~नारायण शर्मा~
भेडा हेर्ने गोठालोको के सुनाउ र कथा
बेहाल छ झनै अझै उँट चराउनको व्यथा
महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु
बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु
धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो
मन बुझाउन सारो भो, बाँच्न झन अप्ठ्यारो भो ….
आफ्नो प्यारो मातृभूमि र जहान लालाबालाहरूलाई चटक्कै छोडेर परदेशीने रहर त कसलाई हुन्छ होला र? तर पनि परदेशीएका छन् लाखौं नेपाली युवाहरू। देशभित्र रोजगारीका अवसर नपाएपछि बाध्य भएर विदेशी भूमिमा रगत र पसिना बेचिरहेका प्रवासी नेपाली मजदुरहरूको व्यथा निकै कहालीलाग्दो छ। त्यही कहालीलाग्दो व्यथाको यथार्थ चित्रण बोकेर एउटा भिसीडि बजारमा आइपुगेको छ – क्षितिजपारि। उपरोक्त गीत त्यही भिसीडीमा समेटिएको गीतको एउटा टुक्का थियो।
कतार नेपाली एकता समाज अन्तरगतको रक्तिम सांस्कृतिक अभियान कतारको प्रस्तुतीमा आएको भिसीडि क्षिजितपारिमा प्रवासी नेपाली मजदुरहरूका यथार्थ कथाहरू उनिएका छन्। क्षिजितपारिमा मात्र प्रवासी मजदुरहरूका व्यथाहरू समेटिएका छैनन्, त्यसरी दर्दनाक जीवन बिताइरहेकाहरूलाई संगठित हुन आव्हान पनि गरिएको छ। भिसीडिमा रहेको “रातो सलाम” बोलको पहिलो गीतमै त्यहाँ भनिएको छ :
यो धर्तीभरि पसिना झार्ने, संसारभरका मजदुरलाई
गास बास नपाइ भोकै र नांगै जिउने ती दुखीलाई
रातो सलाम, रातो सलाम, सलाम छ तिमीलाई
क्षितिजपारिका सलाम छ तिमीलाई ……..
क्षिजितपारिभित्र परदेशिएका नेपालीहरूको दर्दनाक व्यथा मात्र होइन परदेशी दाजुभाई संम्भि्कएर आँशुको भेल बगाइरहेका दुःखी चेलीहरूको बेदनालाई पनि समेटिएको छ। दाजु बहिनी र दिदी भाईको रमाइलो मिलन बनाउने चाड तिहारका बेलामा जब परदेशीएका दाजुभाइहरू स्वदेशमा आउन पाउँदैनन् तब ती चेलीहरूको मन कति रून्छ होला? हामी सबैले देखे भोगेकै यथार्थ हो यो। क्षितिजपारि भित्र यही रमाइलो चाड तिहारका बेला आफ्ना परदेशी दाजुभाईको सम्झनामा नेपाली चेलीहरूले बगाएको आँसुबाट लेखिएका गीतहरू पनि रहेका छन्। भिसिडीमा समेटिएको “नेपाली माटो…” बोलको गीतमा आँसु पुच्छदै चेलीहरूले आव्हान गर्छन् :
फर्क अब दाजुभाई देश बचाउन
विदेशीन बाध्य पार्ने थिति हटाउन
नेपाली माटोले भन्छ तिमीलाई
विदेश पसी बिर्सियौं कि गाउँघरलाई
सम्झदै छौ दाजुभाई ….
