~गोविन्दप्रसाद आचार्य~
तिमी आतंकको आगो बालेर,
निभाउँने स्वाङ रचिरहेछौं !
तिमी विचार होइन ,
विश्वलाई आतंकको विष बाँडिरहेछौं !
तिमी विचारका जोगी,
र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ !
तिमी मान्छेलाई घैटोमा कुहाएर
रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ !
जन्माएर मार्न तिमीले आफ्नो आनन्द मान्दा रहेछौं !
तिमी पालेकालाई विष हालेर मार्दा रहेछौ !
विनलादेनमा रिस छैन, रिस हाल्ने तिमी,
विनलादेनमा विष छैन विष हाल्ने तिमी,
विनलादेनको रित्तो हातमा बन्दुक छैन,थमाई दिने तिमी
पड्काउन जानेको छैन सिकाउने तिमी !
अहिले,
उसले छाडेको त्रास तिम्रो मृत्यु बनेर आइरहेछ
लादेन भयो–तिमीलाई मारेर भयो
लादेन भयो तिमीलाई जितेर भयो
तिमी बाँच्यौं लादेनले मारेर बाँच्यौं !
तिमी बाँच्यौं विनलादेनको जुठो बाँच्यौं
तिमी हाँस्यौं विनलादेनको त्रास हाँस्यौ
तिमी तातो मुटु होइन, चिसो मुटु बाँचिरहेछौ
तिमी हाँस्छौ त्रास हाँसिरहेछ
विनलादेन भयो तिम्रा त्रासका दिनका विष रोपेर
लादेन भयो तिमीलाई मृत्युको मुखमा चपाउन आर्दश दिएर
तिमी मान्छे होइनौं पशुले खाने झार भएछौं
तिमी संघर्ष होइनौं काल सँग हार भएछौं !
उसले तिमीलाई आँशुमा डुबाएछ
तिमी हाँसेछौ तर आँखाबाट आँसुको भेल बाढी बगिरहेछ
तिम्रो त्रासमा ढुंगा लाग्दा बिन लादेनको याद आउँछ
सूर्यको पहिलो झुल्का देख्दा
तिमीलाई बिनलादेन आए जस्तो लाग्छ
खाँदा विनलादेन, उठ बसमा विनलादेन
भोक तिर्खामा विनलादेन, हिंड्दा डुल्दा विनलादेन
छुँदा समाउँदा बिनलादेन, ज्ञानध्यानमा विनलादेन
नानीको कोक्रोमा विनलादेन पाइलापाइलामा विनलादेन,
लुगामा विनलादेन, रूघामा विनलादेन
हरेक हावाको झोंकामा आइरहेछ
तिमी बाँसुरी बजाउ त्यहाँ विनलादेन बच्छ
विनलादेनको त्रासले तिम्रो टाउको टनटनी दुख्नुपर्छ
विनलादेनले तिम्रो टाउकोमा पिनास पार्नुपर्छ
पिनासले तिम्रो विश्व आतंक विनास पार्नुपर्दछ !
तिमी मैनवत्ति निभाएर सूर्य निभाएको घोषणा गछौं
र त पागल बन्छौ !
तिमी अरिंगालको गोलामा ढुंगा हान्ने प्रयास गछौ
र त काललाई कलेजो चढाउँछौ !
तिमीलाई उसको साहसले त मार्यो मार्यो
अहिले लासले पनि मारिरहेछ
तिम्रो हारेको कर्म नरकको यात्रा दुखेको स्वर्ग
टुटेको जीवन विनलादेनको खेलौना भएछं
तिमीले यो धर्तीको हावा नखाए हुन्छ
मुखभित्र विनलादेन पस्न सक्छ !
तिमी बाजा बझाउँदा नाँचको तालमा विनलादेन आउँछ
आउँछ विनलादेन बदला लिन आउँछ
आउँछ विनलादेन जिब्रो थुत्न आउँछ
आउँछ विनलादेन तिम्रो नरक भएर आउँछ
त्यो फेरि आउँछ तिम्रो स्वर्ग खोस्न आउँछ
विनलादेन आफू भयो तिमीलाई मारेर
आफू बाँच्यो तिमीलाई मारेर
कता लुक्छौ त्यो फेरि आउँछ
त्यो तिम्रो मृत्युु सुनाउँदै आउँछ !
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २७ – २०६८ जेष्ठ ११ गते, बुधबार)