~रोशन भुयंजु~
मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर थिए, जवान थिए, जब मालिकले मलाई पहिरिएर अफिस निस्कन्थे मालिकिनी हुरुक्कै हुन्थिन मालिकलाई देखेर । भन्थीन, ‘मेरो राजा आज यो कोटमा कति हेन्ड्सम देखिनु भाको ।’
तर हेन्ड्सम मालिक होईन म थिए । यो कुरो मालिकनीले के बुझ्थिन ।मालिकले एका दुई बुझे होलान् तर चुपचाप लागेर तारिफमात्रै सुन्थे । अफिस पुगे पछी जतन गरेर मलाई कुर्सीमा राख्थे ।
भर्खर् विवाह गरेका थिए त्यसैले भट्टीतिर नलम्कीकन मालिक सिधै घरतिर दौडन्थे । घर पुग्ने बित्तिकै मालिक्नी स्वयम् आइपुग्थिन मलाई खोल्दिन, मालिकको जिउबाट खोलेर जतनसाथ दराजमा झुन्ड्याउथिन । पित्तलको ह्याङरमा म शानले झुन्डी सकेपछी मालिकनीले धुलो लागेको पो छ की भनेर हातले बिस्तारै सुम्सुम्याउथिन र त्यसपछी अत्तर छर्केर दराज बन्द गर्थिन । दराजभित्रका अन्य लुगाहरू डाहाले त्यसै त्यसै हुरुक्कै हुन्थे, म भने गमक्क बनेर बस्थे ।
समय बित्दै गयो । मालिक मालिकनीको विवाह पनि पुरानो हुँदै गयो म पनि बिस्तारै मैलो हुँदै जान थाले । मैले उ बेलाको जस्त्तो स्याहारसुसार पाउन छाडेँ । दराजभित्र बस्ने के कुरा भित्ताको किलामा समेत मैले बास पाउन छोडे । अत्तरको सुगन्ध त कता हो कता अजाभोली म चुरोट र रक्सी गन्ह्याउन थाले । मालिक जता मन लाग्यो त्यतै ढेस्सा लागिदिन्छ । अफिस पुगेर नी मलाई खोल्दैन उल्टै क्यान्टिनमा खाजा खान गएको बेला दुई चार थोपा चिया मैतिर पोखाइ दिन्छ । खाजा खाइ सकेपछी मेरै लबेदाले मुख पुछपाछ पार्छ र चिसै हात सुटुक्क मेरो खल्तीमा हालेर मेरो भित्रीमा मोलमाल पार्छ । मालिकिनीले पहिला जस्तो मायालु नजरले न मलाई हेर्छिन न त मालिकलाई नै ।
अफिस जादा उ उदास भएर जान्छ र घर फर्किदा झोक्रिएर आउछ । मालिकनीको साटो आजभोलि उनका दुइटा छोराहरू आउछन् मलाई सुम्सुम्याउनु । बाबा चकेट- सानो चैँ भन्छ । ठुलो चैँ केही बोल्दैन तर एकैचोटी म भित्र हात हाल्छ । मेरो मालिकले मलाई फुकालेर तिनै छोराहरूको जिम्मा लगाइदिन्छ । मलाइ तिनीहरूले तानातान गर्छन्, चक्लेट एउटा पनि भेटिदैन, ठुलो चैँ ले मलाई भुइमा फाल्छ सानो चैँ मै माथी आएर लडिबडी गर्थै रुन थाल्छ ।
सबै भन्दा बढी लाज मलाई मालिक अफिस जादा लाग्छ । मेरो मालिक अफिस जादा सधैं माइक्रो बस चढेर जान्छ । सधैं जसो नै अफिस जादा मेरो झगडा पर्छ माइक्रोमा अर्को कोट सँग ।
सातदोबाटोको माइक्रो दिनहु बिहानमा खचाखच । खलासीले मेरो मालिकलाई भित्र बाट भित्र त्यसबाट नी अझै भित्र जानु भन्दै कताकता पुर्याइदिन्छ । मेरो मालिक सोझो । उ पनि भित्र भित्र जादाजादै अरुको कुममा, खुट्टामा, ढाडमा अढेस लाग्न पुग्छ ।
अफिस टाइम, कलेज हिडेका ठिटाठिटी, अफिस हिडेका कर्मचारी, डेटिङमा हिंडेको स्मार्ट प्रेमी, पार्टीमा हिंडेको निम्तालु सबैका जिउमा सुकिला कोट सजिएका हुन्छन् । सधैं दिन ती सुकिला कोटहरूले मलाई गिज्ज्याउछन ।
