एकदिन मलाई
मेरो बाउले थेबाले भन्नुभएको खेदा
सुनाउनु भयो-
यो मानव बस्तीमा
यो हाङ् बस्तीमा
मानवको रुप धारण गरेर
भूतप्रेत सेसन्तर र मसानहरु पसेछन्
र त्यसबेलादेखि अशुभ साइत परेर
मेरो पुर्खाको यकको बिरासतमाथि नाहेन् लागेछ
र यकका मालिक हाङहरु
राज्यबिहीन भएछन्
र हाङ्का सन्तानहरु आफ्नै राज्यमा
रैती भएछन्
रैती भएका हाङ्का सन्तानहरु अहिले
– राज्यबिहीन भएकाछन्
– भाषाबिहीन भएकाछन्
– संस्कृतिबिहीन् भएकाछन्
– धर्मबिहीन भएकाछन्
– र पहिचानबिहीन भएकाछन्
सेसन्तर र मसानहरुले रातभरि कालो षडयन्त्र गरेर
दिउँसै उनीहरुको सातॊ टिपिदिएपिछ
उनीहरु जिउँदो हुँदाहुँदै पनि
अहिले अर्धचेतन भएकाछन्
तर यति सजिलै त
हाङ्का सन्तानहरुलाई
नाहेन् नलाग्नु पर्ने हो
राज्यबिहीन नहुनु पर्ने हो
भाषाबिहीन नहुनु पर्ने हो
पहिचानबिहीन नहुनु पर्ने हो
र सातो नजानु पर्ने हो
तर कसरी सातो गएछ भनेर
फेदाङ्बा येबा र साम्बाहरुले
याग्राङ्स्ङि गाडेर तिनराते तङ्सिङ्मा
जोखाना फलाक्दै सातो डाक्दै थिए
मेरो यकको चार किल्लाको सिमाना बाँधेर
यासाथाल् ठटाउँदै मुन्धुम् फलाक्दा
फेदाङ्माले भन्दै थियो-
मान्छेको रुप धारण गरेका
भूतप्रेत सेसन्तर र मसानहरु
अहिले मेरो यकको सिमानापारि मसानघाटमा
मोर्चा बाँधेर
अर्को कालो षडयन्त्रको जालो बुन्दैछन् अरे
र षडयन्त्रको जालो बुन्ने
भूतप्रेत सेसन्तर र मसानहरु
अरु कोही नभई
जबरजस्ती मलाई दशैं मान्न लगाउने
मेरै पुर्खाको नलिहाडको शङ्ख बजाउँदै
रातरातभर मेरॊ पुर्खाको राज्यमा
सुराकी गर्दै हिँड्ने
पर चार भाज्याङ् खाल्डोपारितिरका अरे
पर चार भाज्याङ् खाल्डोपारितिरका अरे ।
तेह्रथुम् फेदाप्
लिम्बुवान प्रदेश
(स्रोत : पालाम मासिक वर्ष ५, अङ्क १, पूर्णाङ्क १८, असार २०६७ -२०१०)