म सादा कागजको रिम
लेख ! तिम्रो सिद्धान्त…
चुपचाप सहि दिन्छु ।
पहाडले आकाश हेरे झैं,
आकाशले पहाड नियाँले झैं-
म त्यही अक्षरसहरुमा
तिम्रो/जीवनको रस निचोर्छु
बौद्धिक छलाङ,,,,,
मेरो निख्लम मनको
स्वऐन्द्रिक सम्भोगको भोगले
आयामलाई गर्भवती बनाएर
जन्माउँछु, एउटा तेन्जिंङ नोर्गेको साहास !
मनको झ्याउँकिरी बास्दैछ,,,,,
किरीकिरीकिरीकिरीकिरी
र भन्छ-
सिसीफसको अभिसाप जीवनलाई
अचेतनको साँपले
अब डस्न नदेऊ !
म चिद्वैषम्यताको ज्यानले
एक खेलक बनेर
अनेक शब्दहरुमा खेल्छु
र मनोवेगले इच्छाको
बेली-चम्पा फुलाउँछु
यत्र-तत्र, तत्र-यत्र = सर्वत्र !
तिमीले देखेको गोबर ‘म’
स्निग्ध ताराहरु धर्तीमा
बर,बर खसेको क्षण
शितसंग साईनो गाँसेर
लिम्ची फूलको अस्तित्व बचाउँछु ।
कि
जहाँ सबै जीवन र जगत-
रोमियो जुलियट भएर बाँचुन्
म भित्रै…………………..
तिमीले देखे/सोचेको ढुंगा ‘म’
म ढुंगा कहलाउन मन्जुर छु ।
मूर्त रुपको गहिराईमा अमूर्तता-
जस्को आँखाले जसरी हेरे पनि हुन्छ – ले
म तिम्रो दृष्टि-स्वतन्त्रमा बाँच्छु/बाँच्नेछु।
कि एक मूर्तिकारले मूर्ति बनाओस
जहाँ उसका जीवनका खुसीहरु
मै भित्र खोपीयून-
एक अवोधले देउता मानोस्
जहाँ उसका जम्मै आस्थाहरु भेटुन्-
जीवनको लक्ष = आफ्नो अस्तित्वको खलो
कि ढुंगा कुँदेर बेघरबार सबैले
एक-एक घर बनाऊन्
कि नाङ्गो आस्थाका धरोहरलाई
विषक्त काँचुली फालेर
यो धर्तीको नयाँ आवरण !
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)