~अनिलकिशोर घिमिरे~
शैपालको काखमा
निश्पट्ट हुस्सुभित्र
सङ्लो सेती रोइरहेको छ
खप्तडको हिउँ
मेरो यात्राको चुनँैती भइरहेको छ
लाली गुराँसको पहाड
मुस्कुराउन खोजे पनि
धारिलो भासु भिरले
मन सिरिङ बनाएको छ
घाइते मंगलसेनले
उपचार खोजिरहेको छ
हाम्रो कालापानीमा
गिद्दहरूको रजाई छ
प्यारो सुदूरपश्चिम
रोइरहेको छ
तेले लेकमा सिकारीहरूको
रजाई भइरहेछ
लालबोझीमा
विस्तारवादी नांग्रा
गाडिएका छन्
हाम्रो महाकाली
निचोरिइरहेको छ
बनवासाको सीमास्तम्भ
हराइरहेको छ
म एकान्त छु
यात्रा एक्लो छ
प्यारो सुदूरपश्चिम
रोइरहेको छ।
विज्ञानको युग
निर्माण भइरहँदा
अन्धविश्वास र परम्परामा
प्यारो सुदुरपश्चिम
घेराबन्दीमा परेको छ
रगत नदेखिने
निचोरिएका शरीरहरू
भोकभोकै मरिरहेका छन्
प्यारो सुदूरपश्चिम
रोइरहेको छ
अब म साथीहरू खोज्न
भौतारिरहेको छु
सुदूरपश्चिम हसाउन खोजिरहेछ
अन्धकारबाट उज्यालो
गन्तव्य कुरिरहेछु
क्षीतिपारीबाट सन्देश
आइरहेछ
अब प्यारो सुदूरपश्चिम
नाँच्न खोजिरहेछ
हाँस्न खोजिरहेछ
०६७ पौष १४ गते, डोटी
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)