समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ Homnath Subedi2

विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका दाँत झरिसके । जो जहाँ-जहाँ भए पनि आफ्नो पहिचान भने कसैले हटाएर हट्दैन, कसैले लुकाएर लुक्दैन । साहित्यको पहिचान साहित्य हो भने त्यसभित्र रहेकै हुन्छ, चाहे विधाभञ्जन गर चाहे विधा निबन्धन गर । छ्र्यासमिसे भए पनि सामान्यतया गद्य र पद्य विधा छुट्टएिकै छन् ।
त्यसमा पनि मिसियो भने चम्पु भन्ने चलन गएको छैन । गद्य र पद्य मिश्रति विधा नाटक पनि हो । तर नाटकले अभिनयको कारण श्रव्यभन्दा दृश्य विधामा आफूलाई अगाडि सार्छ । हो, नाटकमा पनि आख्यान हुन्छ । यसो भए पनि नाटकको आफ्नै स्थान छ । अनि गद्यलाई खास गरी दुई भागमा बाँडेर हेर्न सकिन्छ, आख्यान र आख्यानेतर । आख्यानका खेमामा कथा, लघुकथा, उपन्यास राख्न सकिन्छ भने आख्यानेतरमा नियात्रा, जीवनी, संस्मरण, निबन्ध ।

वास्तवमा आत्मसंस्मरण पनि आत्मकथा हो, यसमा आख्यान हुन्छ । भावुक आत्मकथाकारले पद्यमा पनि प्रभाव पार्न सक्छ । यो निबन्धको एक प्रकार हुँदै हो । यसरी हेर्दा विधाभञ्जन भन्ने कि विधासमीकरण भन्ने-यी सबै कुरा यसमा भएर पनि यो आत्मवृतान्त नै हुन्छ । संस्मरण लेखकले लेखे पनि अर्को एक लक्ष्यलाई पूर्ति गर्न लेखिएको हुन्छ । नियात्रा लेखकको गन्थन हो तर त्यसले यौटा लक्षित वस्तुलाई पुष्टि गर्न खोजेको हुन्छ । यी भेद बाहेक न आत्मकथा हो, न स्मरण हो, न जीवनी हो, न नियात्रा हो-केही पनि हैन । तर गद्यको एक विशिष्ट विधा हो, निबन्ध । साहित्यमा गद्यको आख्यानेतर विधाहरू मध्ये एक सशक्त विधा हो निबन्ध ।

आज निबन्धको कुनै बारबन्धन र रङ्गरोगन छैन । जे जसरी लेखे पनि हुन्छ तर जेसुकै लेख्दैमा निबन्ध भने हुँदैन । यो यौटा भाषिक चमत्कृति भन्छु म । कुरैकुराले मीठामीठा विषय र पदलालित्यले अन्धाको आँखा खोल्ने र बहिराको कान खोल्ने क्षमता भएको आख्यानेतर पोथी गद्य नै निबन्ध हो । मैले यो एक हातको ताली पढेर यही बुझेँ । ‘एक हातको ताली’ पढ्दा कथा पढेजस्तो पनि लाग्छ । ‘भेटौँला कर्फ्यूमा’ निबन्धका यी हरफलाई कसले कविता भन्दैन ? – ‘जीवनको पर्वाह त्यतिखेर गरिन्छ-जब दासताको शिरफूल लगाइन्छ, पराधीनताको जुत्ता लाइन्छ र कमारोको फेटा गुथिन्छ । स्वतन्त्रताको आकाश ��”ढेर स्वाधीन धरती टेक्नेहरूले कर्फ्यूलाई मिलाउँछन् माटैमा । बलिदान साथी बन्छ र विद्रोह बन्छ नजिकैको हितैषी ।’

