~विष्णु प्रभात~
नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले यस्तो प्रचार गनर्ुृको एक मात्र आधारका रूपमा के पेश गर्दछन् भने कम्युनिस्टहरू मार्क्सवादी हुन् र मार्क्सवादले धर्मलाई मान्दैन। त्यसो हुँदा यस प्रचारको तात्पर्य बुझ्न मार्क्सवादले धर्मसम्बन्धी कस्तो धारणा राख्दछ, मार्क्सवादीहरूले धार्मिक विश्वासलाई कसरी हेर्छन् र समाजको विकासमा धर्मको कस्तो स्थान र भूमिका रहेको छ भन्ने विषयलाई समेत खोतल्नु पर्ने भएको छ।
हुनत यस विषयमा धेरै पहिलेदेखि नै छलफल चल्दै आएको छ। पूर्वीय दर्शनमा धर्मलाई मानव मोक्षको साधनका रूपमा मात्र हैन, मानव धारणाको सामान्य अर्थमा पनि लिएको पाइन्छ। मोक्ष र धारणा दुई फरक फरक कुराहरू हुन्। मानव जातिले प्रारम्भमा भोगेकेा अनगिन्ति दुःख पींडा र अभावबाट कसरी मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने चिन्ता र उनीहरूको त्यसबेलाको ज्ञानको साँगुरोपन, यी दुई कुराहरूले उनीहरूमा एकप्रकारको निराशा जन्मायो। तर जीवनलाई न कुनै आशाले आड नदिई असहायपनमा बाँच्न सकिंदैनथ्यो। त्यसै त्यसबेलाका मानव समुदायहरू मोक्ष कामनाको आशामा झुन्डिंदै अघि बढ्न थाले। फलस्वरूप त्यहाँ एउटा आदिम धर्म पैदा भयो, जसमा कुनै ठगी थिएन, शोषण र दोहन थिएन। केवल मानव जातिको कल्याण र जीजिवीषा नै त्यसबेलाका धार्मिक भावनाहरूको आधार थियो। पछि विस्तारै मानव समाजका समूहगत लगाई–एक अर्को गोत्र वा बगाल। माथिको हस्तक्षेप,ले उनीहरूलाई सामूहिक हितको विचारमा बाँधिनु पर्ने बनायो। प्राकृतिक अवस्थाको धार्मिक भावनामा फेरबदल आयो। आवश्यकताको पूर्तिका निम्ति उत्पादन संघर्षमा केन्द्रित समाज विस्तारै वर्ग समाजतर्फ लम्कियो र आर्थिक सवाल केन्द्रविन्दुमा बस्यो। स्वार्थद्वन्द्वहरूको टक्कर बढ्यो। हरेक क्षेत्रमा प्रतिद्वन्दिता देखा पर्न थाल्यो। यसले आवश्यकताको राज्यलाई जन्म दियो, जसले आफ्ो स्वतन्त्र अस्तित्व ठड्याउनासाथ राज्यका नीति, नियम र काम कर्तव्यका रूपमा फेरि अर्को विचारलाई जन्मदिये। यसरी सामाजिक विचारधाराका रूपमा नै दर्शनशास्त्र, धार्मिक धारणाहरू नीजि परम्पराका रूपमा, पितृ पुजा र कुलायन जस्ता प्रचलनको रूपमा क्रमशः जातीय र राष्ट्रिय धर्मका रूपमा हुर्किए, नीजि ईश्वरहरू ठडिए। त्यसैले–“हरेक प्रकारका धर्म मानिसहरूको मस्तिष्कमा ती बाह्य शक्तिहरूको काल्पनिक प्रतिविम्ब बाहेक अरू केही होइन, जसले उनीहरूको दैनिक जीवनलाई नियन्त्रित गर्दछ। यस्तो प्रतिविम्ब जसमा लौकिक शक्तिहरूले