अस्ति नेपालगन्जतर्फ जाँदा
बुटबलको चौराहाचोकमा
मगराती माया, स्नेह, सम्मान र पसिनाले
उभिएको तिम्रो सजीव शालिक देखें !
गुडिरहेको गाडीभित्रैबाट
एकटक हेरिरहें श्रद्धाले
र, एकाकार भएँ |
सामान्य-ज्ञानका हरफमा
उहिले पढेको थिएँ तिमीलाई-
‘प्रथम सहिद लखन थापा हो’ भनेर
इतिहासका पानामा तिमीलाई
पढें कि पढिन, याद गरिन
खै, केले केले ओझेल पारिदिएजस्तो !
तर, अचेल
तिम्रो वार्षिक स्मृति-सभाहरूमा
तिम्रो तस्बिरमा
माल्यार्पण गर्ने मौका पाएको छु
तिम्रो संझनामा
मौनधारण गरेर पुन्यलाभ गर्ने
अवसर पाएको छु !
लखन !
हामी लखन थापाहरू
तिम्रै बाटोमा छौं
जसै तिमी देशको
स्वतन्त्रता, स्वाधिनता र गौरव प्रति
अविचल थियौ
नेपालीका मुक्ति र प्रजातन्त्रका लागि
बलिदान दियौ
हामीलाई पनि
देशको थुप्रै साँध-सीमाना ढेलेको
अरूका खटनपटनमा
सिंहदरबार चलेको
आपसी कलहले घर जलेको
असैह्य भैरहेछ !
तिमीलाई जंगबहादुर मन परेन
हामीलाई पनि जंगबहादुरहरू मन पर्दैन
तिमी जंगबहादुरका विरुद्ध विद्रोह गर्यौ
हामी पनि घरिघरि
जंगबहादुरहरूका विरुद्ध लड्नु परिरहेछ |
तिमीलाई जंगबहादुरले गोली हानेर
अमर सहिद बनायो
हामीलाई त
जंगबहादुरहरूले जिउंदै मारिरहेछ्न् !
भन्छन्-
राज्यले लखन थापालाई चिनेन
हामी लखन थापाहरूलाई पनि
शासकले कहाँ चिनेका छन् र ?
बरु हामीलाई
हाँसोका पात्र संझिरहेका छन् !
तर, लखन तिमी महान छौ
अजर-अमर छौ
वीरताको तिम्रो गाथा
मादी, दरौदी र मर्स्याङ्दीले सुसेलिरहेछन्
जुन राष्ट्रप्रेमी नेपालीका हृदयमा
गुन्जिरहेछ, गुन्जिरहने छ !!
– व्याकुल माइला
••
२०७० फागुन २ गते | ‘प्रथम सहिद लखन थापा स्मृति प्रतिष्ठान’द्वारा आयोजित १३७ औं स्मृति सभामा प्रथम सहिद लखन थापा प्रति श्रद्धा सुमन अर्पण गर्दै कार्यक्रममा प्रमुखअतिथिको हैसियतबाट मन्तव्यको रूपमा वाचित कविता |
(स्रोत : Fyangkhola )