यसमा कविता भाव, वाक्य गठन र शब्दयोजना अत्यन्त उच्च कोटिको छ । के यस्तो कवितात्मक भाषा छ भनेर यसलाई कविता विधामा लाने ? त्यो त मिल्दैन । राख्न त यसलाई जति विधाभञ्जन गरे पनि निबन्धमै राख्नुपर्छ । बरु हो भन्न सकिन्छ । यो कविता हैन । तर काव्य हो । गद्य पनि कविको परीक्षा लिन सक्ने विषय हो । त्यसैले त उपन्यासहरूलाई महाकाव्य पनि मान्न सकिन्छ ।

‘एक हातको ताली’ मा कथा छ, आत्मकथा छ, संस्मरण र चुट्किला छन् । जनयुद्घको महासङ्ग्रामको आख्यान छ । कविता छ । नाटक छ त्यहाँ । के छैन ? सब छ । तर त्यहाँ यौटा मात्र कुरा केही पनि छैन । छ भने, व्यञ्जना शब्दशक्तिले ��”तप्रोत भाषा छ । यही भाषाको सामर्थ्यले ‘एक हातको ताली’ ले दुई हातको ताली पाएको छ । मेरो आलोक नितान्त आत्मपरक हो-यदि यसमा समालोचनाका दृष्टिबिन्दुहरू उपयोग भएका छन् भने त्यो यौटा साहित्यानुरागीको आलोकमा हुने गुण हो र त्यो सुयोग समेत हो । यस अर्थमा प्रस्तुत कृतिबारे म जे लेख्छु, त्यो सिद्दान्तभन्दा हृदयसंवेद्य वस्तुगत यथार्थलाई देख्छु र त्यही लेख्छु । जसरी युवराज नयाँघरेले अरुको मानकको अनुकरण गरेर नलेखी स्वयम् मानक लेखनकला निर्माण गरेका छन् । त्यस्तै यी विचार कृति पढ्दा सौन्दर्यशास्त्रका छापहरू नै यसको समालोचनाका मानक आधार बनेका छन् । तिनकै आधारमा मैले यो ‘एक हातको ताली’ लाई नेपाली आख्यानेतर गद्य साहित्यमा मूल्यवान कृति भनेको छु । उत्तर आधुनिक निबन्ध कृतिको नमूना हो यो ।
थरले सुवेदी दाजुभाइ पर्नु बाहेक हाम्रो अरु नातो छैन । त्यसैले पूर्वाग्रहरहित, सार्वभौम, न्यायपूर्ण, असङ्कुचित, वैध, विश्वसनीय र निर्वैयक्तिक भएर म भन्न सक्छु-वास्तवमा ‘एक हातको ताली’ मा जीवनी, आत्मकथाहरू आख्यानवर्गमा राख्ने र नियात्रा, संस्मरण आदि प्रबन्ध वा निबन्धभित्र राखेमा आख्यानेतर अन्य विधाको आवश्यकता नै नपर्न सक्छ । विधाभञ्जन र पुराना प्राध्यापकीय समालोचना भन्नासाथ चिढ्चिढाउने स्रष्टा र पाठकको जमातमा आख्यानेतर अन्य विधा भन्दा पनि हुन्छ तर मेरो दृष्टिमा यो क्षेत्रको व्यापक गहकिलो परिचय र नयाँलाई थाम्न सक्ने विधा भनेको निबन्ध नै हो । जसको नमूना हो ‘एक हातको ताली’ । निबन्ध काव्य समेत हो यो । यसले धेरै विधालाई समेटेर निबन्धको रुपमा प्रस्तुत भएको छ । नेपालको जनयुद्घ र क्रान्तिकालीन समाजको सजीव आख्यान बनेर, मानवीयताको खोज गरिएको, बहुसङ्ख्यक नेपालीको पहिचान बोकेको ‘एक हातको ताली’ भित्रैको एक निबन्धको नामबाट नामाकरण भएको छ समग्र कृतिको । गरिब नाङ्गाको नाङ्गै, नेताहरूले पचासौँ किरिया खाए पनि देशको स्थिति भताभुतुङ्गै भएको चित्रले रातदिन क्रान्तिको लागि कर्फ्यू, जुलुस र नारामा हिँड्ने भोकानाङ्गा जनताको ताली एकै हातको मात्र रहेको छ । कुनै पनि नेताको किरियाले पनि केही नापेको छैन । त्यसैले ‘एक हातको ताली’ सार्थक नाम छानिएको लाग्छ ।

