा नेपाल आएको बेला डा.अमितलाई भेटेको थिएँ । संयोगबश आमाको उपचार गर्ने डाक्टरमा ऊ पनि एक थियो । अमित हामीसँगै आइ.एस्सी.पढेको सहपाठी हो । अमितकै मुखबाट हिमाल यो संसारमा नरहेको कुरा सुन्दा मैले पत्याउँनै सकिनँ । हिमालको मृत्यु गस्तीको क्रममा एम्बुस बिस्फोट हँुदा भएको रहेछ । एकातिर आफ्नी देवताजस्ती आमाको देहवसान, अर्कोतिर प्रिय साथीको मृत्युको खबर, मलाई नियतिले कुट्नु कुटेझैँ लाग्यो । म मानसिक रूपमै थला परेँ । पारु काठमाडौँमा रहेको कुरा पनि अमितले सुनाएको थियो । पारुलाई भेट्ने चाहना उनको फोन नम्बर नहँुदा अधुरै रहेको थियो ।

आज यसरी अचानक पारुलाई भेट्दा म अलमल्ल परेको छु । हिमाललाई सधैँ भन्थेँ, यदि मैले कथा लेखेँ भनेँ पारु र तेरोे प्रणयलाई पहिलो कथा बनाउँनेछु । जिन्दगीको बाटो यति अप्ठेरो भयो कि मैले कहिल्यै कथा लेख्न सकिनँ । जब लेख्न खोजेँ, हिमाल यो संसारबाट टाढा भइसकेको छ ।

आजकल म स्वदेशमै छु । राजनीतिक परिवर्तनपछिको जनजीवनलाई नियाल्दैछु । युद्घ समाप्त भएपनि युद्घले छोडेका पीडाहरू यथावत छन् । फरक यत्ति छ कोही रातो झण्डामाथि आफन्तको सम्झना बुनिरहेछन् । कोही प्रहरी र सेनाको ड्रेसमा आफन्तको छायाँ देखिरहेछन् । आँखा फरक भएपनि झर्ने आँसु सबैको एउटै हो । मुटु बेग्लै भएपनि दुखेको घाउ सबैको उही हो । युद्घ कति भयानक हुँदोरहेछ, म पारुको सपना सुकेको आँखालाई सम्झिरहेछु । युद्घको रङ्ग कति गाढा हुँदोरहेछ, म उनको सिउँदोलाई सोधिरहेछु । आँसुको रङ्ग कति नीलो हँुदोरहेछ, म आफ्नै कथाका हरफहरू पढिरहेछु ।

विराटनगर,हालः कीर्तिपुर
– शनिवार, 8 फागुन, 2066

(स्रोत : Samakalinsahitya.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.