~केशव शिलवाल~
म हुँ एक प्लेकार्ड
राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित
जी-दशको बैठकस्थल अगाडि बोकिएको
एकदमै ओसिलो आँसु जतिकै
फुलेको मसिले लेखिएको
संधै फोहर कुल्चिएझैँ कुल्चिएको
मेरो अस्तित्व
आज मई दिवस
फेरि काम आउँछ मेरो
टन्टलापुर घाममा माछा सुकाएझैँ
फेरि सुकाइन्छु म
मेरो औचित्य मात्र त्यति
आज गरिबी दिवस
फेरि लिन आउँछन् ट्रकहरु मलाई
राजधानीको गरिबी निवारण प्रोजेक्टमा
त्यहाँ छ-
एउटा भव्य राष्ट्रिय समारोह
मैले सुन्नेछु गरिबी निवारणका भाषणहरु
म हुँ एक प्लेकार्ड मलाई नै बोकेर तिनीहरुले
मागेका थिए गणतन्त्र र लोकतन्त्र
मलाई नै बोकेर तिनीहरु
सहभागी थिए जनयुद्धमा
खोज्ने हो भने नयाँ घाम
शासकको खल्तीमा नखोज
यही प्लेकार्डमा खोज
मानवताको नाङ्गो तस्वीर हेर्नुछ भने
यही प्लेकार्डमा हेर
त्यहाँ टाँगिएको छु म
संसारको सबैभन्दा निर्धन र निर्दोष मानिस
जो बारम्बार बन्छ प्लेकार्ड
फगत म हुँ एक प्लेकार्ड
जहिले पर्छ आवश्यकता
तासको तुरुपझैँ फ्याँकिन्छु देशझैँ
फैलिएको खालमा प्रदर्शन गरिन्छु क्रुसिफाइडझैँ
एउटा लुलो लठ्ठीमा ल्वाङ्ग किलाले ठोकिएर
निषेध छ मलाई
प्लेकार्डबाट बाहिर निस्कन
खुम्चिएर बस्नुपर्दा प्लेकार्डमा
गर्धन दुखेको छ
कुँजिएका छन् मेरा हातखुट्टाहरु
मुक्त गर
मलाई प्लेकार्डबाट मुक्त गर
बन्द गर
मलाई प्लेकार्ड बनाउन बन्द गर ।
May 6, 2009
(स्रोत : PraLeSh – Lalitpur)