~ठाकुर बेलबासे~
कसरी थामिएँ म
बाढीमा बग्दा बग्दै
बाढीमै रूपान्तरित हुनबाट
पहिरोमा झर्दा झर्दै पहिरोको
डरलाग्दो भीरमा परिणत हुनबाट
कसरी जोगिएँ म
आँधीबेहरीसँग पछारिँदा पछारिँदै
आफैँ आँधीबेहरी बनेर
बहुलाएको साढेँ जस्तो हुनबाट
धन्य ! ईश्वर
म तिमीलाई विपत्ति हरण गराउन
प्रार्थना गर्दिनँ
विपत्तिसँग लड्दा-लड्दा
दुःख र पीडा दौडने राजमार्ग
जस्तो भइसको छु
ईश्वर !
तिम्रो छायाँ
ममा नपरोस्
विपत्तिको यो आकाशजस्तो
प्यारो र पूज्य
अब अर्को मेरो केही रहेन
मसँगै छ उर्लिएको बाढी
मसँगै छ मगज बिगि्रएको
मान्छेको रूपजस्तो पहिरो
अनि मसँगै
यहाँसम्म आएको छ
रक्सीले मात्तिएको जवान सिपाही जस्तो
आँधी हुरी
अब मेरो परिचय
यो बाढी
यो पहिरो
र, यो अत्यास लाग्दो आँधी भएको छ
संसारका भएभरका
विपत्ति मैले नै भोग्नुपर्ने जस्तो
मैले हाँस्नै हुन्नजस्तो
मैले रमाउनै हुन्नजस्तो
म मान्छेका भीडमा
अमान्छेजस्तो
आश्चार्य लाग्छ
कसरी यहाँसम्म आउनसकेँ
भन ईश्वर !
पीडाको अर्को कुनै रूप बाँकी छ तिमीसँग ?