~गोविन्दप्रसाद आचार्य~
बालुवा गिटी जंगल पानी मान्छेको पसिना
माटो र ढुंगा जरा र बुटा पार्दियो असिना
त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो
उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो
(१)
मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा
बालुवा गिटी नदीलाई खोक्रो पारेर लैजाँदा
सरकार कस्तो छोडेको राँगो मनपरी उही गर्छ
राँगालाई थोरै घाँसपानी दिन्छ सम्पदा लैजान्छ
(२)
कोही छैन जस्तो मनपरी गर्ने हामी त ज्यूँदा छौं
टिस्टा नदीमा रगतका खुँडा पखाल्ने हामी हौं
मुर्दाको शासन उर्जाको हुन्न गलेको कर्कलो
सम्पदा लुट्दा हेरेर बस्छ देश पार्छ भड्खालो
(३)
घरका खम्बा ढाल्दामा हाँस्ने मुक्का कंगाल
रगत बेची चुरोट खाने मगन्ते चन्डाल
बाघको छाला स्यालको रजाइँ, लासको शासन
भएन बस्न गनायो अति जिउँदाले बोलन
(४)
पानीका मूल सुकेर गए काकाकुल गरायो
सम्पदा हाम्रा ओसारी लग्यो देश कंगाल गरायो
हिम्मत भए सुगौली सन्धि तोडेर पर जाउन
होइन भने बचेको देश दाँतले नचपाऊ
(५)
सत्विचारले जोगाउँछ देश कुविचार गर्छ नाश
नकमाउने नजोगाउने त्यही हो जिउँदा लास
बनमा जाँदा यी स्याल जस्ता घरमा बाघजस्ता
अल्छी तिघ्रेको स्वादे छ जिब्रो योजना हावाका
(६)
देश र मान्छे च्याखे थाप्नलाई हक छैन जुवाडे
वीरको आशा देशको माटो एक चिम्टी नछाडे
बालुवा गिटी कवाडी होइन टल्किन्छ हिरामा
कीराका कुकुर अर्थको हुन्न टल्किने हीरामा
(७)
भाडाको भन्दा झन् देश घाती सत्तामा बसेका
सम्पदामाथि दाह्रा र नंग्रा धस्नलाई दिएका
मुखमा रामराम भित्र छ छुरा देशलाई काटेका
सत्तामा बसी पसिना रगत पुर्खाको चाटेका
(८)
भैंसीलाई बाजा मुर्खलाई अर्ति कान पनि टालेका
स्वतन्त्र देश कुकुरलाई घीउ नपचिरहेका
लैसक्यो हाम्रो सम्पदा राम्रो देशरित्तो पारेर
शासन चलाउने देश ढलाउने चुप लागि बसेर
(९)
पहाड नदी बालुवा गिटी लगेको नदेख्ने
त्यही छन् हाम्रा सुनका खानी खानेको नदेख्ने
बालुवासँगै सुन पनि गयो हे मुर्ख बोलन
सम्पदा गयो मनपरी भयो नलैजा भनन्
(१०)
डाक्टरहरू सत्ताका आँखा अप्रेसन गरिदेऊ
मनपरी गर्ने शाषकलाई सिमाना कटाइदेऊ
मुर्दामा मन हालेर हुन्न जिउँदाले जाग है
सम्पदा बेच्ने धुर्तलाई अब धरापमा पार है
(११)
(२०६७ जेठ २०, काठमाडौं )
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३० – २०६७ आषाढ २ गते, बुधबार)