कथा : छोरीहरुको लागि

~भरत राज गौतम~Bharat raj Gautam

उ भन्दा अगाडी दुईवटा छोरीहरु जन्मीसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । उ नजन्मुन्जेल सम्म पनि हामीलाई थाहा थिएन कि उ छोरा थियो कि छोरी । तर उसैलाई अप्ठेरो होला भनेर उसकै मायाको खातीर मैले त्यस्तो कुनै टेस्ट पनि गराईन । आमाको पेटमा भएको वेलामा पनि उसले आफ्नी आमालाई आफ्ना दिदीहरुले भन्दा अली वढी नै दुःख दियो । मैले हाम्रै चाहना वमोजिम धर्तीमा आउन तयार भएको त्यस नवआगन्तुकलाई आफ्नी आमालाई धेरै दुःख नदेउ पनि भन्न सकिन ।

उ जन्म्यो । म खुशी भएँ । म भन्दा धेरै वढी खुशी भै र मक्ख पनि परि उस्की आमा । किनकि उसको चाहना वमोजिम छोरो नै जन्मेको थियो । मैले उस्की आमालाई धेरै मक्ख नपर भन्न सकिन । जन्मने वित्तिकै उ निकै हल्लाखल्ला गरेर जोडतोडले रोयो । उस्लाई अधिकतम स्वतन्त्रता र सुख दिन म प्रतिवद्ध थिएँ । त्यसैले मैले उस्लाई विस्तारै रोउ पनि भन्न सकिन । मैले उसलाई काखमा लिएर सुम्सुम्याएँ ।

उ हुर्कंदै गयो । ठूलो हुंदै गयो । यसक्रममा कहिले उ रुन्थ्यो, कहिले उस्ले सतायो भनेर दिदीहरु रुन्थे । धेरैजसो अवस्थामा चाहीँ उ आफ्ना नाजायज मागहरुको लागि समेत रुन्थ्यो भने उस्का दिदीहरु चाहीँ आफ्ना जायज कुराहरुमा पनि म सँग गुनासो गर्न सक्दैनथे । तर उसले जतिसुकै सताएपनि उस्का दिदीहरुले उस्लाई सधैं मनैदेखी माया गर्थे । आफ्नी आमाको छोरा तर्फको ज्यादा झुकाव र मनोभावना वुझेर नै त होला उसको मामीलामा उस्का दिदीहरु निकै सचेत थिए । यसरी वढ्दो उमेर सँगै उस्का रहर र आवश्यकताहरु पनि ठूलाठूला हुँदै गए । मैले पनि प्रायः उस्लाई तेरो माग तेरो उमेर र मेरो औकात भन्दा ठूलो छ भन्न सकिन । उ एकदिन एसएलसी पास भयो र मलाई आफ्नो मार्कसीट देखायो । म यति खुशी थिएँ कि मलाई डिस्टींक्सन डिभिजन उल्लेख गरिएका मार्कसीटका ति सुन्दर अक्षरहरु सुनै सुनले कुँदीएका जस्तो लाग्यो । तर एसएलसी पछी उ काठमाडौं वसेर पढ्छु भन्न थाल्यो । यहाँ पोखराका कलेजहरुमा पनि खासै कुनै असुविधा त थिएन तर मैले अहिलेको पटक पनि उसलाई हुँदैन भन्न सकिन । काठमाडौं जाने दिनमा उस्की आमा छोरासँगको विछोड सम्झेर आँसुका ढीका खसालेर रोई तर मनमा नमजा लागेपनि त्यसरी आँसु नै खसाल्न चाँही मैले आवश्यक ठानीन ।

उ प्लस टु पास भयो । यतिवेलासम्म उस्लाई काठमाडौंको हावाले पनि अलिअलि छोईसकेको जस्तो लाग्थ्यो । तर अहिलेको जमानाको छोरो, असल खराव आँफै छुट्याउन सकिहाल्छ नि भनेर उस्को खर्च र अन्य चाहनाको नियन्त्रणमा मैले पनि धेरै दबाव दिन सकिन । अव त उ व्याचलर पढ्न अमेरीका जान्छु भन्न थाल्यो । उसका दिदीहरु दुबैले यहीँ पढेर पनि राम्रै प्रगती गरेका थिए र राम्रो जागीर पनि खाएका थिए । अव त दुवैजना घरवारे पनि भैसकेका थिए । त्यस अवस्थामा पनि मैले उसलाई तँं भएको यौटा छोरो पनि किन हामीलाई छोडेर विदेश भासीन्छस् भन्न सकिन । उ अमेरीका गयो । त्यसपछी भने उ वेखवर जस्तै छ ।