लेखन,सिर्जन त्यो पनि निबन्धन-नितान्त वैयक्तिक कुरा हो लेखकको । अर्कोसित मिल्नुपर्छ भन्ने छैन । मिल्दैन र मौलिकता पनि यही हो । युवराजको यसै पक्षलाई समालोचक कृष्णचन्द्रसिंह प्रधान ‘शिखर आरोहणको क्रमिकता’ शीर्षकको भूमिकामा लेख्छन्-‘झर्रा र विशुद्घ नेपाली अनुहार शब्दहरू, छोटा-छोटा वाक्य, सङ्क्षिप्त कथन, साङ्केतिक आशय, उपमेय सौन्दर्य, कवितात्मक उक्ति र यी सबैको निजीकरणमा प्रस्फुरित मौलिक व्यक्तित्व निबन्धकार नयाँघरे हुन् ।’

पुरानाको भञ्जन र नयाँ अवस्थाको उपत्यकामा उभिएर हेर्दा सिर्जनाले सामाजिक मान्यता पाउन पनि निकै कठिन पर्छ । टाढा भएर पनि होला यसको अनुभव मलाई सबभन्दा धेरै छ । नयाँघरेका पनि नयाँ परिपाटीका निबन्ध अस्वीकृत हुन सक्थे तर त्यसो भएन । नयाँघरेले पनि नयाँ निबन्धको सोपानमा आफूलाई दह्रो गरी उभ्याएको कुरो यसैको प्रकाशकीयले पनि व्यक्त गरेको छ-‘नयाँ भाव, नयाँ भाषा, नयाँ शैली र नयाँ समाजको परिकल्पनामा उनले आफूलाई क्रमबद्घ रुपमा साधनारत तुल्याएको प्रमाण हामी उनीद्वारा पूर्वप्रकाशित निबन्ध र नियात्राको चर्चा, ख्याति र सामाजिक स्वीकृतिलाई मान्दछौँ ।’

समालोचक/प्रकाशकका जे जस्ता धारणा भए पनि युवराज नयाँघरेका के आफ्ना आत्मस्वीकृतिहरू छन् त ? सिर्जना के हो ? रचना केलाई भनिन्छ ? यहाँ निबन्ध स्वतः पर्न आउँछ । हो, उनका आत्मस्वीकृति छन् ।

‘सट्टापट्टा’ निबन्धमा बल र मनको विवाद सिर्जना गरी उनले भनेका छन् । सीप बाँड्न वा अर्कोले गरिदिन सकिन्छ तर मन त मनै हो त्यो अर्कोले बनिदिन मिल्दैन । सीप बल हो फेर्न मिल्ला, पूरा गर्न मिल्ला-तर सिर्जना मन हो, अर्कोले पूरा गर्न सक्दैन । यसलाई उनले यी शब्दमा आत्मस्वीकृति जनाएको मान्न सकिन्छ-‘भिन्न पक्ष हुन् हृदय र बल । सीपमा सिक्ने ठाँउ हुन्छ यथेष्ट । त्यो सामर्थ्य कदापि हुँदैन सिर्जनामा । रचना त मनबाट उठ्ने आवेग हो, हुरी हो र कम्प हो ।’

युवराज आत्मपरक निबन्धकार हुन् । सुनामीलाई आफ्नै दृष्टिले हेर्छन् र आफ्ना कलात्मक भाषामा त्यसलाई कुँदेर पाठकलाई पस्कन्छन् । समाचार उही हो । सबैले पढ्ने हो । सुनामी उही । हामीले कविता पनि लेखेकै हो । तर नयाँघरेको ‘प्रलयको नाम हैन सुनामी’ निबन्ध पढेर विशिष्टताको अनुभव हुन्छ । लेखकको निजात्मक खुबी भनेकै त्यही हो र त्यही हो स्रष्टाको मनको कम्प पनि । यस्तो कम्पमा निबन्ध वा प्रबन्ध लेखिँदैछ भनेर नाकमा डोरी लाएर नयाँघरे निबन्ध लेख्दैनन् । उनको मनको कम्प हो, लेख्दै जाँदा ‘डेरिडा’ लेखक हैन पात्र हो यो । यो पूरा डेरिडाको कथाजस्तो छ । विधाभञ्जनको नमूना पनि हो यो । निबन्धनको पुरानो सीमा नाघी मनको कम्पनलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको निबन्ध हो ‘ध्वाँसोमुनि डेरिडा’ ।

