हुस्सुले डम्म ढाकेको छ
तिमी गएको बिहान
म देख्दिन
डाँडामा बटारिदै गएको झिनो बाटो
जहाँ तिम्रो गाडी गुड्दै सानो हुँदैछ
यो हुस्सु आँखाभरि अल्झेर
म झन् निसास्सिएको छु ।
ढोका पनि खुल्लै छ
सडकमा हिडेका मानिस वा हावाका झोक्काहरुले
मेरो एकान्त लिएर गैदिएहन्थ्यो ।
तिमी गएको दिउँसो
अल्छिलाग्दो घामले लोलाउन सकेनन् मेरा आँखा
केही कोल्टे अकर्मण्यता पल्टिरहेँ दिनभर
पर्तिर पुग्नेआशामा शिशामा हिडिरहेको किरा हेरिरहेँ
आफ्नै शरिरबाट एकछिन
उम्कन मन लागेको थियो ।
तिमी गएको साँझ
त्यो सँधैको रातो घाम देखिदैन कतै
म सहानुभूतीका पहेला किरण पर्खिबसें
पश्चिमी आकाश हेरेर
आज एकैचोटी दिन भत्किएर रात पसारियो
यही धुँधलो आकाश मुनि
कतै छौ तिमी ।
तिमी गएको रात
सिरकभन्दा बाक्लो एक्लोपन ओढिरहेछु
थाकेर निदाउने प्रयास गरिरहेछु
प्रयास गर्दा गर्दै थाकिरहेछु
ठूलो बिछयौनामा एक्लै छु र अनुभव गर्छु
हिमालको कोप्चामा हराएको
एक्लो बिरामी आरोही जस्तै वा
घना जंगलमा छोडिएको
एक्लो कमाण्डो सैनिक जस्तै
तर शिखर छैन म सँग मिसन छैन म सँग
सिरकभन्दा बाक्लो एक्लोपन छ
तिमी निदाउँदाको श्वासको आवाज छैन
तिम्रो ममाथि उछिट्टिएर आएको हात छैन
र मलाई थाह छ
तिमी भोलि पनि आउँदैनौ ।
म सास बाहिर फाल्दा
न्यानोपन गुमाएर चिसो भएझै
एक्लो पाइरहेछु आफूलाई
म सास भित्र तान्दा
रित्तो कोठामा बतासले पर्दा हल्लाए झै
अझ एक्लो पाइरहेछु आफूलाई
तिमी गएको दिन …
शायद मृत्यु पनि यति कठोर छैन ।
(स्रोत : Satakosahitya)