१.
यति धेरै दिन,
मलाई थाहा छैन
तिम्रो स्पर्शबिना,
म घाउ कहराएर
मलम नहुँदा
जीवनको दुख सहँदै
म कसरी बसेँ हुँला ?
२.
आँखाका ज्योतिमा
घाम लुकाएर
उजेलोको पहिलो किरण
तिमी आउँथ्यौ
र म देखिन्थेँ
यतिका दिन
बाक्लो अन्धकारमा
म कसरी बसेँ हुँला ?
३.
कोपिला फुक्थ्यो
पछ्यौरीको हावाले
फूल हाँस्थ्यो
चुपचापका पदचापले
मुर्झाएको बगैचामा
यतिका दिनसम्म
ओइलाएका पात हेरेर
बिना फूल
फूलकै प्रतीक्षामा
म कसरी बसेँ हुँला ?
४.
तिम्रो इसारामा
प्रत्येक गास उठाएर
खाने म,
मेरो रुचि र अरुचि बारे
पोख्त तिमी
मैभन्दा पनि धेरै
यतिका दिन
बिना स्वाद, भोजनहीन
म कसरी बसेँ हुँला ?
५.
म गल्ती बोल्थेँ
र तिमी सच्याउँथ्यौ
बोलीको बाली उठाउने बेला
वियोगले सन्तुलन नभएको
लरबरिएको मन
बेसुरा जिब्रो
थुप्य्राइएका शब्द
र भावहीन वाक्यमा
आफै पोतरिएर
म कसरी बसेँ हुँला ?
६.
प्रत्येक सिर्जना
र प्रत्येक बिम्बका
पहिली श्रोता तिमी
अथाह मनका
अनन्त सिर्जना
श्रोताहीन र जन्महीन,
मनमै दबाएर
प्रसवमा छटपटिएझैँ
बिना सिर्जना
यतिका दिन
म कसरी बसेँ हुँला ?
७.
ओठको कम्पन
छातीको धड्कन
आँखाको माद
शब्दको आहत
आहटको आभाष
वस्त्रको स्पर्श
इशाराको बोली
एकत्वको आनन्द
साथको सान्त्वना
केही पनि त छैन
यतिका दिन
म कसरी बसेँ हुँला ?
विराटनगर, २०६१ चैत्र
Issue : 2005
(स्रोत : Pardesh.com)