त्यस्तै ‘कोरसमा एउटा स्वर’ निबन्ध । यो निबन्ध पढ्दा त मलाई लाग्यो, म मेरो कुनै एक कथा पढिरहेछु । विधामिश्रणको यो एक नमूना हो । कथा र निबन्धमा समानता देखिन्छ तर जात भने पक्कै फरक हुन् । यो निबन्धमा भीडमा एकलोपन र अनाम नायक मेरा पनि कथाका अभिप्राय हुन् । यो निबन्ध यौटा भीडको कथा हो । यो उनको मौलिक शैली हो । ‘एक भन्ज्याङ पीर’ निबन्ध पढ्दा परम्परागत पाठक एकछिन अलमलिन सक्छ, यो के हो ? कथा हो वा निबन्ध ? खै के हो-के हो ? थाहा भएन, असन्तुष्टी छ कथा हो न निबन्ध हो । एकछिन पछि अर्को नयाँ पाठक आएर व्याख्या गर्न सक्छ, विनिर्माणको युगमा विधाभञ्जन भएको नमूना हो यो । युवराज बुद्धिले र बलले लेख्दैनन्- उनी मनले लेख्छन्, हृदयसंवेद्य भएर लेख्छन् । र, जे लेख्छन् त्यो उनको मनको कुरा लेख्छन् सशक्त बिम्बात्मक भाषामा । शेष-कुन विधा र कुन सोपानमा उनका सिर्जना राख्ने हो, त्यो उनको विषय हैन । त्यो नयाँ समालोचकले आँफै खौज्ने कुरा हो । जङ्गलको हीरा नदेख्दैमा ऊ पित्तल भएको हुन्न । एक दिन कसै न कसैले त्यसको सत्य अनुशीलन गरिहाल्छ । यसै आधारमा नितान्त मौलिक निबन्ध यो सङ्ग्रहमा भएको मैले पाएँ । जस्तो उनको स्वीकारोक्ति छ त्यस्तै सिर्जना पनि ।

विषयवस्तुतिर दृष्टि दिँदा समग्रमा उनको वस्तु मा��”वादी जनयुद्घ र लोकतन्त्रसम्म आइपुग्दाका क्रान्ति, जुलुस, नारा र गरिब जनताको पीडा नै हो । यसमा उनले प्रवासीको पनि पीडालाई छुटाएका छैनन् ।

डायास्पोरा धेरै प्रकारको छ । ऐले यहाँ यत्ति मात्र भन्छु । यस सन्दर्भमा मेरो नजर परेको निबन्ध हो- ‘जयमाया अर्थात् नेपालीहरू’ ।नेपालीहरूलाई प्रवास लाग्नु कुनै रहरको कुरो होइन । बिचरा मेची कट्नेहरूको दर्दनाक पीडाको पाठ उनले कोरेका छन् यहाँ- ‘टोपी के भन्ने, घेरा मात्र छ निधारमा । जे छ छातीमै छ । देश भने पनि, भाषा भने पनि, संस्कृति भने पनि । अथवा दुःखको पोखरी भने पनि । धुजा-धुजा भएको छातीमा जयमायाहरूको सर्वस्व छ त्यै छातीमा ।’

नेपालीहरू कस्तो-कस्तो अवस्थामा मेची कट्छन् । अनौठो चित्र छ यहाँ- ‘पढ्छु जयमायाहरूलाई । कपाल छ, ��”ठ छ, ��”ँला छन्, नितम्ब छ तर छैन बैँस । वेदनाको भागालो छ पैतालादेखि हत्केलासम्म ।’

प्रवासी भएर बर्मा पुगे पनि नेपालीले आफ्नो संस्कृति कहिल्यै भुल्दैनन् र सोच्छन्-‘दुनियाँका नेपालीको माउघर नेपालै त हो नि !’