उता उ वेखवर जस्तै छ यता उस्की आमा छोराको सम्झनामा जिउँदो लाशजस्तै छ । पहिला पहिला मन लागे कहिलेकाँही फोन गरिदिन्थ्यो तर अहिले त त्यो पनि वन्द भएको छ । हामीले फोन गर्यौं भने पनि झिंझो मान्छ । अव त उसलाई झिंझो लाग्ला भनेर नै हामी पनि त्यती फोन गर्दैनौं । उसैलाई पढाउँदा र अमेरीका पठाउँछु भन्दा लागेको ऋण अझै तिरीसकेको छैन । पुख्र्यौली सम्पत्ति पनि खासै केही थिएन । अनि धेरै सन्तानको पालनपोषण गर्दा त्यस्तो कमाउन पनि त सकिएन । घरमा कहिलेकाँही अप्ठेरो पर्दा विहे भएर गईसकेका छोरीहरु आएर सघाउँथे । छोराको व्यवहार सम्झेर आँसु वगाईरहेकी आफ्नी आमाका आँसु पुछिदिन्थे । अँफूहरु हुँदाहूँदै छोराको चाहना राख्ने आफ्नी आमाप्रति कुनै वैरभाव राख्दैनथे । वरु भाईलाई सम्झेर आमासँगै रुन्थे ।

सानै छँदा शिवजि को छोरा कस्तो मेहनती छ, कस्तो सुवासीलो छ अनि कति सोमत मिलाएर कुरा गर्छ भनेर भन्थे सबै । हामीले सम्हाल्न खोज्दाखोज्दै कति चाँडै उ वेसोमतिलो भैसकेको रहेछ । फेरी पनि मेरो उ सँग कुनै गुनासो छैन । नाथे मेरो छोरो न हो, मैले मनकामना भाकेर जन्माएको । मैले नभाकेको भए शायद उ जन्मने थिएन । उ नजन्मेको भए मैले उ सँगको वियोगमा यसरी तड्पीनुपर्ने थिएन । उसले मेरो मन कुँडाउने थिएन । दोष मेरै हो ।

हुन त नेपाल पनि अव कहाँ नेपाल जस्तो छ र ? यहाँको पनि शहरमात्रै होइन, अव त गाउँ समेत अमेरीका जस्तै भईसक्यो । विकासमा होईन, व्यक्तिवादीतामा । नत्र मैले उसको लागि के गरिन र ? दोष अमेरीकाको पनि हैन । अरुका छोराछोरी पनि त अमेरीका गएका छन् तर तिनीहरु मेरा छोरा जस्ता गैर जिम्मेवार कहाँ छन् र ?

सानैदेखी उ हाम्रा सुख र दुखहरुप्रति विल्कुलै वेवास्तापुर्वक हुर्किरहेको थियो । तैपनि मैले कहिल्यै उस्का अगाडी आफ्नो ईच्छा लाद्न त परै जाओस् उसका अगाडी आफ्नो पीर र आँसु पनि देखाउन सकिन । उस्को चित्त दुख्ला भनेर नै मैले जीवनभर कहिल्यै उसलाई हुन्न भन्न सकिन । सधैंभरी मैले मात्र उस्को चित्तको परवाह गरें तर मेरो चित्तको प्रवाह उसले कहिल्यै गरेन ।

एकदीन मैले सर्च गरेर उस्को फेस्वुक एकाउण्ट चेक गरें । उस्ले त उतैकी खैरेनीसँग विहे गरेर एउटा नाती पनि जन्माईसकेको रहेछ । कमसेकम मलाई एकपटक खवर त गर्नुपथ्र्यो । मेरो सारै चित्त दुख्यो । मैले उस्लाई फोन गरेर के चाला हो तेरो भनेर कराएँ । रक्सीले मातेको वेला भएर हो वा नियतवश, उस्ले मलाई हाकाहाकी भन्यो, “कति किचकिच गरेको ? मलाई मेरो लाईफ वाँच्न देउ, अव त अती भयो । मलाई हप्काउने अधिकार कस्ले दियो तिमीलाई । ल भैगो, सम्झ कि आजदेखी तिमी मेरो वाउ नै होईनौ”