अलौकिक रूप धारण गर्दछन्। इतिहासका आरम्भिक दिनहरूमा प्राकृतिक शक्तिहरू नै यस प्रकारका प्रतिविम्ब हुन्थे, पछि विकासक्रममा भिन्न जातिका मानिसहरू बीच यी शक्तिहरूले अनेकौं वर्ण बान्किका रूप ग्रहण गरे।” सामाजिक, आर्थिक र विचारधारात्मक संघर्षहरू बढे। फलस्वरूप धर्महरू पनि वर्गीय प्रभुत्व कायम गर्ने हतियारका रूपमा प्रयोग हुन थाले। चिन्तन र अस्तित्वको आपसी सम्बन्ध टुक्राउँदै धर्माधिकारीहरूले झुठ र कल्पनाको सहारामा धर्मको प्राचीन स्वरूपलाई नष्ट पारे, मानव कल्याणको सिंगो ल73यबाट खसालेर पुरेतहरूको ठग विद्याका रूपमा धर्मलाई स्थापित गरे।
त्यति भएर पनि धर्म मानव इतिहासकै उपज हो र यो सामाजिक विचारधाराका विविध रूप मध्येको एउटा रूप हो। प्राकृतिक र सामाजिक उत्पीडनका स्वरूप र कारणहरूबारे सही समझ हासिल नभएको स्थितिमा जन्मेर पनि प्रायः सबै धर्महरूले शुरूमा मानव जातिको बहुसंख्यक हिस्सामाथि अल्पसंख्यक हिस्साद्वारा पैदा गरिएका शोषण, उत्पीडन, अभाव र दरिद्रताको स्थितिबाट मुक्ति दिने घोषणा गरेको पाइन्छ। अहिले पनि धर्मले आफ्ना अनुयायीहरू विशेषगरी मानव जातिको असहाय हिस्सा गरिब, दुःखी, उपेक्षित एवं श्रमजीवीहरू बनुन् भन्ने चाहना राखेको पाइन्छ। किनकि ती जनसमुदायको चेतना न्यून छ र विपत्तिबाट कसरी मुक्त हुने भन्ने चिन्तामा उनीहरू नै बढी छट्पटिएका छन्। पहिले पनि सुखी जीवनको लालसामा नै मानिसहरू धर्मप्रति आकर्षित भए र अहिले पनि सुखी र समृद्ध जीवनको चाहना लिएर थुप्रै नेपालीहरू इसाई वा बौद्ध बन्दैछन् र यस्तै लालसाको प्रेरणामा नै बौद्ध र इस्लाम धर्महरूले शुरूमा जन समर्थन र सहयोग पाएका थिए। पश्चिमी संसारमा प्रचलित इसाई धर्मको ऐतिहासिकतामा पनि करिब करिब यस्तै तथ्य रहेको औल्याउँदै एंगेल्स भन्नुहुन्छ–“आधुनिक मजदुर आन्दोलन जस्तै इर्साइ धर्म पनि शुरूमा उत्पीडित मानिसहरूको आन्दोलन थियो। सबभन्दा पहिले त्यो दासहरू र दासत्वबाट मुक्त भूदासहरू, समस्त अधिकारबाट बञ्चित गरिब मानिसहरू, रोमद्वारा गुलाम बनाइएका अथवा छिन्न भिन्न पारिएको जातिको धर्मको रूपमा अगाडि आयो।” इसाई सधर्म तथा मजदुरहरूको समाजवाद दुवैले गुलामी र उत्पीडनबाट मुक्तिको सन्देश नै दिन्छन्। फरक कति छ भने अघिल्लोले यस्तो मुक्ति मरेपछि अर्को जीवनमा स्वर्गमा, प्राप्त हुन्छ भन्छ र पछिल्लोले यस्तो मुक्ति यसै दुनियाँमा समाजलाई बदलेर प्राप्त हुन्छ, भन्दछ। इतिहास जस्तो रहेको भए पनि वास्तवमा धार्मिक विश्वास भावनात्मक धारणा मात्र हो र त्यो व्यक्तिको नीजि आस्थामा अडिएको हून्छ। सामाजिक रूपमा भने, धर्म भनेको काल्पनिक कुरा नै हो र त्यो अज्ञानको आँगनमा तर्कको ली टेकेर उभिएको हुन्छ। जबसम्म विज्ञानले सिद्ध गरेका तथ्यहरूद्वारा अज्ञानको साम्राज्य समूल नष्ट पारिंदैन, तबसम्म धार्मिक भ्रमजाल रहिरहन्छ।