प्रवासीप्रति निबन्धकार थप्छन्- ‘के नेपालीले नेपालको माया पाउने प्राकृतिक अधिकार होइन र ? चरा त वास बस्न गुाडमै र्फकन्छन् साँझमा !’

नेपाल र्फकंदा यी बर्मेली नेपालीको दुर्दशा उस्तै हुन्छ-‘घाटमा छायाले छोडेसमानको लास-जयमायाको परिचय । अर्थात् नेपालीको परिचय । बर्मेली दुत्कार र कपटी कर्मको चरित्रका पासा पल्टिरा’ छन् फर्लक-फर्लक । ती फर्लकको नतिजा हो-जयमायाको दलदलको जिन्दगी !’

प्रवासीको मन र कर्म तथा उनीहरूका पीडा र अभिलाषालाई निबन्धकारले मसिनैसित केलाएर यहाँ प्रस्तुत गरेका छन् । बसाइँसराइको कथा हो यो । कलात्मक भाषामा प्रवासी नेपालीको लक्ष्य छुने प्रयास गरेका छन् र वस्तु समेट्न उनी सफल पनि छन् । भोलि भन्न सकिन्न, अरु नेपाली डायास्पोराले पनि बर्मेली नेपाली बन्न नपरोस् । त्यसैले नेपालीले नेपाल कहिल्यै नछोड्नु । विश्वको जुन कुनाको डायास्पोरामा दर्ता भए पनि नेपालीको माटोबाट कहिल्यै अलग नहुनु भन्ने सन्देश सरकार र प्रवासीहरू सबैलाई यो रचनाले दिएको छ ।

नेपालको समसामयिक अवस्थाको चित्रण-
युवराज ‘सुनचुराको दान दिए !’ निबन्धमा लेख्छन्-‘यो हो एक्काइसौँ शताब्दीको नेपाल । सुन ! चुरा फुटाउनेहरू दिनहुँ अनगिन्ती देखिएका छन् । काँचका चुरा फुटाउनेहरू सुनका चुरा लाइदिने नारामा सोझ्याइरहेछन् बन्दुकका नाल । रबरका चुरा चोइट्याउनेहरू शिरपाउ सजाउने नारामा तेर्स्याइरहेछन् तरबार । चुरा मात्र चुकाउँछु भन्नेहरू गला थुतिरहेछन् । गला मात्र थुत्छु भन्नेहरू सिउँदो उजाडिरहेछन् । सिउँदो मात्र उजाड्छु भन्नेहरू गर्धनै गिाडिरहेछन् ।’

देशको यो बिजोगको अवस्थालाई यी निबन्धले वस्तु बनाएका छन् । ‘टाउका पर्वको श्रोता’ मा��”वादी जनयुद्घले ल्याएको जीवन हो, समय हो र गति हो । परिणति नराम्रो नभइदियोस्, निबन्धकारको सङ्केत यतातिर छ । तर नेताहरूमा किरिया नै खाए पनि त्यसको अर्थ रहेको छैन । किरिया पुराण मात्र बन्यो । यस्तो अवस्थामा देशलाई दुर्गतिबाट बचाउने कसरी ? वस्तुको लक्ष्य यत्ति हो ।

मान्छेको मोल नै रहेन कि ! यौटा ड्राइभरले मान्छे किचेर अठार सय नेपाली रुपैयाँ मात्र तिरे पुग्छ । पैसा भए जे गरे पनि भयो । डलर र पाउन्डका एजेन्टहरूलाई त नेपाली रुपैयाँ अठार सय केही न केही ! पैसामा नै मानवीयता मर्ला कि भन्ने चिन्ता यहाँ निबन्धकारको रहेको छ ‘अठार हजार जाबो’ मा । ‘बस्तीका हरएक दिनचर्यामा पराजयको कामज्वरो फैलिएको छ । र, त्यो पनि निदान अनि उपचारविहीन ! (अठार हजार जाबो) ।’

