~धिरेन थापा “अनुपम”~
संकटकाल लगाएर मराएको नभूल्नु है
घरजग्गा खाली गरी पठाएको नभुल्नु है
नोकरी खाएकै भरमा चन्दा आतंक छाउने गर्थ्यो
आफ्नै लालाबालाको गास कटाएको नभुल्नु है
रातैभरी कठघरामा विचारलाई निस्तेज गर्न
तानाशाही शासनले ठटाएको नभुल्नु है
फरक विचार भएकै कारण सिआइडि सुराकी भदै
छानी छानी छ इन्च नाप्दै घटाएको नभुल्नु है
आजफेरि शासकले शासनसत्ता टिकाईराख्न
दाजुभाईलाई आपसमा फटाएको नभुल्नु है
अति गरे खती हुन्छ, होस गर तिमी पनि
जनताले राजतन्त्र नै हटाएको नभुल्नु है
गुटु ४, सुर्खेत
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३१- २०६७ आषाढ ९ गते, बुधबार )