सबै धर्मले बस्तुगत जगतलाई झुटो मान्ने हुँदा प्रकृतिको सत्यतालाई स्वीकार्दैनन र मानव जातिभन्दा परको शक्तिशाली मानव अस्तित्वको फजुल कल्पनामा डुब्दछन्। मार्क्स भन्नुहुन्छ–“धर्म त्यस्तो मानिसको आत्मचेतना वा अनुभूति हो–जसले या त अहिलेसम्म आफ्नै अत्तोपत्तो पाएको छैन, या त पाएर पनि त्यसलाई बिर्सिसकेको छ। ” यसको तात्पर्य हो–अस्थायित्व। अर्थात् धर्म भनेको सामाजिक चेतनाको अस्थायी रूप हो, जो प्रकृतिबोधको अज्ञानतामा जन्मन्छ र वैज्ञानिक ज्ञान प्राप्त हुनासाथ खतम हुन्छ। तर यसको अर्थ धर्मका तत्वहरू पनि विज्ञानको विकासबाट नष्ट हुन्छन् भन्ने होइन। किनभने धर्मका तत्वहरू मानव विचारधाराको रूपमा अन्य शास्त्रहरूसँग पनि सम्बन्धित छन्। जस्तो कि तार्किकता, भावनात्मकता, सेवाभाव र निर्माणकलाहरू । त्यतिमात्र हैन धर्मका भौतिक सम्पदाहरूलाई पनि विज्ञानले नष्ट गर्दैन। धार्मिक संस्थाहरू, गुठी मन्दिर, विहार घ्याङ, चर्च–मस्जिद र गुरूकुल–आश्रमहरूको ऐतिहासिक महत्वलाई ध्यानमा राखी पुनः संगठित गरिन्छ, जिर्णोद्वार गर्दै सुरक्षित राखिन्छ। फगत तिनीहरूद्वारा गरिने अनैतिकता, शोषण र अमानवीय कार्यको एकाधिकारलाई नै विज्ञानले ध्वस्त पार्नेछ र यसै अर्थमा धर्मले रचेको झुटो स्वर्ग र कल्पनाको सुखी संसार समाप्त हुनेछ।
वास्तवमा मार्क्सवादी मान्यतामा धर्म भनेको उल्टो विश्व चेतना हो। प्रकृतिलाई मानवीकण गर्दै अलौकिक कल्पनामा रमाउने सिद्धान्तको रूपमा धर्मशास्त्रहरू रहेका छन्। मार्क्स भन्नुहुन्छ–“धर्म उल्टो संसारको आम सिद्धान्त हो, त्यसको संक्षिप्त विश्वकोष हो, लोकप्रिय रूपमा त्यसको तर्कशास्त्र छ , आत्मिक सम्मानको गौरव छ, श्रद्धाको उन्माद छ, नैतिक शक्ति छ, पवित्र परिपूर्णता छ, सान्त्वना र समर्थनको सार्वभौम आधार छ। त्यो मानव जातिको मूलभूत सारको काल्पनिक साकार रूप हो। किनभने मानवजातिको मूलभूत सारको कुनै साँचो वास्तविकता छैन।” यस भनाईले के बुझाउँछ भने छे छैन त्यसलाई छ भन्दै र अवतारहरूमा गन्दै धर्म अघि बढेको छ। मार्क्सले अगाडि भन्नुभएको छ–“धार्मिक पीडा वास्तविक पींडाको अभिव्यक्ति र त्यसका विरूद्धको विरोध प्रदर्शन पनि हो। धर्म उत्पीडित प्राणीको कहराई हो, एउटा