कस्तो नाजुक अवस्थाको छाप छ यहाँ चिहानघारीको । ‘भेटौँला कर्फ्यूमा ! निबन्धकै नामबाट यो कृतिको नाम राखेको भए हुने भन्ने लाग्यो यो निबन्ध पढ्दा । यसले राजतन्त्रविरोधी र्‍याली ताकाको चित्र कोरेको छ । कोरेको हैन, कुँदेको छ । देश र जनताको लागि कति लड्ने ‘भेटौँला कर्फ्यूमा ! एक उखान नै भैसकेको छ । यसो भन्नु सस्तो र उपहास जस्तो पनि भैसक्यो । बगेका रगतले कुनै गरीबको दुई हातका ताली बजेनन्, चिसो चुल्हो तातो भएन । निबन्धको वस्तु यस्तो छ समसामयिक नेपालबारे ।
‘पुलमुनिका घर’ निबन्धले त स्पष्ट दुई वर्गबारे विश्लेषण गरेको छ । अझ तल्लो वर्गको पूरा संसार नै पुलमुनि वा वेसमेन्टको जीवनमा लगेर चित्रण गरेको छ । यो समस्या नेपालमा त छँदैछ । मैले वासिङ्टन डिसीलाई पनि दुई तलामा देखेको छु । उपल्लो तलाका उपल्लो वर्गको र तल्लो तलाको डिसी तल्लो वर्गको । शहर नै दुईवटा हुन्छन् । उपल्लो शहरमा जान तल्लो शहरका जन्तुलाई इजाजत लिएर मात्र जान मिल्छ अन्यथा प्रवेश निषेध । ट्राफिक लाइटले नै तल र माथि छुट्याएर पठाउँछ । यो स्थिति डिसीको हुँदैछ भने नेपाल त सबै छिडीमा पुग्ने बेला आउँदैछ । पुलमुनिका घरहरू त युवराजले देखे अरुले देखेका छन् कि छैनन् ? तिनीहरू दिनहुँ बढ्दैछन्, घट्ने सम्भावना देखिदैन । तर त्यो दुर्गन्धित बस्तीको उद्घार कसले गर्छ, खोज त्यसको हो । कडा शब्द, वाक्य छोटा तिखा र वजनदार बनाएर यो निबन्ध मार्फत् शोषक र शोषितको रेखालाई छर्लङ्ग देखाइदिएका छन् । यस अर्थमा युवराजको लेखन पीडाको उजागर गर्नु हो ।

त्यसैले उनी जहाँ जान्छन् त्यहाँ भोकको समस्या देख्छन् र भोकलाई भ्रमणसित जोडेर निबन्ध लेख्छन्-त्यसको उदाहरण हो सडक स्वाद । आखिर’एक हातको ताली’ निबन्धले पनि २०४६ सालको क्रान्तिको कुरो ल्याएर ‘टुाडिखेलले गिर खेलिरह्यो न्याङरुङेको आँसुसँग ! भन्दै भोग, रोग र शोकको बेला क्रान्तिले कुनै फल दिएन भनेर टुङ्ग्याएका छन् निबन्ध । यस निबन्ध सङ्ग्रहको वस्तु नै नेपालको समसामयिक बिग्रँदो अवस्थाको अनुलेप गर्नु हो ।

