~गीता कार्की~
हुनसक्छ नोरा यही कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफै गाडी कुदाइरहेकी होस्
दन्त्यकथाको शिशिरजस्तै
हराएकी होस् अर्कै भूगोलमा
सायद इब्सेनका आँखाहरूमा
अपराजिता फुलेकी होस् नोरा
इब्सेन फूलका शैय्यामा
भोल्तेयर, दाँते र सेक्सपियर पढिरहेका हुन्
र टोल्भार्ल्डहरू पुतली नचाइरहेका हुन्
पुतलीहरू-
पाउजेबका सङ्गीतहरू रोकेर अनायास
बढारिरहेका हुन् सुकेका पतकरहरू
हुरीपछिको मौन आकाशमा
फेरि ताराहरू बल्छन्
कमल फुल्छ पानीमा
भीडहरूबीच एक्लो यात्रा गरिरहेकी नोरा
विस्थापित हुन्छे यात्रामै
उसका प्रश्नहरूले जवाफ पाऊन्-नपाऊन्
इनसाइक्लोपिडियाका पानाहरू नै उसका अर्थहरू हुन्
क्षितिजका रङ्गहरू नै उसका सपनाहरू हुन्
आफू हिंडेका-नहिंडेका बाटाहरूमा
कतै भीरहरूमा
ऊ अपराजिता फुलेकी होस्
म उसलाई तिनै बाटाहरूका, भीरहरूका
सेता-निला फूलहरू चढाएर
नियाल्छ-
क्षितिज, आकाश र बस्तीहरूमा
र, ऊ भिजेका बस्तीबाट उठेका बाफ
उसका घाउका रेखाहरूबाट कोत्रिएका वेदना
पग्लिरहन्छन् हरपल मेरा आँखाहरूबाट ।