भिसीडि क्षिजितपारिमा समेटिएका गीतहरूमा प्रवासी मजदुरहरूका समस्याहरूलाई उजागर मात्र गरिएको छैन, ती समस्याहरूबाट पार पाउने जुक्ति पनि सिकाइएको छ। प्रदेशी भूमिका नारकीय जीवन बिताउन बाध्य प्रवासी नेपाली मजदुरहरू त्यही जुक्ति सिक्दै हिजो आज संगठित पनि भैरहेका छन्। त्यही संगठन मार्फत् उनीहरूले आफूहरू परदेशिनु पर्नाको कारण खोतल्न थालेका छन्। कुरा बुझेकाहरू अब कहिल्यै पनि नपरदेशिने वाचा गर्दै स्वदेश पनि फर्किरहेका छन्। आफूलाई परदेशिन बाध्य पार्ने यहाँको थिति र शासकहरूको विरूद्धको संघर्षमा आफ्नो बाँकी जीवनलाई समर्पण गर्ने प्रण पनि उनीहरूले गरेका छन्। भिसीडि भित्र रहेको “फर्कदै छौं…” बोलको गीतमा यो यथार्थतालाई यसरी बोलिएको छ :
फर्कदैं छौं स्वदेश मै हामी
जनताको मायालाई साँचेर
को हो शत्रु को वर्ग मित्र
आउँछौं तिनलाई निसाना ताकेर ….
क्षिजितपारिमा देशको समसामयिक परिस्थितिको वास्तविक चित्रण गरिएका गीतहरू पनि समेटिएका छन्। पछिल्लो समयमा चर्चाको शिखरमा रहेको राक्तिमको गीत “देश जान थाल्यो..” पनि यसै भित्र समेटिएको छ। “सालैजो”को भाकामा विदेशी हस्तक्षेपका विरूद्ध नेपाली युवाहरूलाई जुध्न आव्हान गरिएको “के हेछर्ौं युवा….” बोलको गीत, सहयात्री साथी गुमाउनु पर्दाको पीडा समेटिएको श्रद्धाञ्जली गीत, हरेक किसिमका भावहरूलाई संगालेर यो भिसीडि आएको छ। भिसीडिमा समेटिएका गीतहरूमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माको रचना, संगीत र स्वर पनि समेटिएको छ। त्यस्तै दानबहादुर थापा, जीवलाल शर्मा, बलदेव राना, हुमकान्त आचार्यका शब्द तथा संगीतहरूमा निर्मित गीतहरू यसभित्र रहेका छन्।
भिसीडीमा समेटिएका गीत र संगीतले जुन भाव दिन खोजेका छन्, नृत्य र अभियन गर्ने कलाकारहरूले पनि त्यसमाथि न्याय गरेको प्रष्ट देख्न सकिन्छ। भिसीडि भित्रका गीतहरूमा रक्तिमका केन्द्रीय कलाकारहरूले नै तृत्य तथा अभिनय गरेका छन्। गीतहरूले जुन ठाउँको पीडा बोलिरहेका छन् त्यसको दृश्यांकन पनि सोही ठाउँमा गरिएको छ। गीत संगीतको रचना, नृत्य अभियन, छायाँकन, सम्पादन सबै विधामा अत्यन्तै मिहिनेत गरेर एउटा उच्चकोटीको भिसीडि पस्किएको छ कतार नेपाली एकता समाज अन्तरगतको रक्तिम सांस्कृतिक अभियानले। हरेक नेपाली युवाहरू जो विदेशतिर जान लालयिन छन्, खास गरी उनीहरूले एक पटक हेर्नै पर्ने भिसीडि छ क्षितिजपारी। समग्रमा भन्नु पर्दा प्रवासी नेपाली मजदुरहरूको यथार्थ अवस्था देख्न, देशले भोगिरहेको कारूणीक व्यथा बुझ्न र देश जोगाउन चाहने सम्पूर्ण देशभक्तहरूले प्रेरणा र उर्जा प्राप्त गर्न ,एक पटक भिसीडी क्षितिजपारि हेर्नै पर्ने देखिन्छ। अन्त्यमा त्यही भिसीडीमा समेटिएको, रक्तिमका अध्यक्ष तथा जननायक जीवन शर्माको रचना, संगीत र स्वरमा रहेको “देश जान थाल्यो…” बोलको गीतभित्रको यसै टुक्काबाट यो समीक्षाको विट मारौं :
नेपाली हो एक गठ भई उठ फेरी जाग
यो देशलाई बचाउने लडाइमा लाग
वर्गीय लडाइ हो हाम्रो मुख्य पेशा
त्यही लडाईले बचाउने छ, हाम्रो प्यारो देश
देश जान थाल्यो टुक्रा टुक्रा परेर
उठ देश भक्त हातेमालो गरेर ….
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ८ – २०६७ पौष २१ गते, बुधबार )