मलाई झनन्न करेन्ट लागेजस्तो भयो । अचानक प्रेशर लो भएर म उभीन पनि सकिन र भित्तामा अडेस लगाएँ । तर उस्ले विनाकारण त्यसो भन्दा पनि मैले उसलाई “त्यसोभए तँ पनि आजदेखी मेरो छोरा होईनस्” भन्न सकिन ।

वल्ल मेरो होश खुलेको छ । अहिले अमेरीकामा जो छ त्यो मेरो छोरो होईन । म भन्दिन कि अमेरीकाले मेरो छोरो खाईदियो । मेरो छोराले आँफैले आँफैलाई खायो । मेरो छोरो त त्यस्तो थिएन । नाती पनि त त्यस्तै होला । मैले नेपालमा हुर्काएको छोरो त यस्तो छ, उस्ले अमेरीकामा हुर्काएको नाती झन् कस्तो होला ? तैपनि कहिलेकाँही लाग्छ कि एकपटक यहाँ आईदिए एकपटक उनीहरुको मुख हेर्न हुन्थ्यो । म त यहाँ अव पहाडजस्तै भईसकेको छु । आफ्नै खोंचहरुवाट पैदा भएर आफ्नै भित्ताहरुलाई भत्काउँदै हिँड्ने नदीलाई पनि पहाडले के गर्न सक्छ र ? वरु सधैं टुलुटुलु हेरिरहन्छ निरीह भएर एकनाशले आफ्नो शरीर सँगै आफ्ना भावना र रहरहरुलाई पनि वगाएर पराई देशमा पुर्याएको । तिनै नाँगा र उजाड डाँडाहरुवाट पैरो खसाल्दै भत्कीरहेको पहाडजस्तै भत्कींदैछु म चुपचाप । अव त वश यही एउटा कुराको मात्र पछुतो छ कि दुईवटा छोरी हुँदाहँदै छोराको चाहना गर्दा किन मैले उतिवेलै दृढ भएर आफ्नी श्रीमतिलाई हुन्न भन्न सकिन ? किन ?

सबैका छोराहरु मेरै जस्तै कपुत हुन्छन् भन्ने होईन र सबैका छोरीहरु मेरैजस्तै असल हुन्छन् भन्ने पनि होईन । तैपनी छोरीहरुभन्दा छोराहरुलाई नै प्राथमिकता दिने मनोरोगको किन मैले त्यतिबेलै उपचार गर्न सकिन ? मेरा छोरीहरुको मनोविज्ञानमा हामी दम्पतीको छोरा प्रतिको प्रेमले पटकपटक कति चोट पुर्यायो होला ? उनीहरुको चित्त कति हजार पटक दुख्यो होला ? तैपनि आज हाम्रो सुखदुखमा साथ दिने उनीहरुले आफ्नो जीवनभरमा आजसम्म मलाई एकपटक पनि यसो भनेर गुनासो गरेका छैनन् कि खासमा तपाईंहरुलाई छोरा नै किन चाहीएको थियो ड्याडी ? वश् आज त यस्तो लाग्छ कि कमसेकम उनीहरुले मलाई एकपटक यस्तो प्रश्न गरिदिए हुन्थ्यो ता कि म आफ्ना आँखा भरी टिलपिल आँसु भरेर भन्न सकुँ र केही मात्रामा भएपनि प्रायश्चीत गर्न सकुँ कि, ए मेरा महान् छोरीहरु, एकपटक मेरो आँखामा हेर अनि मलाई माफ गर, म वाट त्यतिवेला ठूलो गल्ती भएछ ।

समय वदलियो अनि यसविचमा धेरैथोक वदलिए तर यो मामीलामा हामी अझै वदलिन सकेका छैनौं । किन होला, अझैपनि हामीमध्ये धेरैलाई छोरा नै चाहीन्छ ।

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.