कलाका दृष्टिले पहिले नै यसको चर्चा गरियो, तापनि केही बिम्ब र सुक्तिहरूको कवितात्मक भाषाको अवलोकन यस प्रकार छ । सुक्ति, आहान आदिले निबन्धको भाषालाई व्यञ्जनपूर्ण बनाउँछ । यसको प्रयोग प्रशस्त भएको छ । जस्तै:
हाँसे गाला च्यातेर । (अठार हजार जाबो)
हानेको भन्दा ताकेको दुख्छ । (अठार हजार जाबो)
सम्बन्ध, सम्बोधन र श्रृङ्खलाहरू खबरका काला आकृति हुन् । (तिम्रो घरमा देउता)
धन्य रहेछ स्वतन्त्रता पुज्ने लोकहृदय । (भेटौँला कर्फ्यूमा !)
किरिया खाएपछि कार्य नगर्नेले सिल्टिम्बुर खान्छ । (किरियाबाजको दैनिकी)
किरिया खाइदिएपछि दुनियाँ पत्याउँछ । (किरियाबाजको दैनिकी)
बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै । (जयमाया अर्थात् नेपालीहरू)

बिम्ब साहित्य भन्नासाथ त्यो बिम्बीकरणको एक आलेख हो-त्यो वस्तु जे पनि हुन सक्छ र विधा पनि जुनसुकै पनि हुनसक्छ । तर बिम्बविनाको साहित्य, साहित्य हैन त्यो भरपाइ, कपाली-तमसुक वा इतिहास हुन सक्छ तर साहित्य हुन सक्दैन । बिम्ब के कति भन्ने कुराले साहित्यको स्तर निर्धारण गर्दछ । युवराजको यो निबन्ध सङ्ग्रह पूरा बिम्बमा बोल्छ । यसमा बिम्बको विस्तृत अध्ययन गर्न छुट्टै स्थान चाहिन्छ तर यहाँ केही नमूना म प्रस्तुत गर्न चाहन्छु ।
सकेसम्म धुँवा फालेर कुदेको छ गाडीले । (अठार हजार जाबो)
हारिरहेछ हावाले । (अठार हजार जाबो)
परेलीले नथेग्ने आँसुको भेल । (तिम्रो घरमा देउता)
देश तातेको आरन भएर पोखियो । (भेटौँला कर्फ्यूमा !)
कर्फ्यू भनेको कठोरताको सिमाना । (भेटौँला कर्फ्यूमा !)
निरङ्कुशताका सिङ भााच्ने रगत भुलभुलाइरहृयो । (भेटौँला कर्फ्यूमा !)
अनाचारीको ��”ठ सिउन तयार छौँ । (भेटौँला कर्फ्यूमा !)

बिम्ब भन्ने धारणा पश्चिमी हो र अलङ्कार पूर्वी धारणा हो । अलङ्कारलाई विद्वानहरू रस र ध्वनिको तहमा पुर्‍याएर त्यही बिम्बलाई यहाँ बृहद् व्याख्या पनि गरिएको छ । यसको समन्वयात्मक अध्ययनमा डा. लक्ष्मण गौतमको हात प्रशस्त रहेको छ । एक दुई उदाहरण हेरौँ-
अलङ्कार-ब को यमक पारेको वाक्यको नमूना-
‘धक्का बेहोरेर बाँचेको बस्तीमा रोगको शोभा छ, भोकको शोभा छ र शोकको शोभा छ । बस्तीको ताजा सिद्घान्त र गति भएको छ शून्यता (तिम्रो घरमा देउता) ।’ यस वाक्यमा ‘ब’ को दोहोरिनु, ‘शो’ को दोहोरिनु, ‘स’, ‘त’ र ‘ति’ को बारम्बारताले यमक अलङ्कारको स्वाद दिन्छ ।
‘मलाई आमाले समात्ने र टाउकोबाट पानी खत्याउने काकी (तिम्रो घरमा देउता) ।’ यो वाक्यमा आएको ‘म’ को बारम्बारताले अनुप्रास अलङ्कारको बिम्बाधान गर्छ ।
शब्दसित खेल्न सक्नु पर्छ यौटा साहित्यकारले । युवराज शब्दका खेलाडी हुन् । अर्को ‘ड’ कै प्रयोगको विचित्रता हेरौँ । यी अर्थ हैन, अक्षर र शब्दमा भएको विचित्र प्रयोगको कुरा गर्दैछु म । ‘ड’ को प्रयोग-
‘अरुले टेकेकै डोबहरूमा गमेर सिकेँ मैले डोरिनँ । मलाई डोराउने र ��”ँलामा तागतको तातो रगत दिने अरु भन्दा नि मेरा दाइ नै हुनुहुन्छ (तिम्रो घरमा देउता) ! यसमा ‘ड’, ‘त’ को पृष्ठप्रेषण श्रुतिकटु हैन श्रुतिमधुर बनी यो गद्यलाई अलङ्कृत गर्न पुगेका छन् ।