एक दिन अच्चम भो, माइक्रो ड्राइभरलाई के झोंक चल्यो कुन्नी उसले सिटमा आटाउने मात्रै मान्छे बोकेर हुइक्यो । खलासी पुलचोक, कुपोन्डोल, सहिदगेट, रत्नपार्क रत्नपार्क भन्दै भए जति अवाजमा कुर्ल्दै थियो । माइक्रो हुइक्यो । कति पछि मेरो मालिकले आज बस्ने सिट पायो । उ आरामले बसी रैछ । कुमारीपाटी जावलाखेल हुँदै माइक्रो पुलचोकतिर मोडियो ।
‘मलाइ नछुई पर बस् भनेर भन तेरो मालिकलाई’ – संगै बसेको मान्छेको कोट जंगियो । मेरो लबेदाले उसको लबेदा छुन लागेछ । उसको मालिक ठाटबाठ स्मार्ट देखिन्छ । मेरोचाही लोशे, झुत्रे । लौ हेर न कति दिन पछि आज बस्ने सिट पाको, ढुसुढुसु उङ्दै छ । म आफूलाई हेर्छु अनि त्यसलाई हेर्छु । त्यस्को फुर्ती हेर्छु । मलाई मेरो सुरुवाती दिनहरूको सम्झना आउछ । म पनि त्यस्तै थिए फुर्तीदार, मेरो मालिक पनि मै जस्तो थियो फुर्तिदार ।
‘तेरो मालिकले तँलाई कहिलै ड्राइ क्लिनिङमा पठाउदैन नुहाइदिन’ – अगीकै कोटले मलाई सोध्छ ।
‘तँ कस्तो मैलो भाको, गन्ध पनि उस्तै नमिठो आउछ’ – उ फेरि बोल्छ । म चुप लागेर आफूतिर हेरी बस्छु । मेरा बाहुलाहरूमा बिछट्टै मैलो देखिन्छन । गोजीको वरिपरी त झनै हेर्नै नहुने भाछ । मालिकले हातको पसिना पुछ्न मेरै खल्तीमा हात् हाल्छ । क्यान्टिनमा खाजा खाएर चिसो हात मै भित्र घुसार्छ । खाएर बाँकी रहेको चुरोटको ठुटा, रक्सीको पेग, छोराहरूको ललिपप, मालिकनीको समोसा सबै मेरै खल्तीमा आउछन । ठाउँ ठाउँमा म प्वाल परेकोछु, ती सबै मालिकले चुरोट सल्काएर हो ।
म आफूलाई नै हेरिरहदा, ‘कहाँ काम गर्छ तेरो मालिक’ – अगीको कोट फेरि सोध्छ । मलाई त्यसको जवाफ दीइहाल्न मन लाग्दैन तर पनि भन्दिन्छु सरकारी जागिरे हुन भनेर । उ नाक खुम्च्याउछ ।
‘मेरो मालिक प्राइभेट बैंकको म्यानेजर हो । मलाइ हप्तैपिछे ड्राइ क्लिनिङ पठाउछ । घरमा मालिकनी पनि छिन् तिनले पनि मेरो उती नै रेखदेख गर्छिन ।’ उसले एकै सासमा भनि सक्यो सबै कुरा । उ यसरी गमक्क फुलेको देख्दा फेरि नी मलाई पुरानै दिनको याद् आउछ । म त्यो बेला दराजभित्र शानले बस्दाको यादले चिमोठ्छ । कुपन्डोलमा आइपुगे पछि माइक्रो रोकियो । उसको मालिक त्यहिको बैँकमा काम गर्दोरैछ उ त्यहि उत्रिन्छ । उ उत्रिदा उसको मालिकले दिएको जोडको धक्काले मेरो मालिक ब्युझन्छ ।
गणडतन्त्र आ’को देशमा नयाँ सरकार बन्यो । केही समयपछी सबै सरकारी कर्मचारीलाई सुट अनिबार्य लगाउन उर्दी गर्यो सरकारले । मेरो मालिकको खप्पर दरो, सरकारले तोकेको रंगको कोट र म उस्तै उस्तै परेछु । मेरो मालिकले नयाँ कोट किनेन । मैले नै उसको काम चलाइदिए ।
खरदारको जागिर । घरमा स्वास्नी र मसिना छोराहरू । अन्य आयश्रोत शुन्य । काठ्मान्डौको महङ्गी । म मैलो बने भनेर न्यास्रो मान्दिन, ड्राइ क्लिनिङमा मलाई पठाउने उसको क्षमताले भ्याउदैन । जता जादा पनि मेरो मालिकले मलाई साथै लैजान्छ । बिहे गरे पछि उसकी श्रीमती पनि त्यति धेरै संगै छैनहोली जति म उसको साथमा छु । म दिनभर कल्पनमा कावा खान्छु । बेलुका मालिक घर पुग्छ । छोराहरू उसरी नै चक्लेट भन्दै झुत खेल्छन । चक्लेट भेटिदैन आज नी । यो पटक मलिकनीले छोराहरूबाट खोसेर मलाई भित्ताको किलामा सिउरिन्छिन 🙂 🙂
April 22, 2014
(स्रोत : Sahityasansar.com )