हृदयहीन दुनियाँको हृदय हो, त्यस्तै कुनै आत्मविहीन स्थितिको त्यो आत्मा हो र जनताको नशा हो। त्यसैले जनताको बीचमा रहेको यो झुटो भ्रम सुखलाई उनीहरको वास्तविक सुखका निम्ति उन्मूलन गर्नु आवश्यक छ।” वास्तवमा भ्रान्तिहरूको सहारामा टिकेका धार्मिक प्रपञ्चहरूको आलोचनाले मानिसलाई भ्रमहरूबाट मुक्त पारिदिन्छ र मानिसलाई आफ्नो परिस्थिति आफै निर्माण गर्न सक्ने बनाउँछ। सत्यभन्दा परको संसार मार्क्सवादले मान्दैन। त्यति भएर पनि मार्क्स धार्मिक स्वतन्त्रताको पक्षधर हुनुहुन्थ्यो। सामाजिक, आर्थिक परिस्थितिमा रूपान्तरण नगरी धार्मिक जडतालाई अन्त्य गर्न नसकिने तथ्यप्रति प्रशासनिक जवरजस्तीको विरोध गदर्ैै आएका हुन्। वैज्ञानिक शिक्षा दीक्षाद्वारा अन्धविश्वासलाई प्रभावहीन बनाउनुपर्ने आवश्यकता औल्याएका हुन्।
राज्यको निर्माण धर्मद्वारा हैन स्वतन्त्रताको सिद्धान्तद्वारा हुन्छ भन्ने तथ्यलाई मार्क्सवादीहरूले नै सर्वप्रथम अघि सारेका हुन्। कुनै पनि राज्यमा एक पटक अनेक धार्मिक सम्प्रदायहरूलाइ यदि समान अधिकार प्राप्त भयो भने अन्य धार्मिक सम्प्रदायहरूका अधिकार नखोसिकन त्यस्तो राज्य फेरि धार्मिक राज्य बन्न सक्दैन। त्यसो भएर नै कम्युनिस्टहरूले उठाएको धर्म निरपेक्ष राज्यको मागलाई दरबारिया निरंकुशतत्वहरूले पन्छाए। व्यापक जनताको विरोध हुँदाहुँदै पनि संविधानमा हिन्दुराज्यको प्रावधानलाई भित्र्याए। वास्तवमा कम्युनिस्टहरूे नै धर्मको सामाजिक भूमिकालाई राम्ररी देखेका छन्। उनीहरू धर्मले मानव कल्याणका निम्ति खेलेको सकारात्मक भूमिकालाई देख्दा त्यसले मानव श्रमको शोषण कार्यमा खेलेको नकारात्मक भूमिकार्ला झुल्दैनन् एकातर्फ मानव जातिबीच समान सम्बन्ध कायम गर्न धर्मले बसु धैव कुटुम्बकम् आदर्श पेश गर्दै आपसी प्रेम, सद्भावना र एकताको स्थापना गर्न मानव जातिलाई परोपकारमा संलग्न गराएको छ भने अर्कोतर्फ जाति, सम्प्रदाय र धार्मिक कट्टरताका अनगिन्ति भेदभावदेखि मानव संहारी युद्धसम्मका गतिविधिहरूमा पनि लगाइरहेको छ। कलह र अशान्तिको डढेलो लागिरहेको छ। धर्मका अनेकौं रूपहरूचि शत्रुतापूर्ण द्वन्द्व चलिरहेको छ। एकले अर्कोका विरूद्धमा प्रचारबाजी मात्र हैन रक्तरञ्जित युद्ध समेत चर्काएका छन्।
