सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।
सक्दिन म नाच्नरङ्गीन इतिहास बोकी
बेरङ्गीन पात्र भई
अन्यायको रङ्गमाचमा
सक्दिन म टाँस्न
आफ्नो निधारमा
आफ्नै रगतले मुछिएको चामल
मान्छु म
मेरै उधौली-उभौली
नाच्छु म
मेरै साकेलामा सिली
तिम्रो खुनी छातीमाथि
गाउँदै मुक्तिको मुन्धुम
बजाउँदै चेतनाको ढोल झ्याम्टा ।
लाग्छ किन अनौठो
आफ्नै भाषा
किन लाग्छ
आफ्नै देश परदेश
अब बोल्छु म विद्रोह
चढ्छु म अब
चेतनाको चोमोलुङ्मा ।
सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।
(स्रोत : Sahityasangalo)