शब्द योजनामा खप्पिस छन् नयाँघरे । अनुकरणात्मक शब्दको प्रयोग ती पनि नेपाली ठेट शब्दको प्रयोगले निबन्ध खरा बनेका छन् । घरकी चर्की गृहिणीको जस्तो । जति गाली गरे पनि मीठै लाग्ने । ह्वात्तै, जर्‍याकजुरुक, भुलभुलाउनु यी शब्दले बोलीलाई साहित्य र कलाको विषयमा उकाल्छन् । निबन्ध कुरै हो तर यस्ता काव्यात्मक शब्द, वाक्य र अनुच्छेदको सङ्गठनले त्यो कुरो निबन्ध साहित्य बन्दछ ।

युवराज नयाँघरेको भाषै कवितात्मक छ । ‘पुलमुनिका घर’ निबन्धको एक अंश-
‘दिगमिग र बान्तै आउने मौसमको आइजाइमा चलेको जीवन लौ हेर ! नाक थुनेर गइरहेको विशिष्ठ सभ्यताको काखी गनाएको तथ्य त छँदै थियो वरपर ।’
यसैको अर्को अनुच्छेद हेरौँ, कति तीव्र व्यङ्ग्यात्मक कविताको भाषामा यो गद्य लेखिएको छ-‘दगुरिरहेछन् गरिबी निवारणका गाडीहरू । असहायलाई साथ दिने सपनाका गाडीहरू दगुरिरहेछन् । कृपणलाई तान्ने योजना बेगिइरहेछन् । दुःखीहरूका सकल दारिद्रय नाश गर्ने गुरुमन्त्र लम्किरहेछन् । सब दगुराइ, बेगाइ, लम्काइहरू पुलमाथि छन्-पुलमुनिका तन्नम आँखामा तिनको कुनै छाँया पर्दैन, बाछिटा पर्दैन, थोपो पर्दैन ।’

कति खेदको कुरा । त्यो फरक, बेइमानी कति मीठो भाषामा बाण बनेको छ ।

‘जिउँदाको कुरा काट्दै’ निबन्ध पढ्नु हरएक हरफ स्वयम्मा कविताका टुक्राजस्ता लाग्छन् । त्यसैले पनि होला स्रष्टाको जाँच पद्यभन्दा गद्यमा बढी हुन्छ । उनी अक्षर, शब्द र अर्थको वारपार खेल्छन् ।

‘सुनचुराको दान दिए’ निबन्धको एक अंश-‘सफाइको मौका नपाई दण्डित भएँ म । मलाई लाग्छ यो गालीले गालीकै अपमान भो । के वर्णमालाको विरोधी छ आजको समाज ? नत्र भने ‘ग’ ले गीत गाउनुपर्ने, गाली होइन । ‘ग’ ले गजुर लेख्नुपर्ने, गोर्खेलौरीको गाथा गाउनुपर्ने होइन ।’

त्यसैको अर्को अंश-
‘के गर्नु, बह सुन्नेहरू आमाभन्दा बढ्ता सानीमाहरू छन् ।’

यस्ता उदाहरणहरू अनगिन्ती छन् । यी त नमूना मात्र हुन् । लेख्नुपर्ने कुरा त धेरै थिए तर यो सानो लेखमा अटाउन सम्भव पनि भएन ।

अन्त्यमा युवराज नयाँघरेको ‘एक हातको ताली’ निबन्ध सङ्ग्रह मदन पुरस्कार विजेता भएर मात्र हैन, स्वभावैले प्राकृतिक रुपमै उत्तम कोटिको निबन्ध सङ्ग्रह हो ।

(स्रोत : Bagaicha)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.