जाति र सम्प्रदायबीच विद्वेष भड्काएका छन्। कम्युनिस्टहरू यस्तो स्थितिको अन्त्य चाहन्छन्। विश्व शान्ति, प्रगति र मानव जातिको हितमा समर्पित भै समृद्ध जीवन निर्माण गर्न चाहन्छन्। त्यसो हुँदा उनीहरू धर्मे फलाक्दै आएको –“मानिसलगायत सम्पूर्ण जीवजन्तुको सृष्टि ईश्वरले गरेको हो” भन्ने झुटो कुरालाई विज्ञानले कसरी गलत सावित गरिदिएको छ भनी जनतालाई बताउन चाहन्छन्। जीवन, ज्ञान, व्यवहार र युग कसरी एक अर्काबाट प्रभावित हुन्छन् भनी औंल्याउन चाहन्छन्। तर धर्मको नाममा पापको रजाईं चलाएकाहरू यस कुराबाट निकै डराउँछन् र उनीहरूले कम्युनिस्टहरूको विरूद्धमा अनेकौं झुट्टा प्रचारहरू शुरू गर्दछन्।
प्रकृति, समाज र मानव जातिको सम्बन्ध र जीवन व्यवहारमा आइपर्ने दैनिक काम कुराहरूलाई जबसम्म व्यवस्थित र वैज्ञानिक ढंगबाट बौद्धिक चेतनाको प्रयोग गरी समाधान गरिन्न, तबसम्म निराकार एवं अवास्तविक मानवको उपासना गर्ने धार्मिक भ्रमहरूले मानव जातिलाई अल्झाई रहन्छ। युगको फेरबदलसँगै कहिले धार्मिक राज्यको धारणामा, कहिले धर्मपालक राजतन्त्रको धारणामा त कहिले धार्मिक सुधारको बहानामा धर्मले आफुलाई व्यक्त गर्ने गरेको छ। राज्यसत्ता र धर्मलाई जोडेर अतितमा पनि विज्ञानको प्रगतिमा बाधा तेर्स्याइएको थियो र अहिले पनि त्यो क्रम टुंगिएको छैन। त्यसैले मार्क्सवादले धर्मलाई राज्यसँग गाँस्ने र विज्ञानको विरूद्ध उभ्याउने काम कुरालाई विरोध गर्दछ। मार्क्सवादको के ठहर छ भने –“एक पटक जब मानिस र प्रकृतिको सार बस्तु प्राकृतिक जीवको रूपमा मानिस र एउटा मानवीय यथार्थको रूपमा प्रकृति भन्ने तथ्य व्यवहारिक जीवनमा इन्द्रिय ग्राहय अनुभवबाट बोध हुन्छ तब व्यवहारमा प्रकृति र मानव भन्दा परको कुनै अलग जीवनको खोजी असम्भव बन्दछ।” त्यसैले यतिबेला मानव जाति माझ देखा परेको अजनवीकरणको अन्त्यका निम्ति धार्मिक भ्रमहरूको श्रृंखलाबद्ध आलोचना गर्ने काम अत्यन्तै जरूरी हुन पुगेको छ। यस्तो माग गर्नुको मतलव मार्क्सवाद पनि निरिश्वरवाद जस्तै हो र दुवैको रूपमात्र फरक छ भन्ने होइन। निरिश्वरवादले भूतप्रेत, देवी देवता, पूर्व पुनर्जन्म, अलौकिक शक्तिको सत्ता र सबै खाले धार्मिक धारणालाई त अस्वीकार गर्दछ तर मार्क्सवादले झैं दर्शनका सबै सवालहरूमा व्यवस्थित र वैज्ञानिक दृष्टिकोण र पद्धतिहरूद्वारा मानव जातिको पूर्ण मुक्तिको पथ प्रदर्शन गर्न असफल छ। त्यसैले स्पीनोजा र फायरबाखका कमजोरीहरूलाई मार्क्सले आलोचना गर्नुभएको हो। त्यति भएर पनि धार्मिक सवालका बारेमा निरिश्वरवाद र मार्क्सवादमा धेरै कुराहरू मिल्दाजुल्दा पनि छन् र दुवैको दार्शनिक आधार सचेत वा अचेत रूपमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद रहेको छ।
