~परदीप भटराई~
यदि तिमीले पिलाएको
एकै थोपा पानीले
कतै मेरो जीवन
बाँच्छ भने पनि
म मृत्यु सजिलै
स्वीकार्छु बरु
तिमीबाट खोज्दिन
बाँकी अरु
यदि तिमीले बोलेको
एकै शब्द निःशब्दले
कतै मेरो मन
हाँस्छ भने पनि
म रोई–रोई बाँच्न
तयार छु बरु
तिमीबाट खोज्दिन
बाँकी अरु
पाउनु छैन केही मलाई
गुमाउनुको सीमा रहेन
मनको त्यो नातो मनमै रहोस्
यो मन जस्तो त्यो मन भएन
यदि तिमीले बोलेको
एकै वचन बोलिले
कतै मेरो जीवन
बिक्छ भने पनि
म लिलामै बिक्न
तयार छु बरु
तिमीबाट खोज्दिन
बाँकी अरु
सृष्टि सारा सखाप भई
तिमी र म मात्र रह्यौं भने पनि
सृष्टि चलाउन नि म तिम्रो हुन्न
सँग–सँगै हामी भयौं भने पनि
यदि तिमीले चढाएको
एकै थुङ्गा फूलले
कतै मेरो लाश
सिंगारिन्छ भने पनि
म कुरुपै जल्न
तयार छु बरु
तिमीबाट खोज्दिन
बाँकी अरु ।
परदीप भटराई
कोहलपुर, बाँके
(‘विरुद्धमा’ कविता संग्रहबाट)
(स्रोत : UNN.com)