त्यसो भए मार्क्सवादीहरू नास्तिक हुन्छन् त? निश्चय नै। तर नास्तिकता भनेको परपीडक विचारधारा होइन। यो त केवल मान्यता हो। प्रकृति र मानव सम्बन्धको सोझो समक्ष हो। त्यसैले सामाजिक व्यवहारमा आस्तिकता र नास्तिकताको द्वन्द्व विचारधारात्मक क्षेत्रमा मात्र रहन्छ। मार्क्सवादी राज्यप्रणालीले धर्मलाई नीजि आस्थाको रूपमा ग्रहण गर्ने वा नगर्ने छुट दिने हुँदा मानव सम्बन्धमा यसले प्रतिकूल असर पार्दैन। स्वयं मार्क्सवादी राज्यप्रणाली नै बहुसंख्यक जनताको प्रतिनिधित्व गर्ने –बहुलवादी समाजको रूपमा रहेको, जनतन्त्र हो। त्यसले उत्पीडित जनताको पक्ष लिन्छ र नीजि, साझा एवं राजकीय स्वामित्व रहने मिश्रित अर्थतन्त्र अपनाउँछ। धर्मलाई विचारधाराको एउटा शाखाको रूपमा लिन्छ र राजनीतिसँग त्यसलाई गाँस्दैन। एउटै वाक्यमा भन्ने हो भने मार्क्सवादी धार्मिक नीति धर्म निरपेक्ष हुन्छ। मार्क्सवादले धार्मिक स्वतन्त्रता दिन्छ र धर्मको पक्षमा अथवा विपक्षमा लेख्ने, बोल्ने छुट दिन्छ। मार्क्सवादी राज्य व्यवस्थामा एकातर्फ हरेकलाई आफ्ना रीति रिवाजका असल परम्परा जोगाउने हक हुन्छ भने अर्को तर्फ धर्मको नाममा गरिने शोषणहरू टुनामुना, लामाझाँक्री, भूतप्रेत र बोक्सीको छाँटापारी भ्रम फिंजाउने वा त्यसका माध्यमले धन कमाउनेलाई रोक लगाइन्छ। विज्ञानलाई मानव जातिको सेवामा लगाइन्छ र वैज्ञानिक ज्ञान युक्त नयाँ सांस्कृतिक चेतनाको प्रचारप्रसारमा जोड दिन्छन्। जबसम्म धार्मिक कार्यले सामाजिक कार्यमा बाधा पुर्याउँदै तबसम्म राज्यले तिनीहरूप्रति कुनै हस्तक्षेप गर्र्दैन। धार्मिक स्थलहरू सुरक्षित गरिन्छन् र तिनलाई मानव सभ्यताको अध्ययन 73ँेत्रका रूपमा विकसित पारिन्छ, धार्मिक खोज कार्य अघि बढाइन्छ र अन्तर धार्मिक समुदायबीच आपसी सद्भाव, आदानप्रदान र सहयोग बढाइन्छ।
जाति, धर्म र क्षेत्रका आधारमा देखापरेका भेदहरू हटाउन सहजीवन र अन्तरजातीय एकता बृद्धि गर्ने नीति लिंदै त्यस्ता कार्यहरूलाई प्रेरणा, सहुलियत र संरक्षण प्रदान गरिनेछ। धार्मिक संस्था र व्यक्तिहरूलाइ पनि सार्वजनिक एवं राजकीय कार्यकलापमा सहभागी गराइनेछ। यसरी सिंगो मानव जातिको हितमा समस्त धार्मिक कार्यलाई अघि बढाइनेछ। तर यी कुराहरूको उल्टो धर्मलाई पुरानै ढाँचामा, शोषणको औजारका रूपमा, धन कुवेरहरूको स्वार्थपूर्ति गर्ने साधन बनाउन भने पाइँदैन। त्यसैले मानिसका निम्ति मानिस नै सर्वोच्च तत्व मान्ने मार्क्सवादीहरूले धर्मको आलोचनालाई तबसम्म जारी राख्ने छन्– जबसम्म त्यसले मानव जातिको अवनति र दासतालाई उचित ठहर्याउँदै वैभवशालीहरूको सेवा गर्छ।